सेनाको हवल्दारसँग सम्बन्धमा रहेकी महिलाले यसरी गरिन् श्रीमानको हत्या


४ आश्विन २०७६, शनिबार
arrest pv13YQnJnD

नवलपरासी, ४ असोज । नेपाली समाजमा पछिल्लो समय बाहिरी सम्बन्धका कारण धेरैको छाँदाखाँदाको घरबार उजाडिएका घटनाहरु बाहिर आइरहेका छन् ।

पश्चिम नवलपरासीमा एक महिलाले परपुरुषसँगको सम्बन्ध जोगाउन प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरेकी छन् । नेपाली सेनाको हवल्दारसँगको सम्बन्ध जोगाउन उनकै सहयोगमा श्रीमानको हत्या गर्ने महिला–पुरुष दुबैलाई प्रहरीले पक्राउ गरेको छ ।

बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको सेफ्टीट्याङ्कीमा सडेको अवस्थामा शव फेला परेपछि प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा उनकै श्रीमती र अर्को एक पुरुषलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मृतककी श्रीमती ३५ वर्षीया सरस्वती पोखरेल र नेपाली सेनाका हवल्दार बमबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाण्डेको हत्या आरोपमा कालीध्वज गण परासीमा कार्यरत बमबहादुर घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घर्ती र मृतक पाण्डेकी श्रीमतीको मिलेमतोमा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकी सरस्वतीले आफूसहित घर्तीसँग मिलेर श्रीमानको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए ।

हत्यामा सलग्न घर्तीसँग उनको सम्बन्ध रहेको खुल्न आएको र उक्त सम्बन्ध लुकाउन खोज्दा उनले आफ्नै श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक आचार्यले बताए ।

हत्यामा संलग्न रहेका उनीहरु विरुद्ध किटानी जाहेरी दर्ता भएको तथा अदालतबाट पक्राउ आदेश समेत प्राप्त भएकाले उनीहरुविरुद्ध थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । शव भेटिएको स्थान जिल्ला प्रहरी कार्यालयबाट १०० मिटर पश्चिममा पर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७