कस्तो दशैं, कसको दशैैं ?


२० आश्विन २०७६, सोमबार
anil kirati

–अनिल किराती 

दशैंको शुभकामना पढिसकेका छौं र थाहा पाइसकेका छौं दशैंको इतिहास, दशैंको अवधारणा, दशैंको अर्थ, दशैंको प्रभाव र दशैंको समाजशास्त्र । सदियौंदेखि मनाउँदै आएका छौं दशैं । यहाँ म यी सबै कुराको बारेमा लेखिरहेको छैन । म त दशैंको शुभकामनाबारे लेख्दैछु ।

शुरुमा दशैको शुभकामना । सबैलाई शुभकामना । हो यो ‘सबैलाई’ भन्ने कुरा जो छ त्यसैको कुरा गर्दैछु । सबै भनेको को ?

सबै भनेको सबै नेपाली हो कि सबै हिन्दु धर्मावलम्बीहरु हो ? सबै नेपालीहरुले दशैं मनाउँछ भन्ने छ र ? सामान्य कुरा दशैं खासमा हिन्दु धर्मसँग जोडिएको एउटा चाड मानिन्छ । जुन धेरै पहिलेदेखि मनाउँदै आइएको हो तर, सबैले मनाएको छैन । यो कुरा अनोठो पनि हैन ।

किनकी नेपालमा रहेका विधिन्न धर्म र जाति अनुसारको चाडबाडको बारेमा त हामी अनभिज्ञ कहाँ छौं र ! दशैं हिन्दुकै मात्रै हो कि होइन भन्ने कुरा छुट्टै छलफलको विषय होला ।

तर, जसरी अहिलेसम्म व्याख्या विश्लेषण गरिंदै आइएको छ, त्यसले यही कुरा दर्शाएको छ । यसमा अन्यथा लिनु पर्छ भन्ने पनि छैन । दशैंको सम्बन्धमा विभिन्न विद्वानहरुले धेरै तर्क वितर्कहरु गरेका छन्, गर्दैछन् र अझै गरिरहने छन् । किनकी तर्क वितर्कको अन्तिम विन्दु त कहिले हुँदैन यसको त भार हुन्छ ।

र, सबै गहकिला तर्क सबैका लागि सत्य नै हुन्छ भन्ने पनि हुँदैन । तसर्थ दशैं सबैले मनाउँदैनन् । कारण खोज्दै जाँदा राजनीतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक, जातीय धेरै हुन सक्छन् । तसर्थ सबैलाई शुभकामना दिने हाम्रो जुन बानी छ नि त्यो अपुरो छ । जबरजस्ती हामी बानी परेका हौ यसरी सबैलाई दशैंको शुभकामना भन्न ।

हामी छठ, उभौली उधौली, बकरइद, रमजान, तङ्नाम चासोक, ल्होसार, चोनाम, सोहराइ, नौवंगी, गौरा जस्ता पर्वहरुमा शुभकामना त भन्दैनौ झन सबै भन्ने कुरा त परको कुरा भैगो । फेरि दशै नमनाउनेलाई शुभकामना दिनु हुँदैन भन्ने पनि हैन ।

तर जसरी दशैको शुभकामना आदान प्रदान गरिन्छ नि त्यसरी नै अन्य पर्वको पनि शुभकामना आदानप्रदान गर्न जरुरी छ भन्ने हो । अनि सबै भित्र त मुस्लिम, क्रिश्चियन, बौध, किरात सबै परे नि हैन र ? फेरि पनि दशैंको शुभकामना । यो महान पर्व दशैको शुभकामना ।

हो यो ‘महान पर्व’ भन्ने कुरा जो छ त्यसको पनि कुरा गर्दैछु । महान पर्व भनेको के ? पर्व पनि महान र सानो होला र ? नेपालका जातजाति, भाषा, धर्मका बारेमा केही भनिरहन पर्दैन अहिले । माथि पनि उल्लेख गरेको छु र त्यही आधारमा विभिन्न पर्वहरु छन् यो पनि थाहा भएकै कुरा हो । प्रत्येक पर्व र चाडका आफ्नै महत्व र कथा–कहानीहरु छन् ।

अनि के को आधारमा दशैं चाहिं महान हुने ? सबैले बुझ्ने कुरा दशै महान मान्नु भनेको अन्य पर्वहरु दशैभन्दा सानो मानिएको हो । तथ्याङ्कको आधारमा नेपालमा हिन्दु धर्मावलीहरु धेरै भएकै कारणले दशैं महान मानिएको हो भने यो व्याख्या तर्कसंगत हुँदैन ।

पर्वहरुको र्‍याङ्किंङ कहीं पनि हुँदैन र गरिंदैन पनि । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विशेषतायुक्त नेपाल भनेर संविधानमा लेखिएकै छ । संविधानमा नलेखिए पनि हामी त्यहि हौं । संविधानमा त अझ के–के र कति कति कुरा लेखिएको छ–छ । अनि व्याख्या विश्लेषण गर्ने भन्दैमा कुनै पर्वलाई महान, कुनैलाई के भन्न मिल्छ र ?

दशैंलाई महान मानिरहँदा तिहार, छठ, गाईजात्रा, ल्होसार, माघी, चासोक, होली, तीज, साकेला, जितिया चाहिं सानो पर्व मानिएन र ? यसको अर्थ दशै बाहेकका अन्य चाडहरुसँग सम्बन्धित समुदायप्रति असमान व्यवहार देखिएन र ? हो तसर्थ दशैं मात्र महान हैन अरु पनि महान नै हुन् ।
मेरो कुरा गर्ने हो भने म आदिवासी मुलको हुँ । म त साकेला उभौली उधौली मनाउँछु ।

तथापि म दशैं पनि मनाउँछु तर, मेरा धेरै आफन्तहरु दशैं मनाउँदैनन् । अब मैले ‘सबैलाई यो महान पर्व दशैको शुभकामना’ भन्दै हिंड्दा मेरा दशैं नमनाउने आफन्तलाई अलि पाच्य हुँदैन कि भन्ने हो र यथार्थता पनि ।

इतिहासको विभिन्न कालखण्डमा भएका विभिन्न सांस्कृतिक विभेदका घटनाहरुको अध्ययन अनुसन्धानले अन्य पर्व र चाडवाडलाई हिन्दुकरण गर्‍यो भन्ने जुन पीडाबोध भएको छ त्यसकारण पनि दशैं सबैले नमनाएको हुन सक्छ ।

र, पाच्य यो अवस्थामा हुन्छ जतिखेर सबै किसिमका पर्वहरुलाई राज्यले समतामूलक तथा सम्मानजनक ढङ्गले मनाउने व्यवहारिक र कानुनी वातावरण सिर्जना गर्छ । अन्तिममा दशैं मनाउनेहरुलाई दशैंको शुभकामना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७