प्रहरी बढुवामा नयाँ प्रावधान, आइजीपीको अधिकार कटौती


१६ आश्विन २०७६, बिहीबार
Nepal police

काठमाडौं, १६ असोज । प्रहरी बढुवालाई थप पारदर्शी बनाउन गृह मन्त्रालयले कानून संशोधन गर्ने भएको छ । बढुवा सिफारिस समिति तथा आईजिपीको अधिकार कटौती गरी नयाँ ऐन बनाउन लागिएको छ ।

प्रहरीको नयाँ ऐनको मस्यौदामा विभूषणबापतको नम्बर हटाइएको छ । बढुवामा विभूषणको नम्बर राख्दा विकृति बढाएको भन्दै गृह मन्त्रालयले बढुवासम्बन्धी प्रावधानमा संशोधन गर्न लागेको हो ।

हाल विभूषण पाएका प्रहरीले बढुवा मूल्यांकनमा थप २ नम्बर पाउँछन् । बढुवाकै लागि विभूषण लिन शक्ति केन्द्रहरूबाट दबाब दिने विकृति देखिएपछि बढुवामा यस्तो प्रावधान हटाउन लागिएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

प्रहरीको नयाँ ऐनको मस्यौदा हाल रायका लागि लोकसेवा आयोगमा छ । जसमा कानुन तथा अर्थ मन्त्रालयले सहमति दिइसकेको छ । लोकसेवाबाट आएपछि मन्त्रिपरिषद्मा पेस गरिने मन्त्रालयका सहसचिव पुष्कर सापकोटाले बताए । प्रहरी बढुवामा एक सय पूर्णांकमा मूल्यांकन हुन्छ । जसमा धेरै नम्बर ल्याउनेहरूको बढुवा सिफारिस हुन्छ ।

एक सयमध्ये ४० नम्बर कार्यसम्पादन मूल्यांकन र २० ज्येष्ठताका आधारमा तय हुन्छ । भौगोलिक क्षेत्रमा काम गरेको अनुभवका आधारमा ८, शैक्षिक योग्यताबापत १०, तालिमबापत ७.५, चुनौतीपूर्ण तथा विशेष जिम्मेवारीबापत ५, बढुवा समितिले दिने ७.५ तथा विभूषणबापत २ नम्बर दिइन्छ ।

कामको आधारमा भन्दा पनि सोर्सफोर्सको आधारमा विभूषण पाउने प्रवृत्ति बढेपछि यसले बढुवामा समस्या ल्याएको छ । विभूषण पाउन नसक्दा कतिपय प्रहरी बढुवामा पछि पर्ने गरेका छन् । सोही कारण यससम्बन्धी प्रावधान संशोधन गर्नुपरेको गृह मन्त्रालयले जनाएको छ ।

नयाँ ऐनमा बढुवा सिफारिस समितिको अधिकार पनि कटौतीको प्रस्ताव गरिएको छ । हाल बढुवा सिफारिस समितिले ७.५ नम्बर तथा आइजिपीले ५ नम्बर दिन सक्ने अधिकार छ । स्वविवेकी आधारमा सो नम्बर दिइने भएकाले बढुवामा त्यही नम्बरबाट चलखेल हुने गरेको खबर दृष्टि साप्ताहिकले छापेको छ । यस्तो स्वविवेकी अधिकार कटौती गरे बढुवामा चलखेल कम हुने गृहको आंकलन छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७