दशैंमा तीन करोडको विप्रेषण


१८ आश्विन २०७६, शनिबार
Money paisa rakam NYfiuAliCy
सांकेतिक तस्वीर


गलेश्वर, १८ असोज । रोजगारका सिलसिलामा विभिन्न देशमा गएका म्याग्देलीले दशैं तिहारलाई लक्षित गरी जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थामा दैनिक तीन करोडसम्म विप्रेषण पठाउने गरेका छन् ।

असोजको पहिलो सातासम्म सामान्य भीडभाड रहेका वित्तीय संस्थामा तीन दिन सामान्य अवस्थाभन्दा चारगुणा बढेको बैंक तथा वित्तीय संस्थाले जनाएको छ । दशैँ तिहारलाई लक्षित गरी पठाएको विप्रेषण लिन सदरमुकाम बेनीसहित जिल्लाका अन्य व्यापारिक केन्द्रमा दैनिक विप्रेषण लिन आउनेको भीड लागेको थियो ।

विश्वका विभिन्न देशमा रहेका म्याग्दीवासीले परिवारलाई खानपिन, लत्ताकपडासहित घरायसी खर्चलाई लक्षित गरी २० हजारदेखि तीन लाखसम्म विप्रेषण पठाउने गरेको गरिमा विकास बैंक बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुङ्गानाले बताए ।

जिल्लामा चार वटा शाखा रहेको गरिमाको बेनी शाखाले मात्रै दशैँको अवधिमा करीब पाँच करोडको कारोवार गर्ने जनाएको छ । गरिमाले वार्षिक करीव एक अर्बको हाराहारीमा गरिमाले विप्रेषण भुक्तान गर्ने बताउँदै यस वर्ष विगतको तुलनामा बढेको जनाएको छ ।

जिल्लामा रहेका सेवाप्रदायक संस्थाले दिएको तथ्याङ्कअनुसार प्रतिव्यक्ति न्यूनतम रु १० हजारदेखि पाँच लाखसम्म वितरण भइरहेको लोकदीप बचत तथा ऋण सहकारीका प्रबन्धक नेत्रराज सुवेदीले बताए ।

उनले सहकारीमार्फत वार्षिक छ करोडको विप्रेषण वितरण गर्ने गरिए पनि दशैँको मौसममा अत्यधिक रहेको बताए । जिल्लामा सार्क राष्ट्रका साथै युरोप, अमेरिकासहित खाडी मुलुकबाट विप्रेषण भित्रिने गरेकामा करीव ७० प्रतिशत विप्रेषणको हिस्सा खाडीमुलुक रहेको छ । खाडी मुलुकबाट भित्रिने विप्रेषण घरायसी खर्चमै सीमित हुने गरेको समेत सेवा प्रदायक संस्थाले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७