नौबिसेको जाममा फसेका बिरामीको मृत्यु


१० आश्विन २०७६, शुक्रबार
birami

काठमाडौं,१० असोज । त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पुर्याएपछि भएको जामका कारण आज एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह रहेका छन् ।

रौतहटबाट काठमाडौं आउँदै गरेको ना ७ ख ५३६४ नंको बसमा मिर्गौला रोगी शाहलाई उपचारका लागि काठमाडौं ल्याइँदै थियो । उनको थाक्रे गाउँपालिका–२, हुलाकडाँडास्थित राजमार्गमा बसभित्र आमाको काखमा मृत्यु भएको महादेवबेँसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले जानकारी दिए ।

SA Dhading 5933 1
सडक जामले बिरामीको मृत्यु … । त्रिभुवन राजपथ मर्मत र सवारी आवागमनका कारण ३० किलो मिटरभन्दा बढी जाम भएपछि बसभित्रै आमाको काखमा मृत्यु भएका रौतहट गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह । मिगौलाका बिरामी शाहको थप उपचारका लागि काठमाडौँ ल्याउने क्रममा पृथ्वीराजमार्ग्स्थित थाक्रे गाउँपालिका–२ हुलाकडाडाँमा बसभित्रै मृत्यु भएको महादेवबेसी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले जानकारी दिए । तस्वीर : रासस

दुवै मिर्गौलाले काम गर्न छाडेपछि शाहलाई डायलसिसका लागि सार्वजनिक यातायातमा काठमाडौं ल्याइँदै थियो । लामो जाममा १२ घण्टाभन्दा बढी समय कुर्नु पर्दा बिरामीको मृत्यु भएको महादेवबेँसीस्थित जनजागृति माविका शिक्षक रामचन्द्र रुपाखेतीले बताए ।

एम्बुलेन्समा ल्याउन पैसा अभाव भएपछि शाहलाई रात्रिबस चढाएर ल्याइँदै थियो । शाहको शव बाटोबाटै रौतहट लैजाने तयारी भइरहेको श्रेष्ठले बताए ।

सडक मर्मत र ठूला सवारीसाधनका कारण यो सडक खण्डमा झण्डै ३० किलोमिटर लामो जाम छ । एम्बुलेन्ससमेत आवतजावत गर्न नसक्नेगरी सडक चार दिनदेखि अवरुद्ध भइरहेको छ । दशैँका लागि घर निस्केका यात्रु बाटोमै अलपत्र छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७