निजी मेडिकल कलेज सरकार आफैले चलाओस् : अनेरास्ववियु


९ आश्विन २०७६, बिहीबार
ain mahar 1

काठमाडौं, ९ असोज । अनेरास्ववियूले निजी मेडिकललाई सरकारले आफैं चलाउन आग्रह गरेको छ । साथै मेडिकल कलेजमा ठगिएका विद्यार्थीहरूलाई नियमनकारी निकायमा उजुरी गर्न आह्वान समेत गरेको छ ।

एमबीबीएस पढाउन सरकारले अहिले तोकेको शुल्कमा समायोजन नगरिए नयाँ विद्यार्थी भर्ना नगर्ने र कलेजको साँचो सरकारलाई बुझाउने चेतावनी कलेज सञ्चालकले दिएपछि अनेरास्ववियूले सरकारले स्वामित्व लिनुपर्ने धारणा सार्वजनिक गरेको हो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका संयोजक ऐन महरले बिहीबार एक विज्ञप्ती जारी गर्दै सरकारले तोकेको शुल्कसमेत घटाउनुपर्नेमा आफूखुसी बढाउने र सरकारको निर्देशन अवज्ञा गर्ने विषय आपत्तिजनक भएको उल्लेख गरेका छन् ।bigyapti 20190926050006

विज्ञप्तिमा भनिएको छ ‘राज्यको नीति नियममा बसेर साँच्चिकै कलेज चलाउन नसक्ने हो भने राष्ट्रिय चिकित्सा शिक्षा ऐनको प्रावधानसमेतलाई दृष्टिगत गर्दै त्यस्ता कलेजहरुको जिम्मा लिएर आफैं सञ्चालन गर्न वा राज्यको नीति नियम मान्ने अन्य निकायलाई संचालन गर्ने जिम्मा दिन नेपाल सरकारलाई आह्वान गर्दछौं ।’

राष्ट्रिय चिकित्सा शिक्षा ऐन (२०७५ मा सबै मेडिकल कलेजहरुलाई दस वर्षभित्र गैरनाफामुलक र सेवामूलक बनाउने प्रावधान राखेको छ । ‘विगतमा अनेरास्ववियूकै आन्दोलनको जगमा नेपाल सरकारले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस तहमा उपत्यका भित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ५० हजार भन्दाबढि शुल्क लिन नपाउने मापदण्ड तय गरेको हो ।

‘उक्त मापदण्डको अवज्ञा गर्दै मनपरी शुल्क लिने क्रम नरोकिएपछि अनेरास्ववियू, महाराजगन्ज चिकित्सा क्याम्पस स्ववियु र चिकित्सा शिक्षा सङघर्ष समितिको अगुवाइमा गण्डकी मेडिकल कलेज र चितवन मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित भएको सबैमा जगजाहेर नै छ’ विज्ञप्तीमा भनिएको छ ।

अनेरास्ववियूले मेडिकल कलेजले लिएको बढि शुल्क फिर्ता गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारले तोकभन्दा बढी लिएको पैसा फिर्ता गर्न तत्काल भर्ना प्रक्रिया अगाडि बढाउन निजी मेडिकल कलेजहरुलाई अनेरास्ववियूले चेतावनी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७