‘अंकुरण’ बाट साँगीतिक ‘उडान’ भरेका गायक हेमन्त शर्मा

काठमाडौं, १२ असोज । ‘गायक हेमन्त शर्मा आउँदै हुनुहुन्छ तपाईले यसो कुराकानी गर्नुस् है सर’, नयाँपेजका सह–सम्पादक रविन राईले म काम गर्ने कोठामा छिर्दै भने ।

चर्चित गायकसँग अचानक जुरेको भेटघाटको मौका उम्काउने कुरै भएन । मैले ‘हस्’ भनेको पाँच मिनेट पनि बित्न नपाउँदै गायक शर्मा हाम्रो स्टुडियो कक्षमा टुप्लुकिए । ‘सक्कल बमोजिम नक्कल सहि छ’ होइन, नक्कल बमोजिम सक्कल सहि छ बान्कीमा गायक शर्मा हाम्रो कोठमा छिरे । अर्थात गीतको म्युजिक भिडियोमा जस्तो हँसमुख देखिन्छन् उस्तै बान्की र हाउँभाउमा ।

चिटिक्क परेर हिंड्नु र मुसुक्क मुस्कुराउनु उनको खानदानी विशेषता जस्तै रहेछ ।
हाम्रा स्टाफ रविनजी, विद्वानजीसँग त गायक हेमन्त शर्माको पूरानै चिनजान रहेछ, सपनी राई र म मात्रै नयाँ, चिनजान भयो । मैले नाम बताएर इलामको भन्ने बितिक्कै गायक शर्माले भने, ‘म केहि समयअघि मात्रै इलामको एक कार्यक्रममा गएको थिएँ नि ।’

गायक शर्मा इलामका धेरै ठाउँहरुसँग साक्षात्कार रहेछन् । इलामका पर्यटकीयस्थलहरुबारे पनि उनी राम्रै जानकारी राख्दा रहेछन् । उनले इलामको प्रशंसा गरेपछि मैले पनि उनलाई परीक्षण गर्न खोजे, ‘म पनि हजुरकाे फ्यान नै हुँ है ।’ कलाकार न परे मेरो परीक्षण फेल खायो । उनले भने, ‘गाउने मान्छेलाई सबैले भन्ने त्यहि न हो ।’

छोटो कुराकानीमै गायक हेमन्त शर्मामा गीत गाउन मात्र होइन, अर्को कला पनि देखियो, त्यो हो–छिनमै मान्छेलाई आफ्नो जस्तै बनाउने खुबी । हेमन्त अर्थात ६ ऋतुमध्येको चिसो महिना । तर, उनको नाम र स्वभाव भने विल्कुल फरक । यतिका ‘सेलिब्रेटी’ भएर पनि उनमा कुनै अहम् र कुराकानीमा कुन चिसोपना देखिनँ मैले, बरु भेटें, न्यानो कुराकानी र आफन्ती भाव ।

औपचारिक चिनजानपछि हामी अनौपचारिक बन्दै गयौं । अनि अनौपचारिक रुपमै गीत–संगीतको कुराकानीमा प्रवेश गर्‍यौं । हेमन्त शर्माले भर्खरै मात्र गायिका विष्णु माझीसँगको सहकार्यमा ‘वन मार्‍यो बनमाराले’ बोलको दोहोरी गीत बजारमा ल्याएका छन् । हरेक गीतमा नयाँ प्रयोग गर्न रुचाउने गायक शर्मासँगको कुराकानी मैले उनको साँगीतिक शुरुवातीका दिनबाट थालेंं ।

हिमाल, पहाड र तराईले सिकायो गीत
हेमन्त शर्मा तराई (नवलपरासी) को त्रिवेणीमा जन्मिए । बाल्यका भने हिमाल, पहाड र तराई तीनतिरै बित्यो । यसको कारण थियो–बुबाको सरकारी जागिर । बुबा सरुवा भएर जता जान्थे, हेमन्त शर्मा पनि त्यतै हुने भईहाले । उनले जोमसोममा ‘कखरा’ चिने । कक्षा ३ पढ्न फेरि आफू जन्मिएकै ठाउँ पुगे । त्यसको तीन वर्षपछि नै कक्षा ६ पढ्न भैरहवा पुग्नु पर्‍यो । फेरि कक्षा ९–१० को अध्ययन बुद्धभूमि कपिलवस्तुबाट गरे ।

शिक्षाका लागि ठाउँ सरिरहनु पर्दा केहि सकस भए पनि आमाबाट सानैदेखि गीत गुनगुनाउन सिकेका हेमन्तलाई हिमाल, पहाड र तराईले एउटा कुरा भने सिकायो । त्यो थियो–हिमाल, पहाड र तराईको भूगोल, कला, सँस्कृति र मौलिकपन ।

शायद त्यसैको छाप हुनसक्छ, अहिले पनि हेमन्तका गीतहरुमा हिमाल, पहाड र तराईका कला, सँस्कृति, उखान–तुक्का र मौलिकता भेटिन्छन् । गायक शर्मा भन्छन्, ‘बुबाको जागिरका कारण मैले सबैतिरको सँस्कृति बुझ्ने र लोक संगीतमा मिसिने वातावरण पाएँ ।’ हेमन्त शर्मा कक्षा–६ पढ्दाताका नै गीत गाउनमा धेरैको आँखामा परिसकेका थिए ।

‘अंकुरण’ बाट स्टेज चढेका हेमन्त
हेमन्तको जन्म जिल्ला नवलपरासीमा हिन्दी, मैथिली र भोजपुरी गीतको दवदवा थियो । गाउँघरमा बेलाबखत हुने धार्मिक कार्यक्रमहरुमा यिनै गीत संगीत घन्किन्थे । भजन कीर्तनहरुमा पनि यस्तै गीत बज्थे ।

बुझे पनि नबुझे पनि उनी उनी यस्ता कार्यक्रम छुटाउँदैन थिए । हिन्दी फिल्मका गीतहरु मिठो स्वर हालेर गाउँथे । नेपाली गीत सुन्नका लागि गाउँका हुलाकी अनि छिमेकी गंगासागर श्रेष्ठकोमा सुटुक्क पुग्थे । गायक शर्माले नेपाली गीतप्रतिको आफ्नो विगतको आशक्ति सुनाए, ‘हुलाकी काकाको घरमा पानासोनिक रेडियो थियो, नेपाली गीत कतिबेरसम्म बज्थ्यो, त्यतिबेरसम्मै सुन्थे ।’

उबेला नारायण गोपाल, कुमार बस्नेत, दीप श्रेष्ठ, डेजी बराइलीका गीत सुन्न र सँगसँगै गाउन हेमन्त हुरुक्कै हुन्थे । आफू उनीहरुले गाउने गीतको शब्द–शब्द केलाउने गरेको र स्वरको प्रशंसक रहेको बताउँदै गायक शर्माले भने, ‘तर, मैले उहाँहरुको स्वरको कपी गर्ने कोशिस कहिल्यै गरिनँ, म आफ्नै मौलिक स्वरलाई चिनाउनु पर्छ भन्ने मान्यता पहिल्यैदेखि राख्थे ।’ कपिलवस्तुस्थित रत्ना राज्य माविबाट एसएसली छिनाएका हेमन्त उच्च शिक्षाका लागि भैरहवा पुगे ।

भैरहवास्थित भैरहवा वहुमुखी क्याम्पस पढ्न थालेपछि उनको भेट गीत–संगीतमा रुची राख्ने अरु साथीभाइसँग पनि हुन थाल्यो । कक्षा ११ पढ्दै गर्दा एक दिन उनी विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा गीत गाउन पहिलोपल्ट स्टेज उक्लिए । उनले गीत गाएपछि कलेजमा मात्र होइन, आसपासका गाउँमा समेत चर्चा फैलियो ।

उनको चर्चासँगै केहि साथी मिलेर ‘अंकुरण’ व्याण्ड नै गठन भयो । झण्डै १५ जना जति सदस्य रहेको व्याण्डले विस्तारै आवश्यक बाजागाजा समेत जोड्यो । यति भए के चाहियो हेमन्तलाई, व्याण्डको नाम जस्तै हेमन्त पनि साँगीतिक क्षेत्रमा अंकुराउन थाले ।

भैरहवाको स्नातक पढाइकै क्रममा अंकुरण व्याण्डबाट जन्मियो–‘मुटुभित्र गुञ्जी रहन्छ तिम्रो नाम’ बोलको गीत । सरोज पन्तको शब्द रहेको यो गीतमा संगीत र स्वर गायक हेमन्त शर्माकै थियो । सांगीतिक समूह ‘अंकुरण’ बाट अंकुराएको यो गीत शर्माकै स्वरमा रेकर्ड समेत भयो । गायक शर्मा भन्छन्, ‘अंकुरण’ समूहबाट २–३ जिल्लामा मेरो परिचय स्थापित भइसकेको थियो ।’
काठमाडौंमा ‘कुहिरोको काग’

भैरहवामा थोरै साँगीतिक माहौल भए पनि हेमन्तको यात्रा यतिका लागि मात्र थिएन । त्यसैले थप उच्च शिक्षाका लागि उनी ०५४ सालताका काठमाडौं छिरे । पढाइको वहाना बनाएर काठमाडौं हानिएका उनी कलेज भने भर्ना भएनन् । बरु कसरी संगीतकर्मीहरुसँग भेट गर्ने भन्ने मौका खोज्थे ।

गोजीमा १५ सय रुपैंयाँ, बोरामा सिरक–डसना र एउटा स्टोभ बोकेर नाइट बस चढेर थानकोट हुँदै काठमाडौं खाल्डो छिरेका हेमन्त बसुन्धरास्थित एक पेइङ गेष्ट हाउसमा लामै समय बसे रे । त्यो दिनलाई सम्झिँदा अहिले मिठो अनुभूति हुने गरेको सुनाउँदै गायक शर्माले भने, ‘हिजो त्यो दिन, भोगेको थिएँ र त हेमन्त शर्मा अहिले यो ठाउँमा छ होइन र ?’

संगीतकर्मीलाई उनको स्वर मनै परेन
गाउँ–ठाउँमा गाउँदा पाएको स्याबासीले हेमन्त शर्मालाई लाग्थ्यो, ‘म त निकै राम्रो गाउँछु ।’ उनी जहाँजहाँ पुगे उनी सांगीतिक कार्यक्रम गरिहाल्थे । काठमाडौंको बसाईका क्रममा मन चस्कियो । चोट पुगेको मनमा मल्हम लाग्न वर्षाैं पर्खिनु पर्‍यो । स्वर सुनाउन उनले धेरैं संगीतकर्मी र विभिन्न कम्पनीलाई भेटे । तर, उनीहरुले उनको स्वरलाई उति भाउ दिएनन् । कारण उनलाई अहिलेसम्म थाहा छैन, बरु केहिको अनुहारहरु भने याद छ ।

संघर्षकै क्रममा उनले काठमाडौंमा २०५४ सालदेखि २०५७ सालसम्म ८ वटा गीत रेकर्ड गर्न पाए । त्यसबीचमा उनले गाएका ‘ओ प्रिय …’ बोलको गीतले सञ्चार क्षेत्रसँग जोडिए, दर्शकको मन तान्यो । २०५९ सालमा विशेष गीति संग्रह निकाले । यो संग्रहको ‘माया सारै महंगो …’ बोलको गीत उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । यसपछि उनले नाम र दामका लागि भौंतारिरहनु परेन । हिजो गीत लेखिदिन जाँगर नचलाउने गीतकार र संगीतका लागि अनुरोध गर्दा वास्ता नगर्नेहरु हेमन्तलाई खोज्दै आउन थाले । शायद यो पनि हेमन्त ऋतु जस्तै चक्र होला ।

०५७ सालमा ‘ओ पिय’, ०५९ मा ‘विशेष’, ०६१ मा ‘आत्मीय’, ०६३ मा ‘लोकप्रिय’, ०६५ मा ‘मन्दिर’ र ०७० मा ‘परम्परा’ नामक एकल गीति एल्बम बजारमा ल्याइसकेका हेमन्तले सय भन्दा बढी गीत गाइसकेका छन् । ‘माया सारै महँगो’ बोलको गीतले आफ्नो जीवनलाई ‘टर्निङ’ गराई दिएको बताउने शर्मा भन्छन्, ‘त्यसपछिका गीतहरु, थाप न थाप’, आउँदै गर मालती’, मूल हौ भने रसाई देउ’ ले मेरो गायकीमा जलप लगाउँदै गए ।’

न स्वर परीक्षा, नत सिफारिस
काठमाडौंमा गीत गाउन भनेर आइसकेको र गीतकार संगीतकारले पत्याई नसकेको अवस्थामा एक किसिमको अप्ठ्यारो गायक शर्मालाई थियो । त्यहि भएर काठमाडौंमा टिक्न उनले जागिर खानु पर्ने वाध्यता आइलाग्यो । अनि गए ओरियन्टल इन्स्युरेन्स कम्पनीमा । संयोग अचम्मको, उक्त कम्पनीमा थिइन् स्व. स्वर सम्राट नारायण गोपालकी धर्मपत्नी पेमला गुरुवाचार्य (हाल दिवंगत) ।  पेमलासँग सँगै जागिर खान पाए । त्याे बेला पेमलालाई भेट्न धेरै गीतकार, संगीतकार र गायकहरु आउँथे । जो अहिले चर्चाको शिखरमा पनि छन् । कोहि ‘नारायण गोपाल संगीत कोष’ त कोही नारायण गोपालसँग जोडिएका विभिन्न प्रसङ्ग लिएर पेमलालाई भेट्न आउँथे । यसले पनि उनलाई धेरै गायक, गायिका, गीतकार र संगीतकारसँग संगत गर्ने मौका मिल्यो ।

संघर्षका दिनहरुमा आफूलाई हौसला दिने एक जना संगीतकार स्व. दिव्य खालिङ्गलाई हेमन्त विर्सन सक्दैनन् । दिव्य खालिङसँगै बिताएका सयौं रातहरुको सम्झना अहिले पनि गायक शर्माको मानसपटलमा ताजा बनेर आउँछ ।

उबेला संगीतकार खालिङकोमा प्राश्ना शाक्य, भूपाल राई, मनोज सेवा, पावल चाम्लिङ्ग, दार्जिलिङका गायक रोशन गुरुङ्गको जमघट बाक्लो हुन्थ्यो अरे । त्यो बेला दिव्य खालिङले आफूलाई गायनमा हौसला दिएको सम्झिँदै हेमन्त भन्छन्, ‘उहाँले तेरो टेक्निकल स्वर छ, रेकर्डमा राम्रो सुनिन्छ भन्नुहुन्थ्यो ।’

काठमाडौं बसाईकै क्रममा उनले गुरुदेव कामतबाट २७ दिनको शास्त्रीय संगीतको कक्षा लिएका छन् । उनको यहि नै औपचारिक संगीत अध्ययन हो । तर, अनौपचारिक संगीतको अध्ययन भने उनले नेपालको भूगोल, सँस्कृतिबाट आफै आर्जन गरेका हुन् ।

गायक हेमन्त शर्माले स्वर सम्राट पत्नी पेमलासँग सँगै जागिर खाए पनि अवसरका लागि कहिल्यै सहयोग मागेनन् । बरु, अरु धेरैले सिफारिस गराई मागेको देखे । उनले भने, ‘मैले पेमला दिदीसँग सँगै काम गरे पनि लौन यस्तो सहयोग गरिदिनु पर्‍यो कहिल्यै भनिनँ, सिफारिसको भरमा टिकिदैन भन्ने लाग्थ्यो मलाई ।’

हेमन्त शर्माका गीतहरु बच्चादेखि बुढापाका समेतले रुचाउँछन् । लोक आधुनिक शैलीमा गाउने र ‘टिपिकल’ शब्दहरु प्रयोग गर्ने भएकाले उनका गीतले एकै पटक संगीत पारखीलाई छुने गर्छ । गीत गाएरै यतिका चर्चा कमाएका गायक शर्मा एउटा ‘अपवाद’ का चर्चित गायक पनि हुन् । उनले अहिलेसम्म स्वर परीक्षा पास गरेकै छैनन् ।

त्यसो त उनले यसका लागि कोशिस नगरेका भने होइनन् । धेरै पटक रेडियो नेपालमा स्वर परीक्षाका लागि नाम दिए पनि परीक्षामा सहभागी हुनुअघि सार्वजनिक हुने नामावली सूचीमा नाम नदेखेपछि त्यो टाउको दुखाई छाडिदिए । तर, बाहिरै रेकर्ड भए पनि उनको गीत बजाउन रेडियो नेपाल आफै वाध्य बन्यो । किनकी श्रोताको अनुरोध आएपछि गीत नबजाई रेडियो नेपाललाई पनि धर भएन ।

तर स्वर परीक्षालाई गायक शर्मालाई सामान्य भने मान्दैनन् । उनी यसलाई सँस्कारको रुपमा अथ्र्याउँछन् । आधुनिक गीत संगीतको प्रभाव कम रहेको नारायण पारी जन्मिएका हेमन्त भन्छन्, ‘मेरो पालामा स्वर परीक्षा कसरी दिने, कोसँग संगत गर्ने भन्ने कुरा नजान्दा पनि यो मामलामा म पछि परें ।’

पेइङ गेष्टका रुपमा बसेका हेमन्तको अहिले आफ्नै घर र गाडी
मेहनत, सकारात्मक चिन्तन र मिजासिलो स्वभावका कारण हेमन्तको सांगीतिक दौड लोभलाग्दो बन्दै गयो । काठमाडौं छिर्दा पेइङ गेष्टका रुपमा बसेका हेमन्तको अहिले काठमाडौंमा आफ्नै घर र गाडी छ । नेपालमा मात्र होइन, उनलाई विदेशका कार्यक्रमहरुमा समेत उतिकै निम्ता आउँछ ।

भर्खरै मलेशियाको कार्यक्रम सकेर आएका हेमन्त फेरि साँगीतिक कार्यक्रमकै लागि जापान जाने तयारीमा छन् । उनले अहिलेसम्म २० भन्दा बढी देशको साँगीतिक यात्रा गरिसकेका छन् । विदेश यात्राले गायक–गायिकालाई अर्थोपार्जन मात्र होइन, त्यहाँको राम्रा कला, सँस्कृति र सभ्यता सिक्ने अवसर पनि मिल्ने गायक शर्मा सुनाउँछन् । गीत गाएरै अहिलेसम्म झण्डै दुई–तीन करोड आर्जन गरिसकेको खुलाउँदै उनले भने, ‘अहिले दुई छोरा अष्ट्रेलियामा पढिरहेका छन्, गीत गाएर पनि केहि गर्न सकिन्छ भन्ने लाग्छ ।’
‘श्रोता-दर्शकको माया नै महँगो’
हेमन्त शर्माले सय बढी गीत गाएका छन्, धेरै गीतको भिडियो बनाएका छन् । कतिपय भिडियोमा त आफै देखिएका छन् । उनका गीत मात्र होइन, भिडियो समेत दर्शकले रुचाएका छन् । अहिले गीतको भिडियोमा गायक–गायिका आफै देखिने चलन बढ्दो छ । यसमा गायक शर्माको फरक विश्लेषण छ, ‘मिडियामा देखिनु पनि परिचय नै हो । मलाई पनि भिडियोमा देखिन खुब मन पर्छ, तर, म आफ्नै भिडियोमा मात्र देखिन चाहन्छु ।’

साँगीतिक क्षेत्रमा हेमन्तको यतिका योगदान रहे पनि राज्यको नजरमा भने उनी अझै पर्न सकेका छैनन् । विभिन्न संघसंस्थाका सम्मान बाहेक राज्यको नजरमा आफू नपरेको स्वीकार्दै उनी भन्छन्, ‘श्रोता÷दर्शकले मेरो गीत मन पराई दिनु नै ठूलो सम्मान हो, गाडीहरुमा मेरो गीत घन्किदिनु नै मेरा लागि सम्मान हो ।’

कतिपय चर्चित गायक–गायिकाहरुले नै विभिन्न ठाउँमा जाँदा आफूलाई चिनाउनु पर्ने अवस्था समेत रहेको यथार्थ सुनाउँदै गायक शर्मा भन्छन्, ‘अवार्ड भनेको फलामको टुक्रो न हो, त्यो फेरि माग्ने कुरा पनि होइन । गायक–गायिकाका लागि दर्शक, श्रोताको माया नै ठूलो सम्मान हो ।’

गायक शर्मा पछिल्लो समय नेपालमा प्रतिभाशाली गायक–गायिका भित्रिरहेकोमा खुशी छन् । नेपालमा आयोजना भइरहेका विभिन्न ‘रियालिटी शो’ हरुले प्रतिभालाई मञ्च दिइरहेको बताउँदै उनले भने, ‘अहिले यस्ता मञ्चले गर्दा नवआगन्तुकमा संगीत क्षेत्रमा आउनु पहिला केहि कुरा सिक्नु पर्छ भन्ने कुराको वोध भएको छ ।’

स्वेच्छाले रोजेको क्षेत्रमा हिजोका संघर्षलाई समेत मिठो अनुभवका रुपमा संगाल्दै रफतारका साथ अगाडि बढिरहेका गायक शर्माको यो यात्रामा सांगीतिक सर्कल र श्रोता, दर्शक मात्र होइन अर्को एउटा मान्छेको हात महत्वपूर्ण छ । त्यो हात हो श्रीमती ऋतुको । ऋतुको हेमन्तलाई साथ छ र त अगाडि बढेको छ हेमन्तको यात्रा । ऋतुले हेमन्तको सांगीतिक उडानमा हौसला दिएकी छिन्, प्रेरणा दिएकी छन् । अर्थात ऋतु छिन् र त हेमन्त छन् । यी दुई ऋतुहरुको यात्रा यसरी नै अघि बढोस् अनन्तसम्म ।

प्रतिक्रिया दिनुहोस्