एक सातादेखि मालपोत कार्यालयको काम ठप्प


६ आश्विन २०७६, सोमबार
mahotarri

बर्दिवास, ६ असोज । महोत्तरी सदरमुकाम जलेश्वरमा अवस्थित भूमिसुधार तथा मालपोत कार्यालयको कामकाज विगत एक सातादेखि ठप्प छ । असोज १ गतेदेखि नै देशैभरीका मालपोत कार्यालयको कामकाज अनलाइनमार्फत गर्ने कार्यक्रम लागु गरेपछि कार्यालयको कामकाज ६ दिनदेखि ठप्प रहेको कार्यालय प्रमुख भूपबहादुर बोगटीले बताए ।

उनका अनुसार सबै काम अनलाइन सिस्टममा गएपछि यहाँबाट हुने मोठ, रोक्का, रजिष्ट्रेशन, नामसारी, मुद्दा, तामेली लगायतका सबै कामकाज कम्प्युटरबाट गर्नुपर्ने भएको छ । कार्यालयमा प्राविधिक जनशक्ति नभएका कारण सबै कामकाज ठप्प भएको हो ।

विभाग र मन्त्रालयले यहाँका कर्मचारीलाई कम्प्युटरसम्बन्धी तालिम दिएर बिस्तारै उक्त प्रणाली लागू गर्नुपर्नेमा एक्कासि सबै काम अनलाइनबाट गर्न आदेश दिएपछि समस्या भएको उनको भनाइ छ ।
मालपोत विभागले एसआरएस. कन्सल्टेन्सी काठमाडौंबाट तालिम दिनका लागि प्रतिनिधि गजेन्द्र ठाकुरलाई पठाएर एकहप्ते तालिम दिइसकेको छ । तर पनि यहाँका कर्मचारीले अनलाइनबाट काम गर्न नसकेको ठाकुरले जानकारी दिए ।

नेपाल लेखापढी कानून व्यवसायी एसोसिएशनका अध्यक्ष श्यामसुन्दर यादवले नयाँ प्रविधिबाट होस् वा पुरानो प्रविधिबाटै होस् कार्यालयले जनताको कामकाज गर्नुपर्ने बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७