निर्मला पन्त बलात्कार–हत्या प्रकरणः डीएनए जाँचको त्रुटि पहिल्याउन विज्ञ समिति


८ आश्विन २०७६, बुधबार
nirmala ra nirvaya 2692018050223 1000x0 07102018043053 1000x0 1432019120035 1000x01 2732019123726

काठमाडौं, ८ असोज । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको १४ महिनापछि प्रहरी प्रधान कार्यालयले आफ्नै विधि विज्ञान प्रयोगशालामा भएको डीएनए परीक्षणबारे उठेका शंका जाँच गर्न विज्ञ सम्मिलित टोली गठन गरेको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक डा. जीवन रिजालको संयोजकत्वमा गठित टोली पाँच सदस्यीय छ । टोलीमा त्रिवि शिक्षण अस्पतालका एक विज्ञ चिकित्सक पनि छन् ।

गत वर्ष साउन १० मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको ठहर गर्दै सुरु भएको भनिएको अनुसन्धान अझै निष्कर्षमा पुगेको छैन । निर्मलाको भेजाइनल स्वाबबाट (योनिभित्र हुने र्‍यालजस्तो तत्त्व) संकलित नमुनाबाट नै प्रहरीको विधि विज्ञान प्रयोगशालामा डीएनए नमुना निकालिएको थियो ।

निर्मला बलात्कार र हत्या प्रकरणबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको अनुसन्धानले डीएनए नमुना निकाल्ने क्रममा त्रुटि भएको हुन सक्ने र निकालिएका तीन नमुनामध्ये सबै नष्ट हुनु शंकास्पद रहेको भन्दै यसबारे अनुसन्धान गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन निकालेको थियो ।

पूर्वएआईजी विज्ञानराज शर्मा, फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्ती, डीएनए विज्ञ दिनेश झा, पूर्वमहान्यायाधिवक्ता नरेन्द्र पाठक सम्मिलित टोलीले तयार पारेको उक्त प्रतिवेदनमा निर्मलाको भेजाइनल स्वाबबाट लिइएको परीक्षणमा त्रुटि हुन सक्ने निष्कर्ष थियो ।

आयोगको प्रतिवेदनमा भनिएको छ, ‘एउटा मिश्रित नमुनामा विशेष प्रक्रियाद्वारा शुक्रकीट अलग्याई सोको डीएनए परीक्षण उपयुक्त हुन्छ । विश्वव्यापी रूपमा यो प्रक्रिया अपनाउने गरिन्छ । यसबाट अपराधीको आवश्यक डीएनए प्रोफाइल प्राप्त हुने र निजको पहिचान सम्भव हुन्छ । यस केसमा उक्त प्रक्रिया नअपनाएका कारण महिला र पुरुषको डीएनए मिश्रण हुन गएको छ ।’

प्रहरीको प्रयोगशालाले नमुनाबाट वंश छुट्याउने वाई एसटीआरमात्रै निकालेको थियो भने व्यक्ति किटान गर्न सघाउने अटोसोमल एसटीआर निकालेको थिएन । अटोसोमल एसटीआरले व्यक्तिको किटान गर्छ भने वाई एसटीआरले पुरुषको वंश किटान गर्छ । त्यसैले अटोसोमल एसटीआर ननिकाली व्यक्तिको पहिचान सम्भव हुँदैन ।

त्यही भएर आयोगले आफ्नो प्रतिवेदनमा भेजाइनल स्वाबबाट निकालिएको नमुनाबाट किन अटोसोमल एसटीआर निकाल्न सकिएन भन्ने प्रश्न उठाएको थियो । प्रयोगशालाका एसएसपी राकेश सिंहको नेतत्वको प्राविधिक टोलीले निर्मला पन्त स्वाबको नमुना परीक्षण गरेको थियो ।

निर्मलाको बलात्कारपछि हत्या भएको एक वर्षमा मात्रै प्रहरीले शंकास्पद भनिएका ५ सय २९ जनाभन्दा बढीसँग बयान लिएको थियो भने ७३ जनाको डीएनए परीक्षण गरेको थियो । उच्च स्रोतका अनुसार नवगठित समितिले नमुना परीक्षणको प्रक्रियाबारे अनुसन्धान गर्नेछ भने उक्त प्रक्रियामा संलग्नसँग प्रश्नोत्तर गर्दै त्रुटि भएरनभएको यकिन गर्नेछ । समितिलाई १५ दिनको समय छ । कान्तिपुर दैनिक

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७