शिक्षक–कर्मचारीको बढ्यो तलव


४ आश्विन २०७६, शनिबार
teacher

झापा, ४ असोज । न्यून तलब सुविधामा काम गर्दै आएका सामुदायिक विद्यालयका बाल विकास शिक्षक र कर्मचारीलाई झापाका दुइटा पालिकाले श्रम ऐनअनुसार न्यूनतम पारिश्रमिक दिने निर्णय गरेका छन् ।

मासिक ६ हजार रुपैयाँ मात्रै पाउँदै आएका बाल विकास शिक्षक तथा कर्मचारीलाई बिर्तामोड नगरपालिका र हल्दिबारी गाउँपालिकाले न्यूनतम पारिश्रमिक मासिक साढे १३ हजार रुपैयाँ दिने निर्णय गरेका हुन् । दुवै पालिकाले गत साउन १ देखि लागू हुने गरी उक्त निर्णय गरेका हुन् ।

‘सरकारले श्रम ऐन लागू गरिसकेको छ । ऐनअनुसार न्यूनतम पारिश्रमिक दिन सरकारले सबै उद्योग, प्रतिष्ठानमा दबाब पनि दिइरहेको छ,’ हल्दिबारीका उपाध्यक्ष डम्बर गिरीले भने, ‘हामी पनि एउटा सरकार हौं । श्रम ऐन हामीले पनि त कार्यान्वयन गर्नुपर्छ ।’

हल्दिबारीमा बाल विकास शिक्षक ३४, विद्यालय सहयोगी १९ र कर्मचारी ६ गरी ५९ जनाको तलब वृद्धि गरिएको छ । उनीहरू सबैको न्यूनतम तलब १३ हजार ५ सय रुपैयाँ निर्धारण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए ।

उनीहरूलाई न्यूनतम पारिश्रमिक वितरणका लागि गाउँपालिकाले चालु वर्ष ४२ लाख रुपैयाँ बजेट विनियोजन गरेको घिमिरेले बताए । ‘हामी स्थानीय सरकारले पनि ऐन, कानुन कार्यान्वयन गरेर केन्द्र सरकारलाई सहयोग गर्नुपर्छ,’ गिरीले भने, ‘सबै कुरामा केन्द्र सरकारको मात्र मुख ताक्नु राम्रो हुँदैन ।

गर्न सकेजति काम हामीले पनि गर्नुपर्छ भनेर यो निर्णय गरेका हौं,’ उनले भने । पारिश्रमिक वृद्धिको निर्णयले गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार कार्यक्रममा प्रत्यक्ष सहयोग पुग्ने उनले विश्वास समेत व्यक्त गरे ।

बिर्तामोड नगरपालिकामा बाल विकास शिक्षक ४७ र विद्यालय सहयोगी कर्मचारी २८ गरी ७२ जनाको तलब वृद्धि गरिएको मेयर ध्रुवकुमार सिवाकोटलीले जानकारी दिए । श्रम ऐनअनुसार उनीहरूको न्यूनतम मासिक पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण गरेको शिवाकोटीले बताए । ‘स्कुलमा साना बालबालिकालाई पढाउन सबैभन्दा धेरै मिहिनेत गर्नुपर्छ ।

बढी दुःख गर्नुपर्ने शिक्षकहरूकै तलब थोरै रहेकाले हामीले कम्तीमा श्रम ऐनअनुसार पारिश्रमिक दिने निर्णय गरेका हौं,’ सिवाकोटीले भने । उनीहरूको तलब वृद्धि गर्दा नगरपालिकालाई चालु वर्ष ३३ लाख ३७ हजार रुपैयाँ आर्थिक भार थपिएको प्रशासन शाखा अधिकृत देवराज कार्कीले जानकारी दिए

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७