दशैंले भ्रातृत्व अभिवृद्धिमा टेवा पुर्‍याउने राष्ट्रपतिको विश्वास


२१ आश्विन २०७६, मंगलवार
bidhya devi bhandari 2

काठमाडौं, २१ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको राष्ट्रिय चाड बडादशैंले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।

विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै आज दिएको शुभकामना सन्देशमा राष्ट्रपतिले चाडपर्वको सम्बद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान एवं गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने बताएकी छिन् ।

‘हाम्रो मुलुकमा परम्परागत रुपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका विभिन्न चाडपर्वहरूले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकता थप सुदृढ गर्नका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेका छन्’, राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

राष्ट्रपति भण्डारीले सन्देशमा विजयादशमी पर्वले समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न सबैमा उत्साह, जोश र जाँगर थप्ने विश्वास व्यक्त गर्दै सबैको उत्तरोत्तर प्रगतिको कामना गरेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७