‘म’ भनेर सत्यनाश हुने की ‘हामी’ भनेर ‘महाभारत’ जित्ने ?


६ आश्विन २०७६, सोमबार
ghanashyam bhusal 3

अग्रजहरुलाई, पुर्खाहरुलाई यसकारण सम्झिरहन्छौं । कि हाम्रो आन्दोलनका ती ‘ओरिजिनल स्प्रीट’, ती आरम्भीक, मुख्य र आधारभूत संकल्पहरुमा हामी कत्तिको प्रतिबद्ध छौं वा छैनौं भनेर हामी आफैंलाई पनि जाँच्न सकौं । उहाँहरुलाई फूल चढाउने कुरा मात्रै होइन, किनभने पूर्खाहरु पौरखी सन्तानहरुका पौरखमा बाँच्छन् । यसअर्थमा ती संकल्पका अगाडि हामी कहाँ छौं ? भनेर हामीले आफूलाई निरन्तर जाँचिराख्नुपर्छ । यसरी मात्रै हामीले हाम्रा अग्रजहरुलाई, पुर्खाहरुलाई पच्छ्यार्‍इरहन्छौं ।



सहानाको दृष्टिकोणमा दृढता र व्यापकता
यसअर्थमा आज हामी कमरेड सहाना प्रदानलाई श्रद्धाञ्जली दिन उपस्थित भएका छौं भन्नुको अर्थ हाम्रो यो आन्दोलनको, यो मिसनको त्यो ‘ओरिजनल स्प्रीट’मा हामी कहाँ छौं ? भनेर फर्केर हेर्ने पनि हो । व्यक्तिगत रुपमा मैले कमरेड सहाना प्रधानलाई हेर्दाखेरी उहाँका दृढता र व्यापकता हो । दृष्टिकोणमा व्यापकता थियो र दृढता थियो । त्यो चाही अनौठो पाउँथे मैले । उहाँले बोल्दाखेरी जब सार्वजनिक रुपले र ‘प्राइभेट्ली’ रुपले बोल्नुहुन्थ्यो ।

त्यतिखेर उहाँ यो समग्र आन्दोलनको प्रतिनिधिकारी हुनुहुन्थ्यो । त्यसको प्रवक्ताको रुपमा त्यो दृढताका साथ र व्यापकताका साथ खडा हुनुहुन्थ्यो । यसअर्थ आज फेरि पनि सम्झिने त्यो मिसन नै सम्झिने हो । त्यो मिसन के थियो भनेर भनिरहनुपर्ने कुरा रहेन ।

राणशाहीको जडतापूर्ण जर्जर जिन्दगीबाट यो मुलुकलाई एउटा असाध्यै राम्रो, समृद्ध र समृद्धिको कुरा मात्रै होइन, त्यतिखेर समृद्धिको सपना देख्ने अरु पनि थिए । कांग्रेसमा लागेका मान्छेहरु पनि थिए । अरु–अरु विचारमा लागेकाहरु पनि थिए । त्यो समृद्धि मात्रै थिएन । उहाँले त्यो समृद्धिमा सारा जनताको उत्तिकै समानतापूर्ण हिस्सेदारी हुन्छ भन्ने पनि देख्नुभएको थियो । यसअर्थमा त्यो आन्दोलन फरक थियो । त्यो मिसन फरक थियो । यस हिसावले हेर्दाखेरी आज हामीले हामीलाई त्यो मिसनमा राखेर हेर्नुपर्छ भन्ने मलाई लाग्छ ।

हामी कहाँ उभिएका छौं ?
यसरी हेर्दाखेरी यदि मिसनको कुरा हो भने हामी आज वैचारिक हिसावले ठिक छौं कि छैनौं । विचार धारात्मक रुपले ठिक छौं कि छैनौं । विचार धारात्मक रुपले ठिक छौं कि छैनौ ? हामी कहाँ उभिने गरेका छौं ? व्यक्तिहरु कहाँ उभिने गरेका छौं ? हामी कार्यकर्ता, नेताहरु कहाँ उभिने गरेका छौं र समग्रतामा हामी हाम्रो पार्टी यो जमात कहाँ उभिन्छ ? हरबखत त्यो विचारधारात्मक रुपले ठिक छ भन्नुको अर्थ के हो भने, हरबखत त्यो उत्पीडितहरुको पक्षमा, शोषितहरुको पक्षमा उभिने कुरा विचारधाराको कुरा हो ।

हामी हाम्रो समग्र आन्दोलनमा आज जहाँ आइपुगेका छौं । हामीले त्यो ग्यारेन्टी गरेका छौं कि छैनौं ? विचारधारात्मक रुपले यो ठिक ठाउँमा उभिने पल्टन तयार गरेका छौं कि छैनौं ? यो पल्टन मात्रै हाेइन । हामीले जुन ‘ओरिजिनल स्प्रीट’को कुरा गरेका छौं । त्यसलाई एउटा ठूलो जनमतले अनुमोदन पनि गरीसकेको छ। त्यो जनमतले अनुमोदन गरिसकेको त्यो विचारधारात्मक त्यो एजेण्डामा हामी उभिएका छौं कि छैनौं ? आज हामीले हामी आफैंलाई यो प्रश्न सोध्नुपर्छ । हामी सबैले आफैंलाई यो प्रश्न सोध्नुपर्छ । र सबैभन्दा त हाम्रो पार्टीका नेताहरुले, प्रवक्ताहरुले यो कुरा बताउँनुपर्छ र हामीलाई आश्वास्त पार्नुपर्छ । कमरेड प्रचण्ड यहाँ हुनुहुन्छ, झलनाथ खनाल हुनुहुन्छ । तपाईहरुले यो पल्टनलाई आश्वास्त पार्दिनुहोस् । कि विचारधारात्मक रुपले हरबखत यो ठिक ठाउँमा उभिएको छ भन्ने कुराको ग्यारेन्टी गरिदिनुहोस् ।

दोस्रो कुरा सिद्धान्तको हो । सिद्धान्त भनेको अरु केही होइन । यदि यो कसरी आउँछ भन्ने कुरा बताउनुभएन भने तपाईले देखेको सपना मात्रै दुस्वप्न हुन्छ। त्यो दिवासपना हुन्छ । सिद्धान्तले त्यो सपनालाई खुट्टाले टेकाउँछ । आज हामीले आज जुन कमरेड सहाना प्रधानहरु, जो हाम्रो प्रारम्भीक सुरुका यात्रीहरु हुनुहुन्छ, हाम्रो मिसनका । उहाँहरुले देखेको सपनालाई खुट्टाले टेकाएका छौं कि छैनौं ? अथवा यो पल्टन सैद्धान्तिक रुपले प्रस्ट छ कि छैन ? यसरी आउँछ समृद्धि र समाजवाद यसरी आउँछ भन्ने कुरामा यो पल्टन तयार छ कि छैन । यो पल्टनले बुझेको छ कि छैन । आफैं सचेत छ कि छैन । यो कुराको कमरेडहरुले ग्यारेन्टी गर्नुपर्छ र उभिएको छ भन्ने कुरा बताइदिनुपर्छ भन्ने मलाई लाग्छ ।

तेस्रो कुरा संगठन नै हो । संगठन भनेको पनि अरु केही होइन । संगठन भनेको पनि हाम्रो हिन्दु परम्पराजस्तो जातजातिहरुमा बाँडिएर र विभाजित हो ? अथवा अरु केही हो । यहाँ तल्लो जात छैन, कोही माथिल्लो जात छैन । यसका तहहरु छन् । त्यो जिम्मेवारीको मात्रै कुरा हो । तर, एउटा आन्दोलनका सिपाइका रुपमा, आन्दोलनका यात्रीका रुपमा हामी सबै बराबर छौं भन्ने कुरा ग्यारेन्टी गरेका छौं कि छैनौं ? यदि ग्यारेन्टी गरेका छैनौं भने यो मिसनमा प्रश्न उठ्छ ।

योगी नरहरीनाथले भन्नुभएको भनेर मैले अस्ति सुन्याथेँ । महाभारतमा पाण्डहरुले किन जिते र कौरवहरुले किन हारे ? त्यो युद्धमा हामी भन्नेहरु ५ जना थिए । म भन्नेहरु एकसय जना थिए । म भन्नेहरुको सत्यानास भयो र हामी भन्नेहरुको विजयी भए । यो पार्टीलाई त्यस हिसावले यो भन्दिने हामी समान छौं भन्ने कुरा औपचारिक कुरा हो । वास्तविक रुपले म समान छु । म कमरेड प्रचण्डजत्तिकै यो ‘मुभमेन्ट’को अधिकारी हुँ । म मनसा, वाचा र प्रमाणानान्त कमरेड ओलीजतिकै छु । यहाँ मेरो मूल्य, मेरो मानविय मूल्य, मेरो कम्युनिष्ट मूल्य, मेरो वैयक्तिक जिवनको मूल्य कमरेड ओलीभन्दा कम छैन भन्ने कुरा यो पल्टनले साँच्चै गरेर विश्वास गर्नसके क्रान्ति त्यसले गर्छ ।

अरु आवरणका कुराहरु हुन् । आभूषणका कुरा हुन् । हामीले फूली लगाउँला, बुलाकी लगाउँला, लिपिस्टीक लगाउँला यी सबै कुरा गरौंला । तर आत्मा छ कि छैन, प्राण छकि छैन । प्राण भएकै चिजमा फूली लिपिस्टीक लगाइदियौं भने ठिकै कुरा हो । तर प्राण मर्दै गरेको, लिपिस्टीक थपिँदै गरेको कुरा हो भने त्यो सोच्नुपर्छ ।

सपनाका हिसावले भन्ने हो भने, त्यो जडताबाट बाहिर निस्कनका लागि हाम्रा प्रथम यात्रीहरु, हाम्रा पुर्खाहरु कमरेड सहाना प्रधानलगायत उहाँहरुले जुन मिसन बनाउँनुभयो । यो मिसन हिजो के का विरुद्ध थियो भन्दा राज्यलाई दोहन गर्ने राणाशाहीको विरुद्धमा थियो । राणाशाही यस्तो साइजको हो यो मेसिनरीमा पस्नेहरुले राज्य लुट्न पाउँथे । पछि राजाहरुले डाइरेक्ट्ली आफैं लुट्न थाले ।
सैद्धान्तिक रुपले हामीले भनेका छौं आजको समाज दलाल पुँजिवादी हो भने आजको राज्य मेसिनरीले भने, यसको चरित्र पनि दोहनकारी छ । शोषणकारी छ । यसबाट निकाल्नका लागि त्यो वैचारिक प्लेनमा, त्यो सैद्धान्तिक प्लेनमा र त्यो सांगठनिक प्लेनमा हामी छौं भन्ने कुराको ग्यारेन्टी गरौं कमरेड ! विश्व दुनियाँ हाम्रा वरिपरी जे परिवर्तन हुँदैछ हामी सँगसँगै जान्छौं ।

नत्रभने, हामी वरीपरी नाच्दै गरेको आर्थिक विकासको बाढीले हामी पुरिनेछौं हाम्रो सत्यानास हुनेछ । हामीसँग असाध्यै ठूलो पोटेन्सियल छ, शक्ति छ, सामथ्र्य छ । यसलाई संगठित गर्न हामी सबै लागौं । खासगरी कम्रेडहरुले यसमा ध्यान दिनुहुनेछ । र हामी हाम्रा अग्रज कमरेड सहाना प्रधानप्रति साँचो श्रदाञ्जली अर्पण गर्नेछौं ।

(६ भदौ २०७६ मा सहाना प्रधान प्रतिष्ठानले गरेको पाँचौ सहाना प्रधान स्मृति सभामा नेता भुसालले व्यक्त गरेको विचारको सम्पादित अंश)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७