टी–२० सिरिज : आज नेपाल र आयरल्याण्ड भिड्दै

नेपालको टी–२० वरियता यथावत


२२ आश्विन २०७६, बुधबार
Nepal Ire AJC8NE3Rme

काठमाडौं, २२ असोज । ओमानमा जारी पाँच देश सहभागी टी–२० क्रिकेटमा आज (बुधबार) नेपाल र आयरल्याण्ड भिड्दै छन् ।

खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे शुरु हुने जनाइएको छ । आफ्नो पहिलो खेलमा हङ्कङलाई र दोश्रो खेलमा नेदल्याण्ड्सलाई समान चार विकेटले हराएको नेपालले आज टेष्ट मान्यता प्राप्त टोली आयरल्याण्डसँग खेल्न लागेको हो ।

नेपालले, दुई खेलमा राम्रो प्रदर्शन गर्न नसकेका पवन सर्राफ र रोहित पौडेललाई आज परिवर्तन गर्ने सम्भावना छ । आयरल्याण्डले प्रतियोगिताका तीनमध्ये दुई खेलमा जित हात पारेको छ ।
टेष्ट वरियताको १२ औंं र एक दिवसीय वरियताको ११ औंं स्थानमा रहेको आयरल्याण्ड टी–२० को वरियतामा भने नेपालभन्दा पछाडि छ । नेपाल र आयरल्याण्डले टी–२० क्रिकेटमा यसअघि एक पटक मात्र खेलेका छन् । सन् २०१५ मा भएको त्यो खेलमा नेपाल आयरल्याण्डसँग ८ विकेटले पराजित भएको थियो ।

टी–२० वरियतामा नेपालको स्थान यथावत
टी–२० क्रिकेटको नयाँ वरियतामा नेपालको स्थान यथावत रहेका अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जनाएको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ११ औंं स्थानमा यथावत छ ।

एशोसियट देशहरुमा नेपाल सबैभन्दा अघि छ । टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड नेपाल भन्दा तल छन् । टी–२० वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इङल्याण्ड यथावत छन् । दक्षिण अफ्रिका तेस्रो, भारत चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा छन् । एक दिवसीय वरियतामा नेपाल १७ औं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७