निर्मला प्रकरणको अनुसन्धानका लागि गृहमन्त्रीकै पहलमा बन्यो गोप्य टोली


७ आश्विन २०७६, मंगलवार
nirmala 2

काठमाडौं, ७ असोज । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको वर्ष दिन नाघिसकेको छ ।

निर्मलाको हत्यारा पत्ता लगाउनका लागि सरकारले सुरक्षाकर्मी परिचालन, समिति गठनदेखि विभिन्न व्यक्तिहरुसँग सोधपुछ र अनुसन्धान गरिसकेको छ । घटनामा तानिएका कतिपयको जागिर गयो तर, निर्मलाका हत्यारा अझै पत्ता लागेका छैनन् ।

सुरक्षा निकाय र सरकार समेतलाई बारम्बार अप्ठ्यारोमा पार्दै आएको निर्मला हत्या प्रकरण दिनहुँजसो संसदमा बल्झिरहने गरेको छ । विपक्षी दलका नेताहरुले निर्मला प्रकरणको कुरा उठाउँदै सुरक्षा निकायको असक्षमता र सरकारको कमजोरी भन्दै आलोचना गर्ने गरेका छन् ।

निर्मला हत्या प्रकरणका कारण गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेत पटक–पटक अप्ठ्यारोमा पर्ने गरेका छन् । सांसदहरुको विभिन्न प्रश्नलाई गृहमन्त्री बादलले झेल्दै आएका छन् । तर, यस बीचमा निर्मलाका हत्यारा पत्ता लगाउने कुरामा सुरक्षा निकाय र सरकार सफल हुन सकिरहेको छैन ।

लामो समय मौन जस्तै बसेको गृह मन्त्रालय निर्मला हत्या प्रकरणलाई लिएर फेरि एक पटक जागेको छ । अहिले गृहमन्त्री रामबहादुर थापा बादकलकै सक्रियता र पहलमा गोप्य रुपमा निर्मला प्रकरणको अनुसन्धानका लागि प्राविधिक टोली गठन भएको छ । सरकारले यसअघि फरेन्सिक विज्ञ जीवन रिजाल समेतको अनुसन्धान टोली गठन गरेको थियो । टोलीले प्रहरीको नमूना संकलनदेखि जाँचसम्म त्रुटी भएको प्रतिवेदनमा उल्लेख गरेको थियो ।

गृहले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका फरेन्सिक विज्ञ जीवन रिजालको नेतृत्वमा केही दिनअघि फेरि ‘गोप्य’ रुपमा अनुसन्धान टोली गठन गरेको हो । निर्मलाको भेजाइनल स्वाब र डीएनए परीक्षणमा प्रहरीको विधि विज्ञान प्रयोगशालाको प्रतिवेदनमा रिजालकै अनुसन्धान टोलीले यसअघि प्रश्न उठाएको थियो ।

निर्मला प्रकरणमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको भूमिका सन्देहपूर्ण रहेको गृहको निष्कर्षपछि विशेष टोली गठन भएको उच्च स्रोतको दाबी छ । ‘एउटा प्राविधिक टोली बनेको हो,’ गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदी भन्छन्, ‘टोलीको कार्यदेश र टोली सदस्यको नाम महत्वपूर्ण होइन, उहाँहरुले काम गरिरहनु भएको छ ।’

उनले टोलीका सदस्य र कार्यदेशका विषयमा जानकारी दिन अस्वीकार गरेका छन् । प्रवक्ता सुवेदीले भने, ‘निर्मलाको बलात्कार र हत्या प्रकरणमा प्राविधिक पक्षको अनुसन्धानका लागि टोली बनेर काम शुरु भएको छ ।’

राष्ट्रिय मानवअधिकार आयोगले फरेन्सिक विज्ञ रिजाल समेत रहेको प्राविधिक टोली यसअघि गठन गरिसकेको छ । टोलीले दिएको प्रतिवेदनबिरुद्ध प्रहरीको विधि विज्ञान प्रयोगशालाले प्रतिवेदन सार्वजनिक गरेको थियो । गृह मन्त्रालय लामो समय यस विषयमा मौन बसे पनि अहिले आएर प्राविधिक टोली गठन गरेको हो । रिजाल समेतको टोलीले प्रहरीको नमूना संकलनदेखि जाँचसम्म त्रुटी भएको प्रतिवेदनमा औंल्याएको थियो ।

गृह र प्रहरीले घटनापछि एक जना सहसचिव, एक एआईजी, दुई डीआईजी, तीन एसएसपी, दुई एसपी र तीन डीएसपीलाई घटनाको अनुसन्धानका लागि जिम्मेवारी दिए पनि घटनाको निष्कर्ष बाहिर आउन सकेको छैन । अनुसन्धान निष्कषएमा पुग्न नसक्दा आरोपी र शंकास्पदले क्लिन चिट पाएका छन् ।

कञ्चनपुर उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १४ महिनापछि गृह मन्त्रालयले पहिलो पटक प्राविधिक टोली बनाएको हो ।

प्रहरीले तत्कालीन डीआईजी (हाल एआईजी) धिरु बस्न्यात, एसएसपी उत्तम सुवेदी (प्रहरी महानिरीक्षकको सचिवालय), एसएसपी ठाकुर ज्ञवाली (केन्द्रीय अनुसन्धान ब्युरो) एसएसपी विक्रम चन्द (प्रदेश ७ प्रहरी) डीएसपी कृष्णराज ओझा (कञ्चनपुर प्रहरी), एसपी दुर्गा सिंह (प्रहरी प्रधान कार्यालय) डीएसपी रमेश थापा (प्रहरी महानिरीक्षकको सचिवालय) र डीएसपी अंगुर जिसी (केन्द्रीय अनुसन्धान ब्युरो) बाट खटिएका थिए ।

प्रहरीको अनुसन्धानले निर्मलाको बलात्कार र हत्या २०७५ को साउन १० गते २ बजेर ३० मिनेटदेखि ३ बजेभित्र भएको देखाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७