बिरामी आफैं खोज्छन् ‘ब्लड डोनर’

काठमाडौंमा मात्रै दिनहुँ पाँच सयदेखि सात सय यूनिटसम्म रगत खपत


१२ आश्विन २०७६, आईतवार

काठमाडौं, १२ असोज । एप्लाष्टिक एनिमियाबाट पीडित सुर्खेतका पत्रकार डिलप्रसाद शर्मा विगत दुई महिनादेखि सिभिल अस्पतालमा उपचार गराइरहेका छन् । उनले हरेक पाँच दिनको अन्तरमा रगत चढाउनु पर्छ ।

बोनम्यारोले रगत उत्पादन नै गर्न नसक्ने भएपछि ट्रान्सप्लान्टको विकल्प छैन । तर त्यसको प्रक्रिया पनि केही लामो हुन्छ । त्यसैले ट्रान्सप्लान्ट नहुँदासम्म उनलाई निरन्तर रगत चढाइरहनु पर्छ । उनलाई बी पोजेटिभ समूहको रगत आवश्यक पर्छ ।

अन्य बिरामी जस्तो तत्काल रगत चढाउन पनि मिल्दैन । कुनै पनि रोगको संक्रमण नभएको, पूर्ण स्वस्थ्य, पुरुष मान्छे त्यो पनि ६० किलो तौलभन्दा माथिको व्यक्तिको रगत मात्रै उनलाई चढाउनु पर्छ । यस्तै रक्तदाताले दिएको रगत तीन घण्टासम्म प्रशोधन गरेपछि मात्रै चढाउन मिल्छ ।

एक पटकमा कम्तिमा उनलाई दुई प्रिन्ट रातो (प्याकसेल) र सेतो दुई प्रिन्ट (पीआरपी) आवश्यक पर्छ । दुई महिनाको अवधिमा शर्मालाई करिब एक दर्जनभन्दा धेरै पटक रगत चढाइसकिएको छ । तर भनेअनुसारको र आवश्यक परेका बेला रगत नपाउँदा समस्या हुँदै आएको छ ।

चिकित्सले रगत चढाउन निर्देशन दिने बिक्तिकै उनकी बहिनी रक्तसञ्चार केन्द्रतिर कुद्छिन् । त्यहाँ पुगेपछि शर्माको समूहअनुसारको रगत छैन भन्ने जवाफ आउँछ । अनि उनलाई रक्तदाता खोज्नै मुस्किल पर्छ । बल्लतल्ल दुई जना रक्तदाता जुटाएपछि उनलाई एक पटकका लागि समस्या टर्छ ।

हालसम्म करिब तीन पटक मात्रै नेपाल रेडक्रस सोसाइटीको सोल्टीमोडस्थित रक्तसञ्चार केन्द्रबाट रगत पाएको शर्माकी बहिनी बताउँछिन् । एक पटक रगत हाल्न उनको करिब १० हजारसम्म खर्च हुने गरेको छ । उपचारमा खर्चको तनाव त छँदैछ रगत जुटाउन उस्तै हम्मे पर्ने गरेको छ । उनले भनिन्, ‘केन्द्रमा फोन गर्दा रगत पाइँदैन । आफैं रक्तदाता खोजेर ल्याउनुहोस् भन्ने जवाफ आउँछ ।’

बिरामी आफै ‘ब्लड डोनर’ खोज्न वाध्य
शर्मा मात्रै होइन सिभिल अस्पतालमा आएका अधिकांश बिरामीले रक्तसञ्चार केन्द्रबाट आवश्यकता अनुसारको रगत पाउँदैनन् । उनीहरू सबैले रगत दिने डोनर खोजेपछि मात्रै बिरामीलाई चढाउन पाउँछन् ।

त्यसो त अस्पतालमा पनि ब्लड बैंक नभएको होइन । तर त्यहाँ रक्तदान (ब्लड डोनेसन) गर्न नमिल्ने अस्पतालका कर्मचारी बताउँछन् । प्राविधिक उपकरण र जनशक्ति अभावकै कारण अस्पतालका ब्लड बैंक अन्यत्रबाट ल्याएको रगत सुरक्षित राख्ने भण्डारण केन्द्रका रुपमा परिवर्तन भएको छ ।

सिभिलमा मात्र होइन राजधानीका अधिकांश आफ्नै रक्तसञ्चार केन्द्र नभएका अस्पतालहरूमा आउने बिरामीलाई रगत पाउन सकस हुन्छ । उनीहरूले आफैं रक्तदाता नखोजेसम्म रक्तसञ्चार केन्द्रबाट रगत पाउन मुस्किल पर्छ ।

सोल्टीमोडकै रक्तसञ्चार केन्द्रमा फोन गर्दा एक कर्मचारीले भने, ‘तपाईले भनेअनुसारको रगत हामीसँग छैन, आफैं डोनर खोजेर ल्याएपछि मात्रै पाइन्छ । नत्र कागज छोडेर जानुहोस् कसैले तपाईको ग्रुपको रगत दिएर गए भने हामी राखिदिन्छौं ।’ तर बिरामीलाई तत्लाल चढाउनु पर्ने आवश्यक हुन्छ ।

राजधानीका कैयौं ठाउँमा दैनिक रक्तदान हुन्छ । तर त्यो रगत बिरामीले सहज रुपमा पाउँदैनन् । केही दिनअघि सोल्टीमोडमै रगत लिन पुगेका अछामका एक बिरामीका आफन्तले भने, ‘चार पटक फोन गरे पनि यहाँका कर्मचारीले रगत छैन भन्दै टारे । तर पछि एक जना चिनेको व्यक्तिबाट हाकिमलाई फोन गर्न लगाएपछि बल्ल रगत पाइयो ।’ आफ्नो चिनेको नजिकको मानिस आएमा तत्काल रगत उपलब्ध गराउने तर अरूलाई रक्तदाता खोज्न लगाइने गरेको गुनासो बिरामीका आफन्तहरुको छ ।

आपत परेका बेला बिरामीका आफन्तले जहाँबाट भए पनि रक्तदाता खोजेर ल्याउँछन् भन्ने उद्देश्यले पनि केन्द्रमा रगत नदिने गरेको एक बिरामीले आरोप लगाए । काठमाडौंमा मात्रै होइन बाहिरका जिल्लामा पनि रगतको समस्या झन् भयावह छ । अधिकांश जिल्ला अस्पतालहरूमा रक्तसञ्चार केन्द्र नै छैनन् । भएका ठाउँमा पनि व्यवस्थित नहुँदा रगतको समस्या चुलिन्छ । जिल्लामा सेना प्रहरी नै विकल्प हुन् । केही गरी उनीहरुको रगत पनि नमिलेको अवस्थामा बिरामी बचाउन मुस्किलै हुन्छ ।

रगत संकलन गरी वितरण गर्दै आएको नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक) लाई रगतको माग धान्न मुस्किल परेको कर्मचारी बताउँछन् । ब्लड बैकका निर्देशक डा. पवनकुमार गुम्ताले दुई हप्तासम्म रगत अभाव भए पनि अहिले केही सुधार भएको बताए । तर ताजा रगतको समस्या भने अझैं रहेको छ । ‘फ्रेस ब्लड’ र ‘कम्पोनेन्ट’ बढी अभाव हुने उनले बताए ।

सर्जिकल, सुत्केरी, क्यान्सर र मुटु रोगीलाई बढी मात्रामा रगत आवश्यक पर्छ । काठमाडौंमा मात्रै दिनहुँ पाँच सयदेखि सात सय यूनिटसम्म रगत खपत हुन्छ । तर संकलन भने करिब ७० प्रतिशत नै हुने गरेको छ । १२ सय संघ संस्थामार्फत संकलित रगत नै रेडक्रसको मुख्य स्रोत हो ।
मनपरी मूल्य

रेडक्रसले परीक्षण शुल्क मात्र लिएर रगत लिइरहेको अवस्थामा सरकारले अन्य अस्पताल पनि रगत संकलनको अधिकार दिएको छ । अन्य अस्पताललाई रगत संकलन गर्ने अधिकार दिएपछि जथाभावी मूल्य तोकेर रगत बिक्री भइरहेको छ । ब्लड बैंकले परीक्षण शुल्कका रुपमा एक पोका रगतको ५२५ रुपैयाँ लिँदै आएको छ ।

शहीद गंगालाल हृदय रोग केन्द्रले २ हजार २ सय, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले १ हजार ८ सय, ग्राण्डी अस्पतालले १ हजार ४ सय रुपैयाँ लिने गरेको छ । यस्तै मेडिसिटी अस्पतालले एक पोका रगतको एक हजार पाँच सय ५० रुपैयाँ लिने गरेको छ । अस्पतालमै रगत अन्य अस्पतालको ब्लड बैंकको भन्दा धेरै मूल्य हुने गरेको छ । स्वास्थ्य विभागले नै मूल्यका विषयमा चासो दिनुपर्ने गुप्ता बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७