दशैंको टीका लगाउने क्रम जारी, उपत्यकामा बढ्न थाल्यो चहलपहल

उपत्यकाका मुख्य सडकहरुमा जामको समस्या शुरु


२३ आश्विन २०७६, बिहीबार
kathmandu

काठमाडौं, २३ असोज । बडादशैंको टीकाको तेस्रो दिन बिहीबार पनि मान्यजनबाट टीका–जमरा र आशीर्वाद ग्रहण गर्ने जारी छ ।

टाढा–टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउन जानेक्रम कोजाग्रत पूर्णिमाको दिनसम्मै जारी रहन्छ । घटस्थापनाका दिन दशैं घरमा विधिपूर्वक स्थापना गरी नौं दिनसम्म दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका साथ ग्रहण गर्नेक्रम जारी छ । मान्यजनले टीका लगाई दिंदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ ।

परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ । योक्रम पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्मै चल्ने गर्दछ । ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दशैंलाई आपसी सद्भाव, मित्रता र पारस्परिक विश्वासको कडीकोरुपमा लिने गरिन्छ ।

नेपालको पश्चिमी भेगमा भने विजयादशमीका दिन मात्र टीका लगाउने चलन छ । समयसँगै पूर्णिमासम्मै टीका लगाउने चलन पनि बढेको छ ।
उपत्यकामा बढ्न थाल्यो चहलपहल
दशैंको तेस्रो दिन काठमाडौं उपत्यकामा मानिसहरुको चहलपहल बढ्न थालेको छ । दशैंको टीका थाप्न उपत्यका बाहिर गएकाहरु फर्किन थालेका कारण उपत्यकामा चहलपहल बढ्न थालेको हो ।

दशैंको पहिलो र दोस्रो दिन सुनसान जस्तो रहेको उपत्यकाका सडकहरुमा गाडीहरुको संख्या बढ्न थालेको छ । अहिले उपत्यकाका मुख्य–मुख्य सडकमा जामको समस्या शुरु हुन थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७