म कास्की-२ मा उपचुनाव लड्दिनँ : वामदेव गौतम


४ आश्विन २०७६, शनिबार

काठमाडौं, ४ असोज :   सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्याक्ष वामदेव गौतमले कास्की २ बाट चुनाव नलड्ने बताएका छन् । शनिबार बसेको नेकपा सचिवालयको बैठकमा गौतमले उपचुनाव नलड्ने जानकारी गराएका हुन् ।

बैठकमा आफूले चुनाव नलड्ने बताएको बैठकपछि उपाध्याक्ष गौतमले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । गौतमले लेखेका छन्, ‘आज (शनिबार)  बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नु हुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेडसहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।’

कास्कीको निर्वाचन क्षेत्र २ मा विजयी भएका रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उक्त पद रिक्त छ । उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पद सम्हादै गर्दा दुर्घटनामा परेका थिए । कास्कीमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुले गौतमलाई चुनाव लड्न प्रस्ताव राखेका छन् ।

नेता गौतमले कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो भनेको छन् । उनले लेखेका छन्,  ‘यसअघि ९२०७४ मा० प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया-१ मा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको भन्दा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनु पर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो ।’

उनले आफूभन्दा अरु कोही स्थानीय कमरेड उठ्दा सहजै विजय प्राप्त गर्न सक्ने विश्वास गरेका छन् । भनेका छन्, ‘तर मलाई विश्वास छ म भन्दा अरुकोही स्थानीय कमरेड उठनु हुदा सहजै विजय प्राप्त गर्र्न सक्नु हुनेछ। कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७