अभिनेत्री केकी अधिकारीसहितका कलाकार चढेको गाडी दुर्घटना


५ आश्विन २०७६, आईतवार
keki adhikari nepali beautiful cute actress

रौतहट, ५ असोज । अभिनेत्री केकी अधिकारीलगायतका कलाकार चढेको गाडी दुर्घटनामा परेको छ । काठमाडौंबाट सामाजिक गीतको लागि छायाँकन गर्न रौतहट आएको गाडी दुर्घटनामा परेको हो ।

छायाँकनको लागि हिंडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो आज बिहान रौतहटको कटहरिया–१ स्थित बाटोबाट करीब ६ फिट तल खसेको हो । तीब्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्कासी मोड आएपछि बिहान ४ बजे दुर्घटनामा परेको जनाइएको छ ।

गाडीमा रहेका नेपाली फिल्म निर्देशका पुर्नेन्दु झा, नायिका केकी अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी, फिल्म छायाँकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज, चालक सुजन पोखरेललगायतमध्ये केहि सामान्य घाइते छन् । दुर्घटनामा परेको गाडीमा ठूलो क्षति भए पनि छायाँकनका लागि लगिएको क्यामरालगायतका उपकरणहरु सुरक्षित रहेकोे कलाकार यादवले जानकारी गराएका छन् ।

कटहरियामा सामान्य उपचार गराएपछि कलाकारहरु अहिले आराममा छन् । सामाजिक सचेतना जगाउने गीत ‘घुङटामे कबले तु रहबु अधिकार अपन माङ हे बहुरिया’ लगायत ४ वटा बजिक्का भाषाका सचेतना गितको छायाँकनका लागि उनीहरु त्यहाँ पुगेका थिए ।

सो गीतको छायाँकन भोलिदेखि ४ दिनसम्म कटहरिया, मौलापुर, फतुवा बिजयपुरलगायतका नगरक्षेत्रका विभिन्न स्थानमा हुने जनाइएको छ । बालबिवाह, दाइजो प्रथा, छोरीलाई छोरासरह पढाउने जस्ता चेतनका निर्माण गर्न लागिएको सो गीतको निर्माणका लागि प्रदेश २ का नेकपा अध्यक्ष तथा संघीय सांसद प्रभु साहको लगानी रहेको फिल्म निर्देशक पुर्नेन्दु झाले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७