एसिड आक्रमणबाट घाइते मुस्कान खातुनलाई शाहरुख खानको सन्देश

काठमाडौं, २२ असोज । एसिड आक्रमणमा परेकी मुस्कान खातुन अझै उपचारकै क्रममा छिन् ।
कीर्तिपुरको अस्पतालमा उपचारमा रहेकी मुस्कानको मुस्कान एसिड आक्रमणले खोस्न खोजे पनि

अहिले सबैतिरको माया र स्वास्थ्य लाभको कामनाले यो दर्दनाक पीडाबाट उम्किन साहस भर्दै आएको छ । मुस्कानलाई नेपाल र नेपालीहरुको मात्र होइन भारतीय स्टारहरुको समेत स्वास्थ्य लाभको सन्देश र कामना मिलेको छ ।

पछिल्लो समय मुस्कान खातुनलाई बलिउड अभिनेता शाहरूख खानले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ‘एसआरके सरोज’ नामका व्यक्तिले मुस्कानका बारेमा लेखेको ट्वीटमा जवाफ लेख्दै शाहरूखले मुस्कानलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

केही दिनअघि अभिनेता अमिताभ बच्चनले पनि मुस्कानलाई ट्वीटरमा भिडिओ सन्देशमार्फत् शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । भिडिओ सन्देशमा अमिताभले यस्तो घटना हुनु दुर्भाग्यपूर्ण भएको पनि बताएका थिए।

‘मुस्कान, तिमीमाथि जे भयो त्यो कुनै पनि बच्चालाई हुनु हुँदैन,’ अमिताभले भनेका छन्, ‘तिम्रो देशको कानुनले अभियुक्तहरूलाई पक्राउ गरी सजाय दिनेछ ।’

मुस्कानका लागि बलिउड अभिनेता वरूण धवन र अभिनेत्री क्रिती सनोनले पनि भिडिओ सन्देश पठाएका थिए । नेपालका गायक राजु लामा मुस्कानलाई भेट्न कीर्तिपुर अस्पतालमै पुगेका थिए ।

भदौ २० गते शुक्रबार बिहान विद्यालय जाँदै गर्दा वीरगञ्ज महानगरपालिका–३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो । मुस्कानलाई एसिड हान्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो । ती युवाले आफ्नो प्रेम अस्वीकार गरेपछि एसिड प्रहार गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्