कर्णालीको स्याउले मूल्य पाएन, कृषक मर्कामा


६ आश्विन २०७६, सोमबार
Ripe apple

सुर्खेत, ५ असोज । गत वर्ष जुम्ली कृषकले आफ्नै बगैँचामा प्रतिकिलो ७० रुपैयाँमा मा स्याउ बिक्री गरे । उत्पादन थोरै भए पनि आम्दानी मनग्य नै भयो । यस वर्ष भने प्रतिकिलो स्याउको ३५–५० रुपैयाँ मूल्य पाउन पनि उनीहरुलाई कुस्किल परेको छ ।

यसवर्ष जुम्लामा ६ हजार एकसय बढी मेट्रिक टन स्याउ उत्पादन भएको छ । स्याउ नेपालका प्रमुख शहर सुर्खेत, कोहलपुर, नेपालगन्ज, धनगढी, बुटवल, पोखरा, काठमाडौँ मात्र नभएर सल्यान, जाजरकोट, दैलेख, रुकुम, प्यूठान, दाङ, अर्घाखाँची र गुल्मी जस्ता पहाडी र भित्री मधेशका जिल्लामा पुगेको छ ।

रङ्गीन, स्वादिलो, पोटिलो, आकर्षक र सस्तो भएर होला यसले चाइनिज तथा भारतीय स्याउलाई पनि विस्थापित गरेको छ । स्याउले नेपाली बजार ढाकेर भारतीय स्याउ विस्थापित गरे पनि लगानीअनुसारको मूल्य प्राप्त नगरेको स्याउ किसानको गुनासो छ । चन्दननाथ नगरपालिका–८ उम्खोलाका कृषक धर्मसिंह कठायतले राम्रो मूल्य पाउने आशाले सुर्खेतमा स्याउ पु¥याउँदा पनि घैयाको भाउमा स्याउ बेच्नुपरेको गुनासो गरे ।
‘पोहोर साल घरमा १५ क्वीन्टल स्याउ उत्पादन गरे घरमै प्रतिकिलो ५०–७० रुपैयाँ मूल्य पायौं’, उनले भने, ‘राम्रो मूल्य पाउँदा स्याउ खेतीतर्फ हामी किसान उत्साहित थियौं । ‘रातदिनको मेहनतले होला यस वर्ष एकसय ८ क्वीन्टल स्याउ उत्पादन भयो । प्रतिकिलो एकसय सम्म मूल्य पाउने आशमा सुर्खेत पु¥याउँदा पनि मुस्किलले प्रतिकिलो ५९ मा बेच्नुप¥यो ।

अहिले कर्णाली, रत्न, महेन्द्र राजमार्ग आसपासका सहर तथा बजार स्याउमय बनेका छन् । जहाँतहीँ जुम्ली स्याउले ढाकेको छ । कर्णालीको डोल्पा, मुगु, कालिकोट, हुम्लाका स्याउ पनि दक्षिणका बजारमा निर्यात भएको छ । मूलतः सबै जिल्लामा उत्पादित स्याउ जुम्ली प्राङ्गारिक स्याउका नामले बिक्री वितरण भइरहेको उपभोक्ता बताउँछन् ।

त्यस्तै अर्का स्याउ कृषक पृथ्वीबहादुर बुढाले पनि लगानीअनुसारको मूल्य नपाएको बताए । सरकारले स्याउ कृषक तथा व्यापारीको समस्यामा चासो नराख्दा बिचौलिया मोटाउने गरेको आरोप लगाउँदै कृषक बुढाले भने, ‘ स्थानीय वा प्रदेश सरकारले शीत भण्डारको व्यवस्था नगरेसम्म किसानले यो समस्या बेहोरीराख्नुपर्छ ।’

सुर्खेतका स्याउ व्यापारी प्रकाश तिमिल्सिनाले राज्यको कमजोर नीतिका कारण स्याउ किसानलाई मर्का परेको गुनासो गरे । उनले भने, ‘राज्यले कृषकलाई जतिसक्दो स्याउ उत्पादन गर भन्यो तर त्यसको उचित व्यवस्थापनका लागि बजारीकरण, ‘ग्रेडिङ’का विषयमा कहिल्यै ध्यान दिएन ।’
बजारको सुनिश्चितता नहुँदासम्म किसान तथा स्याउ व्यापारीले दुःख पाउने उहाँले जिकिर गरे ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले यो मौसममा ह्वात्तै स्याउ जाँदा किसानले अपेक्षित मूल्य पाउन नसकेको बताए । ‘बजारमा मागभन्दा आपूर्ति बढी हुँदा स्वभाविकरुपले यस्ता समस्याबाट किसान मर्कामा परेका हुन्’ उनले भने, ‘किसानको यस्तो समस्या समाधान गर्न सरकारले बहुआयामिक शितभण्डार निर्माणको योजना अघि सारेको छ ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७