नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर चीनसँग आर्थिक साझेदारी : प्रधानमन्त्री


२३ आश्विन २०७६, बिहीबार
CKK KTM PMBaluwatar2.

काठमाडौं, २३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने जनाएका छन् ।

भ्रमणकोे पूर्वसन्ध्यामा आज पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल आयोजना गरी प्रधानमन्त्री ओलीले उक्त जानकारी दिएका हुन् । चिनियाँ राष्ट्रपति सीको यही असोज २५ र २६ गते नेपालमा राजकीय भ्रमण हुँदैछ ।

प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि असल, प्रगाढ र छिमेकीको सम्बन्ध रहिआएकाले यस भ्रमणले आपसी सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेको छलफलमा सहभागी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीनसँग आर्थिक साझेदारीका विषयमा छलफल हुने बताउँदै केरुङ–काठमाडौं रेलमार्ग निर्माणको लगानीको ढाँचाबारेमा समेत छलफल गरिने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘हामी दीर्घकालीन हित र आवश्यकताका विषयमा पनि चीनसँग छलफल गर्छाैं तर तत्कालीन आवश्यकता र सहकार्यका विषयलाई पनि उत्तिकै महत्व दिन चाहन्छौँ ।’

पूर्व परराष्ट्रमन्त्री श्रेष्ठले चीनसँग सडक र पूर्वाधारमा कनेक्टिभिटीका विषयमा मुख्य छलफल हुने जनाउँदै किमाथाङ्का र कोरला नाकाको स्तरोन्नतिसहित सञ्चालन, टोखा–छहरे सुरुङ निर्माण, अरनिको मार्ग स्तरोन्नति आदि विषययमा चीनसँग वार्ता हुने र विस्तृत तयारी नेपाल सरकारले गर्ने बताए ।

नेपाली काङ्ग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रपति सीको भ्रमण हुने कुरा खुशीको विषय रहेको भन्दै राष्ट्रिय हित र आवश्यकताका आधारमा तयारीका साथ चीनसँग सहकार्य गर्न सुझाव दिइएको बताए ।

आफूहरु नेपालमा चिनियाँ लगानी बढ्नुपर्छ, ‘बेल्ट एण्ड रोड’ इनिसियटिभमा नेपालमा सहभागी हुनुपर्छ र त्यसको प्रतिफल आउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै पूर्व परराष्ट्रमन्त्री डा. महतले ऋण लिएर रेल जस्ता ठूला आयोजना भने हतारोमा शुरु नगर्न ध्यानाकर्षण गराए ।

उनले नेपालको विदेश नीतिमा कुनै अन्योल हुने खालको वातावरण सिर्जना नगर्न पनि सरकारसँग आग्रह गरे । करीब चार घण्टा चलेको छलफलमा सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त भ्रमणका लागि हालसम्म भएको तयारीबारे जानकारी दिएका थिए ।

सहभागी नेता एवं विज्ञले लामो समयपछि चिनियाँ राष्ट्रपतिस्तरबाट हुन लागेको भ्रमण ऐतिहासिक र सफल हुने अपेक्षा व्यक्त गर्दै मुलुकको हित र आवश्यकतालाई ध्यान दिएर सन्धि सम्झौता गर्न सुझाव दिए ।

छलफलमा पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्गेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीलगायत सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७