दशैं मनाउन घर आएका प्रहरी जवानमाथि मरणासन्न हुने गरी कुटपिट


२३ आश्विन २०७६, बिहीबार
kutpit

ओखलढुङ्गा, २३ असोज । दशैं मनाउन घर आएका ओखलढुङ्गाका एक प्रहरी जवान मरणासन्न हुने गरी कुटिएका छन् । ताप्लेजुङमा कार्यरत प्रहरी जवान बिनोद परियार र उनका भाइ निरकुमार परियारमाथि कुटपिट भएको हो । प्रहरीले कुटपिटमा संलग्न बिबेक तामाङसहित अन्य ६ जनालाई पक्राउ गरेको हो ।

असोज १९ गते महाअस्टमीको दिन झापाबाट ओखलढुङ्गा आएका परियार दाजुभाइलाई चिसंखुगढी गाउँपालिका पोखरेसम्म जाने क्रममा सिद्धिचरण नगरपालिका ३ बास्बोटेमा पुगेपछि गाडीबाट झारेर कुटपिट गरेका थिए ।

कुटटिपबाट परियार दाजुभाइको आँखा, टाउको लगायत शरीरका बिभिन्न भागमा गहिरो चोट लागेको छ । उनीहरुको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

झापाबाट आएर मिलन चोकमा ओर्लिएपछि पोखरेको गाडी चढ्ने क्रममा युवाहरुको समूहले बिनोदका श्रीमतीलाई जिस्काएपछि उनीहरुबीच बिबाद शुरु भएको जनाइएको छ । त्यसपछि केही समयको बिबादपछि उनीहरु मिलेर स १ ज ५५२ नम्बरको गाडीमा सँगै पोखरेतर्फ लागेका थिए ।

तर सिद्धिचरण नगरपालिका ३ बास्बोटेमा पुगेपछि केटाहरुले गाडी रोकेर प्रहरी जवान बिनोद र उनका भाइ निरकुमारलाई बाहिर निकाली मरनासन्न हुने गरी कुटपिट गरेर झण्डै २० मिटर तल झाडीमा फ्यालिदिएको पाइएको ओखलढुङ्गा प्रहरी प्रमुख पुष्पराज मल्लले बताएका छन् ।

बिनोदका श्रीमतीले आफ्ना श्रीमान र देवरमाथि कुटपिट भएको भन्दै प्रहरीमा खबर गरेपछि प्रहरीले उद्धार गरी उपचारमा लगेको प्रमुख मल्लको भनाई छ ।

कुटपिटमा १० देखि १२ जना युवाहरुको संलग्नता रहेको भए पनि ६ जना पक्राउ परेको र अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । उनीहरुमाथि ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरी अनुसन्धान शुरु गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७