टीकाकै दिन दर्दनाक घटना : श्रीमती र छोरीको हत्या गरी आफै पनि आत्महत्या

आमा–छोरीकाे शव टिनको बाकस र बोरामा भेटियो


२२ आश्विन २०७६, बुधबार
hatya 3

सुनसरी, २२ असोज । दशैं आफूभन्दा ठूलाबाट टीका आर्शिवाद ग्रहण गर्ने र सानालाई आशिष दिने चाडका रुपमा लिइन्छ । तर, यहि चाड वडादशैंका दिन सुनसरीको इटहरीमा भने एउटा दर्दनाक घटना भएको छ ।

सुनसरीको इटहरी–१७ मा दशैंको टीकाकै दिन (मंगलबार) एकै परिवारका तीन जना मृत्त फेला परेका छन् । मंगलबार एउटै घरका श्रीमान, श्रीमती र छोरी मृत भेटिएको स्थानीय प्रहरीले जनाएको छ ।

श्रीमान् झुण्डिएको अवस्थामा फेला परेका छन् भने श्रीमती र छोरीको शव बाकस र बोरामा हालिएको भेटिएको छ । घटनाको प्रारम्भिक अनुसन्धानले श्रीमानले श्रीमती र छोरीको हत्या गरेर आफू पनि झुण्डिएको हुनसक्ने अनुमान गरिएको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोख्रेलले बताएका छन् ।

श्रीमती र छोरीसहित घरमा बस्दै आएका राकेश शर्मा झुण्डिएको अवस्थामा फेला परेपछि उनलाई आफन्त र छिमेकीले उपचारको लागि धरान पु¥याएका थिए ।

अस्पतालले मृत घोषित गरेपछि फर्काएर लाशलाई बेर्न कपडा खोज्न घरभित्रको टिनको बाकस खोलेर हेर्दा श्रीमती पुनमको लाश भेटिएको पोख्रेलले जानकारी दिए । घरमै ६ वर्षकी छोरी स्वस्तिकाको समेत लाश बोरामा हालेर मुख बाँधेको अवस्थामा भेटिएको छ ।

‘श्रीमतीको टाउकोमा प्रहार गरेको देखिन्छ भने छोरीको टाउको लुलो अवस्थामा रहेकाले मुन्टो बटारेर मारेको हो कि जस्तो देखिन्छ,’ पोख्रेलले भने ।

लामो समयदेखि राकेश र पुनमबीच घरायसी विवाद रहँदै आएको खुल्न आएको छ । उनीहरुको झगडा प्रहरी चौकीसम्म पुगेको थियो । मंगलबार बिहान नहुँदै श्रीमती र छोरीलाई मारेर दिउँसो राकेश झुण्डिएको हुनसक्ने प्रहरीले बताएको छ । राकेशका अन्य दुई छोराछोरी भने अलि पर हजुरबाकोमा बस्दै आएका छन् । घटनाका विषयमा थप अनुसन्धान अगाडि बढिसकेको पोख्रेलले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७