चाडबाडमा सुरक्षा व्यवस्था मिलाउन निर्देशन


६ आश्विन २०७६, सोमबार

काठमाडौं, ६ असोज । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले बडा दशैं, दीपावली, नेपाल सम्वत्, छठ लगायत राष्ट्रिय पर्वमा सुरक्षा लगायतको उचित व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको सोमबारको बैठकपछि सभापति शशी श्रेष्ठले नेपालीको महान् पर्वमा उपत्यकाबाट लाखौं मानिस चाड मनाउन बाहिर जाने भएकाले यहाँ हुनसक्ने आपराधिक घटना, चोरी लगायत नियन्त्रण गर्न निर्देशन दिइन् ।

‘भारत लगायत देशमा काम गर्न गएका नेपाली यही पर्वको अवसर पारेर घर फर्कने क्रममा नाका लगायत स्थानमा हुने चोरी डकैती नियन्त्रण गर्न पनि सरकारले ध्यान दिनुपर्छ, कालो बजारी, कृत्रिम अभाव लगायत समस्या समाधान होस्’ उनले भनिन् ।

लामा, छोटा दूरीका सवारीमा सरकारले तोकेभन्दा बढी भाडा लिए कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ । सडकको अवस्थाका बारेमा बेलैमा ध्यान दिई सवारी दुर्घटनालगायत हुनसक्ने घटना नहुने व्यवस्था मिलाउन सरोकार भएका निकायसँग समन्वय गरी काम गर्न पनि समितिले भनेको छ ।

यस्तै भारतमा काम गर्न जाने नेपालीले ल्याउने ५ सय र एक हजारको नोट सटहीको व्यवस्था मिलाउन पनि सरोकारवाला निकायलाई निर्देशन दिइएको सभापति श्रेष्ठले जानकारी दिइन् ।

दसैंमा ढुक्क भएर घर जानुहोस्ः प्रहरी

नेपाल प्रहरीले राजधानी बाहिर जाने यात्रुहरुलाई ढुक्क भएकार दसैं मनाउन घर जान भनेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले विशेषगरी दसैँ, तिहार र छठपर्वमा शान्ति सुरक्षालाई सुदृढ बनाउन विशेष सुरक्षा योजना बनाइएको बताएको छ ।

परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले चाडवाडलाई लक्षित गरेर काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाएको दाबी गरे । सुरक्षा निकायको उच्च समन्वयबाट सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारवाही र शीघ्र सेवा, सहज पहुँचको व्यवस्था मिलाई आम जनसमुदायमा भरपर्दो सुरक्षा वातावरण निर्माण गर्ने परिकल्पना रहेको एसएसपी सुवेदीले बताए ।

उनले व्यक्ति तथा सम्पत्तिको सुरक्षा, आर्थिक कारोवार, बैंक तथा वित्तीय संस्थामा हुने चोरी लुटपाट, टिकटमा हुने ठगी बढ्न सक्ने हुनाले पैदल गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती, मोटर गस्ती सञ्चालन गर्न लागेको जानकारी दिए ।

बैंक तथा वित्तीय क्षेत्र, यातायात सञ्चालन हुने क्षेत्र, व्यापारिक कारोवार हुने क्षेत्र, होटल रेष्टुराँ, नाकालगायतका क्षेत्रमा विशेष गस्ती खटाइएको समेत उनले बताए । कलङ्की, बल्खु, सुन्धारा, पुरानो बसपार्क, नयाँ बसपार्क, गोङ्गबु, गौशाला, चाबहिल, कोटेश्वर र हल्चोक टिकट काउण्टरमा समेत प्रहरी खटाउन लागिएको परिसरले जनाएको छ ।

एम्बुस टीम तैनाथ

प्रहरीले चाडपर्वका समयमा लुटपाट र डकैती गरेर भाग्ने आपराधिक व्यक्ति तथा समूहलाई पक्राउ गर्न ३० ठाउँमा कुकुरसहितको ‘धराप टोली’ (एम्बुस टीम) तैनाथ गरेको छ ।
चोरी÷डकैती तथा लुटपाटका घटनापछि अभियुक्त फरार हुन नदिन डीएसपी र इन्सपेक्टरको कमान्डमा ३० टोलीलाई नाकाबन्दी र सर्च एन्ड अपरेसनमा परिचालन गरिएको छ । एसपी सुवेदीले वित्तीय अपराध नियन्त्रणका लागि सादा पोशाक, गस्ती र कुकुरसहितको एम्बुस टोली तैनाथ गरिएको जानकारी दिए ।
चाडबाडको समयमा लामो समय घर छाडेर जाने उपत्यकाबासीलाई घर छाड्नुअघि प्रहरीलाई जानकारी दिन अनुरोध गरिएको छ । उपत्यकाका तीनैवटा प्रहरी कार्यालयले जनतालाई आफूसँग बहुमूल्य सामग्री भए, त्यसबारे पनि नजिकैको प्रहरी कार्यालयलाई जानकारी दिन अनुरोध गरेको छ ।
ड्युटीको प्रकार
एरिया विभाजन – १४

पैदल गस्ती टोली – ६०

पिकेटिङ स्थान – ६७ अस्थाई पिकेट, ५७ स्थाई

साइकल गस्ती – ३५

मोटरसाइकल गस्ती – ८३

मोबाइल गस्ती टोली – ४६ सीआरभी, मोबाइल ४८

सूचना संकलन टोली (सादा पोसाक) – ७०

सर्च एण्ड अपरेसन – ३०

एम्बुस र निगरानी – ३०

हतियारसहित मोटरसाइकल गस्ती – ५३

नाकाबन्दी – २५ टोली सिप्रअको कमाण्डमा कुनै घटना भएमा तत्काल परिचालन गर्ने ।

काठमाडौँ भित्रिने नाकाहरु कुकुरसहितको चेकजाँच – ७

कार्डन अपरेशन – ३०

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७