आजदेखि देशैभर फोरजी सेवा, प्रधानमन्त्रीले मेयरहरुसँग ‘भिडियो कल’ गरेर उद्घाटन गर्दै


१५ आश्विन २०७६, बुधबार
ntc 4g

काठमाडौं, १५ असोज । नेपाल टेलिकमले फोर जीरएलटीई सेवाको नेटवर्क आजदेखि देशैभर विस्तार गर्ने भएको छ ।

यसअघि १७ पुस ०७३ देखि काठमाडौं र पोखरामा मात्र यो सेवा सञ्चालन गरेको टेलिकमले त्यसको झण्डै ३ वर्षपछि सातै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेको महत्वकांक्षी फोरजी सेवाको बुधबार औपचारिक रूपमा शुभारम्भ गर्ने कार्यक्रम छ । बुधबार साँझ ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकै पटक भिडियो कल गरेर सेवा विस्तारको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल टेलिकमले जानकारी दिएको छ ।

यो सेवा विस्तारका लागि सरकारले ०७५ माघ २० मा चीनको जेडटीई कर्पोरेसनसँग सम्झौता गरेको थियो । त्यस्तै, हङकङको सीसीएसआईलाई नेटवर्क १ र नेटवर्क २ को जिम्मा दिइएको थियो । यी कम्पनीले १ वर्ष्भित्रै सबै स्थानमा नेटवर्क विस्तार गरिसक्ने गरी काम गरिरहेको नेपाल टेलिकमको भनाइ छ ।

टेलिकमले यसलाई हालको मोबाइल सेवाको स्तरोन्नति मात्र नभएर उच्च क्षमताको भएको दाबी गरेको छ । सबै वस्तीहरूमा सेवा पुर्‍याउने गरी संरचना तयार गरिएकाले दीर्घकालसम्म यो महत्वपूर्ण रहने टेलिकमको भनाइ छ ।

चौथो जनेरेसनको मोबाइल डाटा सेवा (फोरजी) उच्च गतिको हुन्छ । नेपाल टेलिकमका अनुसार, यसको न्यूनतम गति नै ३५ एमबी प्रतिसेकेण्ड छ ।

फोरजी सेवाको प्रयोगले उच्च गतिको इन्टरनेट सेवा सञ्चालनमा आएपछि उच्च गतिको मोबाइल ब्रोडब्यान्डमार्फत श्रव्यदृष्य तथा विद्युत्तीय माध्यमबाट शिक्षा, स्वास्थ्य, समाजिक सेवाहरू र मनोरञ्जनलगायतका सेवा प्रभावकारी हुने ठानिएको छ । भिडियोलगायतका सेवा प्रवाह गर्न पनि यसबाट सहज हुने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७