करण केसीको सनसनीपूर्ण प्रदर्शन, नेदरल्याण्डस् माथि नेपालको सनसनीपूर्ण जित


२० आश्विन २०७६, सोमबार
u 16 nepali cricket team1

काठमाडौं, २० भदौ :  करण केसीको उत्कृष्ट प्रदर्शनसँगै नेपालले नेदरल्याड्सविरुद्ध सनसनीपूर्ण जित हासिल गरेको छ । ओमानमा जारी पाँच देशीय टि–२० क्रिकेट शृंखला अन्तर्गतको दोस्रो खेलमा नेपालले नेदरल्यान्डस्लाई पराजित गरेको हो ।

टस जितेर नेदरल्याण्डसलाई ब्याटिङको निम्तो दिएको नेपालले १३४ रनको लक्ष्य पछ्याएको थियो । १ सय ३४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली ब्याट्सम्यान सुरुवातिमा राम्रो नगरे पनि विनोद भण्डारीले २६ रन हानेर नेपाललाई जिततर्फ अघि बढाए।
तुलनात्मक रुपमा राम्रो फर्ममा रहँदै २१ बलबाट २६ रन जोडेका विनोद भण्डारी १८औं ओभरको अन्तिम बलमा क्याच आउट हुन पुगे । अब नेपाललाई जितका लागि १२ बलमा २८ रन आवश्यक थियो । ६ विकेट गुमाइसकेको नेपाल पूरा दबावमा परेको थियो ।

करणसँग साझेदारी गर्न सोमपाल कामी आएका थिए । १९औं ओभरका तीन बल सकिदा नेपालले थप दुई रन मात्रै जोड्यो । अब जितका लागि ९ बलमा २६ रन आवश्यक थियो । चौथौं बलमा करणले छक्का प्रहार गरे । पाँचौं बलमा एक रन जोड्दै सोमपाललाई स्ट्राइक दिए । सोमपालले दुई रन जोडेपछि अन्तिम ओभरका लागि करण फेरि स्ट्राइकमा आए ।

जितका लागि अब ६ बलमा १७ रन आवश्यक थियो । करणले पहिलो बलमै छक्का प्रहार गरे । अब पाँच बलमा एघार रन ल्याउन थियो । तर, दोस्रो बल डट खेले । तेस्रो बलमा चौका र चौंथो बलमा फेरि करणले छक्का प्रहार गर्दै जित सुनिश्चित गरे । १४ बलमै ३१ जोडेका करणले अविजित रहँदै नेपाललाई एक बल बाँकी रहँदै चार विकेटले जित दिलाए ।

यस क्रममा करणले तीन छक्का र एक चौका प्रहार गरेका थिए । ब्याटिङमा सनसनीपूर्ण प्रदर्शनी गरेका करणले बलिङमा सन्दीप लामिछानेसँग समान चार विकेट लिएका थिए ।

नेदरल्याण्डस् बिरुद्धको करणको प्रदर्शनी क्यानडा बिरुद्ध १४ फेब्रुअरी २०१८ मा भएको खेलको झल्को दिने गरिको थियो । त्यसबेला क्यानडा बिरुद्ध सनसनीपूर्ण ब्याटिङ गर्दै करणले नेपाललाई एक दिवसीय क्रिकेटको मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

नेपालले नेदरल्याण्डस् माथि जित निकाल्दा कप्तान पारस खड्काले सर्वाधिक ३३ रन जोडे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् । पवन सर्राफले ९, आरिफ शेखले २, दीपेन्द्रसिं ऐरीले ८, रोहितकुमार पौडेल ५ रन जोडे । दुई बल खेलेका सोमपाल तीन रन जोड्दै अविजित रहे ।

नेदरल्याण्डस्लाई १३४ रनमा समेट्न करण केसीले चार, सन्दीप लामिछानेले चार र ललितनारायण राजवंशीले एक रन जोडेका थिए । लगातार दोस्रो जित निकालेको नेपाल रनरेटका आधारमा दोस्रो स्थानमा रहे । समान चार अंक जोडेको ओमान रनरेटका आधारमा शीर्ष स्थानमा छ ।

दुई खेल खेलेको आयरल्याण्ड तेस्रो, नेदरल्याण्डस् चौंथो र हङकङ पाँचौं स्थानमा छन् । नेदरल्याण्डस् र हङकङ अहिलेसम्म अंक जोड्न सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७