यी हुन् कांग्रेसबाट समानुपातिक सांसद बन्ने ४० अनुहार (सूचीसहित)


९ पुष २०७४, आईतवार
Nepali congress meeting top leaders

काठमाडौं: प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकमा ४० सिट पाउँदैछ । प्रत्यक्ष र समानुपातिक गरेर जम्मा ६३ सिट जितेको कांग्रेसबाट प्रतिनिधिसभामा कम्तिमा एक तिहाई अर्थात २१ जना महिला निर्वाचित हुनुपर्छ ।

Nepali congress meeting top leaders

कांग्रेसले अरु दलको तुलनामा समानुपातिकबाट सबैभन्दा धेरै १९ जना पुरुष छनौट गर्न पाउने भएको छ । यद्यपि कांग्रेसले २१ जनाभन्दा धेरै महिला सांसद बनाए पुरुषको संख्या घटाउनुपर्छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार समानुपातिकबाट बन्द सूचिमा रहेका उम्मेदवार निर्वाचित गर्दा क्रमसंख्या अनुसार नै निर्वाचित गर्नुपर्छ । त्यस्तै कानुनमा उल्लेख भएको सातवटा क्लष्टरको अनुपात अनुसार छनोट गर्नुपर्ने बाध्यता पनि छ ।

जसमा खस आर्य ३१.२ प्रतिशत, आदिवासी जनजाती २८.७ प्रतिशत, थारु ६.६ प्रतिशत, दलित १३.३ प्रतिशत, मधेशी १५.३ प्रतिशत, मुस्लिम ४.४ प्रतिशत र पिछडिएको क्षेत्रबाट ४.३ प्रतिशत हुनुपर्छ ।

 कांग्रेसबाट समानुपातिक सांसद बन्दैछन्

कांग्रेसले समानुपातिकबाट निर्वाचित नगरी नहुने कम्तिमा २१ जना महिलामा खस आर्य कोटाबाट ७ जनाले सांसद बन्ने अवसर पाउँछन् । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्द सूचिअुनसार यो क्लष्टरबाट सुजाता कोइराला, पुष्पा भुषाल गौतम, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी, दीपशिखा शर्मा र रुक्मणीदेवी कोइराला सांसद बन्नेछन् ।

आदिवासी जनजाति क्लष्टरबाट कांग्रेसले ६ जना महिलालाई निर्वाचित गर्न पाउनेछ । जसनुसार बन्द सूचिमा रहेका ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बु, हिरा गुरुङ, मीना सुब्बा र सुवर्ण ज्वारचन छनौट हुनेछन् । यस्तै, दलित महिला कोटाबाट सुजाता परियार, लक्ष्मी परियार सेवा र विमला नेपाली सांसद बन्नुहुनेछ । त्यस्तै, मधेसी कल्स्टरबाट रहेकी सीतादेवी यादव, चित्रलेखा यादव र मिनाक्षी झा सांसद बन्नेछन् ।

जसअनुसार थारु कोटाको पहिलो नम्बरमा रहनुभएकी पार्वती डिसी चौधरी वा मुस्लिम कोटाको पहिलो सूचीमा रहनुभएकी सर्वत आरा खानमध्ये एकजनाले सांसद बन्न पाउनेछन् । पीछडिएको क्षेत्रबाट हुम्लाकी रंगमती शाही सांसद बन्नुहुनेछ ।

कांग्रेसले पठाउने पुरुषतर्फका १९ जनाको नाममध्ये ६ जना खस आर्य कोटाबाट पठाउनुपर्छ । जसमा बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडु, किशोरसिंह राठैर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहनप्रसाद पाण्डे पर्नेछन् ।

आदिवासी जनजाती कोटाबाट बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ र जीपछिरिङ लामा छनौट हुनेछन् । कांग्रेसको दलित क्लष्टरबाट मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा र प्रकाश रसाइली गरी तीनजना सांसद बन्ने भएका छन् ।

त्यस्तै मधेसी कोटाबाट विनोद चौधरी, स्मृतिनारायण चौधरी र नागेन्द्रकुमार राय गरी तीनजना सांसद बन्नेछन् । कांग्रेसको थारु वा मुस्लिम कोटामध्ये कुनै एउटा क्लस्टरबाट मात्र प्रतिनिधि चयन गर्र्नुपर्ने हुन्छ । जसले गर्दा थारु कोटाको पहिलो नम्बरमा रहेका पद्यमनारायण चौधरी वा मुस्लिम समुदायबाट पहिलो नम्बरमा रहेका अतहर कमाल मुसलमानमध्ये एकजना सांसद बन्न पाउनेछन् । पीछडिएको क्षेत्रबाट अछामका रामबहादुर बिष्ट सांसद बन्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७