तनावपूर्ण खेलमा बंगलादेशलाई हराउँदै भारतको पोल्टामा उपाधि (भिडियाेसहित)


१३ आश्विन २०७६, सोमबार
SAFF U 18 Champion india

काठमाडौं, १२ असोज । भारतले तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसीपकाे उपाधि जितेको छ ।

आइतबार भएको प्रतिस्पर्धात्मक फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो । योसँगै यू–१८ साफमा भारत नयाँ च्याम्पियन राष्ट्र बनेको छ ।

यसअघिको दुई संस्करण नेपालले जितेको थियो । हल्चोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा भारतलाई जित दिलाउन बिक्रम प्रताप सिंह र रबि बहादुर रानाले एक एक गोल गरे । बंगलादेशका एसिन अर्फातीले एक गोल फर्काए ।

पहिलो हाफमै ३ खेलाडीले रातो कार्ड पाएको खेलमा भारतले दोस्रो मिनेटमा सिंहको गोलबाट अग्रता बनाएको थियो । खेलको २२ औं मिनेटमा भारत र बंगलादेश १० खेलाडीमा समेटियो ।

झगडामा उत्रिएपछि नेपालका रेफ्री कबिन ब्यन्जनकारले भारतका गुर्किरात सिंहलाई सिधै रातो दिए । यस्तै बंगलादेशका मोहमद रिडोयलाई दोस्रो पहेलो कार्ड दिँदै मैदानबाट बाहिर पठाए ।

खेलको ३८ औं मिनेटमा अर्फातीले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काए । तर, उनी गोल गर्न साथ मैदानबाट बाहिरिए । गोल गरेपछि खुसियाली मनाउने क्रममा जर्सी फुकालेपछि दोस्रो पहेलो कार्डसहित रातो कार्ड पाउँदा उनि मैदानबाट बाहिरिएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा भारत राना नायक बने । उनले इन्जुरी समयमा गोल गर्दै भारतलाई २–१ को जितसहित च्याम्पियन बनाए । च्याम्पियनसिपमा माल्दिभ्स तेस्रो भयो । आइतबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा माल्दिभ्सले भुटानलाई १–० ले हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७