यातायात व्यवस्था कार्यालयका शाखा अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा


८ आश्विन २०७६, बुधबार

काठमाडौं, ८ असोज । यातायात व्यवस्था कार्यालय जगातीका शाखा अधिकृतसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ । नक्कली भारतीय सवारीचालक अनुमतिपत्रमा मोटो रकम लेनदेन गरी नेपालीकरण गरेको आरोपमा अनुसन्धान गर्दा दोषी पाइएपछि उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
यातायात व्यवस्था कार्यालय जगातीका शाखा अधिकृत अनोजकुमार घिमिरे, शाखा अधिकृत कोमलराज निरौला र नायब सुब्बा हेमकुमार बस्नेतले र सुन्दर अधिकारीद्वारा नक्कली भारतीय सवारीचालक अनुमतिपत्र नेपालीकरणका लागि पेश गरेको निवेदन अनुसार उक्त नक्कली भारतीय सवारीचालक अनुमतिपत्रलाई गलत ढंगले नेपालीकरण गरी गलत लिखत तयार गर्ने कसुर गरेको प्रमाणित भएकोले मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए ।

तीन जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम सजाय हुन मागदाबी गरिएको छ । यस्तै सवारीचालक अनुमतिपत्रको नेपालीकरणका लागि नक्कली भारतीय सवारीचालक अनुमतिपत्र र दूतावासको नक्कली सिफारिस पेस गरी नेपाली सवारीचालक अनुमतिपत्रसमेत तयार भएको पाइएकोले सुन्दर अधिकारीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७