दशैंमा बलि दिइने प्राणीहरुको आत्मा शान्तिको कामना गर्दै १९ गुम्बामा मौन व्रत


२१ आश्विन २०७६, मंगलवार
lama

धादिङ, २१ असोज । बहुसंख्यक हिन्दू धर्मावलम्बी पशुबलि दिएर दशैं मनाइरहेका बेला बौद्ध धर्मावलम्बी भने फूलपातीदेखि गुम्बाहरुमा न्युङ्ने अर्थात् मौन ब्रत बसिरहेका छन् । उनीहरु दशैंमा बलि दिइने प्राणीहरुको आत्माको शान्तिको कामना गर्दै मौन व्रत बसेका हुन् ।

दशैंमा बलि दिइएका पशुपक्षीको आत्माको शान्तिका लागि बौद्ध धर्मावलम्बीले मौन ब्रत बसी धादिङका १९ गुम्बामा ध्यान गरिरहेको लामा गुरु कर्मदोर्जे लामा बताउँछन् ।

जीवनमा जानी वा नजानी गरिएका कुकर्म र पापबाट मुक्त हुने विश्वासका साथ बौद्धधर्मावलम्बी न्युङ्ने व्रत बस्ने चलन रहेको छ ।

ङ्युङ्ने व्रत मनलाई शान्त र धैर्य हुन सिकाउने एक किसिमको ध्यान अर्थात् उपसना हो । बौद्ध धर्मावलम्बी विभिन्न समयमा न्युङ्ने व्रत बस्छन् । दशैंमा बस्ने न्युङने व्रतको भने छुट्टै महत्व रहेको लामाको भनाइ छ ।

पहिले पहिले गुम्बामा लामागुरुहरु मात्र न्युङ्ने ब्रत बस्ने गर्थे तर हिजोआज युवा र बालबालिका पनि उत्सुकताका साथ न्युङ्ने बसिरहेका छन् । न्युङ्ने बस्दा आफूले चाहेको कामना पूरा हुने र परिवारमा समेत सुख शान्ति हुने विश्वास रहेको १० वर्षीय सबुत तामाङको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७