महरा प्रकरणपछि नेकपाले डाक्यो आकस्मिक बैठक, राजीनामा दिन लगाउने तयारी


१४ आश्विन २०७६, मंगलवार
CPN

काठमाडौं, १४ भदौ :  सभामुख कृष्णबहादुर महरा प्रकरणलाई लिएर सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालयको आकस्मिक बैठक डाकेको छ । महरा माथि संसद सचिवालयकी महिला कर्मचारीले यौन दुव्र्यवहार गरेको आरोप लगाएको सन्दर्भमा छलफल गर्न नेकपाले सचिवालयको आकस्मिक बैठक बोलाएको हो ।

पार्टीको धारणा तय गर्न आकस्मिक बैठक बोलाइएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । सचिवालय बैठक बस्नुअघि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल तथा पूर्व सभामुख सुवाष नेम्वाङबीच छलफल भएको छ ।

स्रोतका अनुसार यौन दुव्र्यवहारको आरोप लागेका सभामुख महरालाई राजीनामा दिन लगाउने सम्भावना छ । अध्यक्ष ओलीले यसअघि नेताहरूको छलफलपश्चात देश र जनताको हितका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिइसकेको बताइन्छ ।

महरालाई संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले यौन दुराचारको आरोप लगाएकी छिन् । आइतबार बेलुका राजधानीको तीनकुनेस्थित आफ्नै डेरामा आएर महराले जबर्जस्ती गरेको ती महिलाको दाबी छ ।

सभामुख महराले भने आफूमाथि लागेको आरोप निराधार र कपोलकल्पित भएको भन्दै खण्डन गरेका छन् । उनी आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजे बालुवाटार निवास फर्किएपछि कतै नगएको उनको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘सभामुखको राजनीतिक उचाइ, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको छ, यो सुनियोजित र योजनाबद्ध छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७