विप्लव समूहले भण्डारण गरेको ठूलो परिमाणको विष्फोटक पदार्थ बरामद


१३ आश्विन २०७६, सोमबार
Biplab

झापा, १३ असोज । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले झापामा भण्डारण गरेको ठूलो परिमाणका विष्फोटक पदार्थ झापा प्रहरीले बरामद गरेको छ ।

प्रहरीले आइतबार साँझ झापाको अर्जुनधारा नगरपालिका–१ बाट ठूलो परिमाणमा बिष्फोटक पदार्थ बरामद गरेको जनाएको छ । बम बिष्फोटमा प्रयोग हुने निओजेल नाइन्टी (हाइ एक्सप्लोसिभ) लगायत बरामद भएको प्रहरीको भनाई छ । यो बिष्फोटक पदार्थ विप्लव नेतृत्वको नेकपा माओवादीको भएको प्रहरीले जनाएको छ ।

झापा प्रहरी र इलाका प्रहरी कार्यालय विर्तामोडको संयुक्त टोलीले बिष्फोटक पदार्थ बरामद गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीले बिष्फोटक पदार्थ बरामद भएको ठाउँलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

प्रहरीले बम बिष्फोटमा संलग्न विप्लव समूहका झापा जिल्ला इञ्चार्जसहित तीन जनालाई केही समयअघि पक्राउ गरेको थियो । पक्राउ परेकाको बयानका आधारमा खटिएको प्रहरी टोलीले आइतबार राति अर्जुनधाराको एक ठाउँमा छापा मारी बिष्फोटक पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ ।

बिष्फोटक पदार्थको परिमाणबारे प्रहरीले जानकारी दिइसकेको छैन । छापा मार्दा प्रहरीले विप्लव माओवादी कार्यकर्ता भने फेला नपरेको जनाएको छ । बरामद भएको बिष्फोटक पदार्थको परिमाणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७