इपिएलको महँगा खेलाडी काे-काे ?


८ पुष २०७४, शनिबार
EPL logo jpg

काठमाडौँ : यतिबेला खेल बजारमा इपिएलको चर्चा छ । लामो समयदेखि चर्चामा रहेको नेपालकै सर्वाधिक पुरस्कार राशिको ट्वान्टी–२० क्रिकेट प्रतियोगिता इपिएल सोमबारबाट सुरु भएको छ । फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका रूपमा रहेको इपिएलमा ६ टिम एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दा शीर्ष चारमा रहने टिमले फाइनलसम्मको स्थान बनाउने मौका पाउने छन् ।EPL logo jpg

शीर्ष स्थानका दुई टिमबीच पहिलो क्वालिफायर हुँदा विजेताले फाइनलमा स्थान बनाउनेछ भने पराजित भएको टिमले दोस्रो र तेस्रोबीच हुने खेलको विजेतासँग अर्को मौका प्राप्त गर्नेछ । ३–१५ पुससम्म सञ्चालन हुने प्रतियोगिताको नेपाली खेलाडीको अक्सनपछि अनुबन्धन प्रक्रिया पूरा भएको थियो भने हरेक टिमले तीन विदेशी खेलाडीलाई टिममा भित्र्याउँदै प्रतियोगितालाई रोमाञ्चक बनाउने प्रयास गरेका छन् ।

टिमहरूले आफ्नो आर्थिक हैसियतअनुसार आकर्षक खेलाडी ल्याउने प्रयास गरेका छन् । राष्ट्रिय टिमका स्टार खेलाडीलाई विभिन्न समूहमा विभाजन गरेर सञ्चालन गरिएको प्रतियोगिताको उद्घाटनमा काठमाडौं किंग्स ११ र ललितपुर प्याट्रियट्स भिडेका थिए । जसमा ललितपुरले सहज जित निकाल्दै उद्घाटनलाई सुखद बनायो ।

महँगा खेलाडीसँग उतिकै आस

गत २३ अक्टोबरमा चलेको अक्सनमा इपिएलका ६ वटा टिमले १०–१० जना खेलाडी गरी कुल ६० जना खेलाडीलाई खरिद गरेका थिए । जसमा आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र विनोद भण्डारी अक्सनमा सर्वाधिक बढी मूल्य पाउने खेलाडीका रूपमा रहेका थिए । उनीहरू मार्की खेलाडीपछि सर्वाधिक बढी मूल्यमा खरिद हुन पुगका थिए । उनीहरूले जनही १ लाख ७५ हजार प्राप्त गरे ।

आरिफलाई भैरहवा ग्ल्याडियटर्सले सर्वाधिक मूल्य तिर्दा सन्दीपलाई ललितपुर, करणलाई विराटनगर वारियार्सले महँगो मूल्य हालेको थियो । सन्दीपलाई ललितपुर प्याट्रियट्सले तथा विनोद भण्डारीलाई पोखरा राइनोजले अधिकतम मूल्यमा खरिद गरेका थिए । मार्की र विदेशीसँगै आशा गरिएका यी खेलाडीसँग पनि टिमले ठूलो अपेक्षा गरेको छ ।

सबै ६ टिमको अपेक्षा जित

प्रतियोगिताको पहिलो क्वालिफायार १३ गते हुँदा १५ पुसमा दोस्रो क्वालिफायर हुनेछ । इपिएलमा काठमाडौं किंग्स ११, ललितपुर प्याट्रियट्स, विराटनगर वारियर्स, भैरहवा ग्ल्याडियटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी ६ वटा टिम रहेका छन् । सबै टिमले आफ्नो लक्ष्य प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गर्नु भएको बताएका छन् । यस्तोमा सबैको दाबेदारीको अभियान सुरु हुँदा आगामी दिनमा कुन टिम बलियो भन्ने कुरा बाहिर आउने निश्चित छ ।

मार्कीसँग टिमको बढी अपेक्षा

इपिएल प्रालिले प्रतियोगिताका लागि हरेक टिमका लागि मार्की खेलाडी छनोट गरेको थियो । जसका कारण अक्सनबाहेक नै उनीहरूमाथि टिमले ठूलो मात्रामा लगानी गरेको छ । मार्की खेलाडीलाई आधिकारिक रूपमा कति दिएको भनेर सार्वजानिक नगरिए पनि न्यूनतम २ लाख रुपैयाँ राखिएको जनाइएको छ ।

मार्की खेलाडीहरूमा काठमाडौं किंग्स ११ का सोमपाल कामी, ललितपुर प्याट्रियट्सका ज्ञानेन्द्र मल्ल, विराटनगर वारियर्सका मार्की पारस खड्का, भैरहवा ग्ल्याडियटर्सका शरद भेसवाकर, पोखरा राइनोजका शक्ति गौचन तथा चितवन टाइगर्सका मार्की दीपेन्द्र सिंह ऐरी रहेका छन् । उनीहरूसँग टिमले सर्वाधिक ठूलो अपेक्षा राख्दै जित्ने आधार खडा गर्ने खेलाडीका रूपमा उनीहरूलाई लिएको छ ।

विजेतालाई २१ लाख

एभरेस्ट प्रिमियर लिगको विजेताले २१ लाख प्राप्त गर्नेछ । प्रतियोगिताका लागि अक्सनमार्फत प्रत्येक टिमले १० जना खेलाडी खरिद गरेका टिमले ३ जना विदेशी खेलाडीको सहयमोगमा उपाधि जित्ने प्रयास गर्नेछन् ।

खेलाडीलाई ग्रेडअनुसार मूल्य

प्रतियोगिता जारी रहँदा खेलाडीहरूलाई मालिकहरूले ग्रेडअनुसारको मूल्य दिएका छन् । ‘ए’ ग्रेडको खेलाडीको अधिकतम मूल्य १ लाख ७५ हजार रुपैयाँ रहेको थियो भने बेस प्राइस १ लाख रुपैयाँ थियो । यस्तै ‘बी’ ग्रेडको अधिकतम मूल्य १ लाख २५ हजार र बेस प्राइस ७५ हजार रुपैयाँ थियो भने ‘सी’ ग्रेडको खेलाडीको अधिकतम मूल्य ७५,००० तथा बेस प्राइस ५० हजार तय गरिएको थियो । प्रतियोगिताका लागि एउटा टिमले अधिकतम १० जना खेलाडी किन्न सक्ने थियो । यसका लागि १० लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा आयोजकले तोकेको थियो ।

खेलाडीमा उत्साह

खेलाडीहरूले छोटो संस्करणको यो प्रतियोगिताका लागि निकै राम्रो मूल्य पाएपछि हौसिएका छन् । यद्यपि उनीहरूको प्रदर्शन कस्तो हुन्छ भन्ने खेलहरूले तय गर्नेछ । प्रतियोगिताका लागि अधिकांश चर्चित अनुहारलाई मालिकहरूले एक लाख बढी खर्चिए । भैरहवा ग्लाडियटर्सले प्रदीप ऐरीलाई १ लाख ६० हजार तिर्दा कृष्ण कार्की र भुवन कार्कीलाई १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्न सफल भए । त्यस्तै रोहित पौडेललाई भैरहवाले ९५ हजार खर्चियो ।

त्यस्तै विराटनगरले वसन्त रेग्मीलाई १ लाख ६० हजार खर्चिंदा आसिफ शेखलाई १ लाख २५ हजार तथा अनिल शाहलाई १ लाख ५ हजार र अविनाश कर्णलाई १ लाख रुपैयाँमा खरिद गरेको थियो ।
त्यस्तै, काठमाडौंले सागर पुनलाई सर्वाधिक १ लाख ५० हजारमा टिममा राख्दा जितेन्द्र मुखिया र नरेश बुढाऐरलाई १ लाख २० हजार तिर्न राजी भयो । त्यस्तै, सुशील कँडेललाई १ लाख २५ हजार तथा सिद्धान्त लोहनीलाई १ लाख १५ हजार रुपैयाँमा किंग्स ११ ले खरिद गर्यो ।

चितवन टाइगरले पनि पृथु बास्कोटालाई सर्वाधिक १ लाख ४० हजार खर्चियो । शाहब आलम र ललित सिंह भण्डारीलाई १ लाख २५ हजारमा, त्यस्तै योगेन्द्र सिंह कार्कीलाई १ लाख ५ हजार रुपैयाँ तिर्न राजी भयो । अर्को टिम ललितपुर प्याट्रियट्सले मेहबुब आलमलाई १ लाख ५० हजार रुपैयाँमा किन्दा कुशल भुर्तेल र पवन शर्राफलाई १ लाख २५ हजार ति¥यो । त्यस्तै, ललित राजवंशीलाई १ लाख ५ हजार रुपैयाँमा खरिद गरेको थियो ।

पोखरा राइनोजले सौरभ खनाललाई १ लाख २५ हजारमा खरिद गर्दा राजेश पुलामीलाई १ लाख २० हजार तथा सुनील धमला र किशोर महतोलाई १ लाख १५ हजार रुपैयाँमा किन्यो । त्यस्तै सुशन भारी १ लाख ५ हजारमा आबद्ध गर्न पोखरा सफल भयो ।

सुरुवाती खेलमा उत्साह कम

इपिएलको उद्घाटन खेल सम्पन्न हुँदा खेलाडीहरूले ट्वान्टी–२० क्रिकेटको मज्जा दिन भने असफल रहे । काठमाडौं र ललितपुरबीच भएको उक्त भिडन्तमा ९० रनको लक्ष्य काठमाडौंले दिएको थियो । जसलाई ललितपुरले सहज रूपमा पूरा ग¥यो । दर्शकको अपेक्षा बढी रन र बाउन्ड्रीमा रमाउने भए पनि पर्याप्त आनन्द उठाउन भने असफल भए ।

अल्छी चियरलिडर्स

उद्घाटन खेलमा बाउन्ड्री कम भइरहँदा चियरलिडरहरूमा पनि उत्साह निकै कम देखियो । एकआपसमा गफमा व्यस्त उनीहरू वेलावेलाका बाउन्ड्रीमा पनि आफ्नो कला देखाउन ढिला गरिरहेका हुन्थे । पर्याप्त इन्टरटेन गराउने मामिलामा भने चियरलिडर कमजोर सावित भए । भलै उनीहरूप्रति दर्शकको आकर्षण भने राम्रै रहेको थियो ।

चौका छक्काभन्दा सांगीतिक मनोरञजनमा दर्शक मस्त

उद्घाटन खेलमा स्वाभाविक रूपमा दर्शकको जाँगर देखिएन । आयोजकको अपेक्षाअनुसारकै दर्शक मैदानमा भए पनि क्रिकेटका चौका छक्का कम हुँदा दर्शक निराश देखिएका थिए यद्यपि इंनिङ ब्रेकको सांगीतिक गतिविधिले दर्शक मस्त–मस्त देखिए । उनीहरूलाई क्रिकेटरले नदिएको आनन्द स्वस्तिमा खड्का, कार्टुन क्रुज, काठमाडौं सर्कसलगायतले दिएका थिए ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७