सिन्धुपाल्चोक बस दुर्घटना : ज्यान गुमाउने ११ जना पुगे, ५० बढी घाइते

पाँच जनाको सनाखत, हेलिकप्टर लिएर पुगे मन्त्री


२४ आश्विन २०७६, शुक्रबार
bus

सिन्धुपाल्चोक, २४ असोज । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा आज (शुक्रबार) बिहान भएको बस दुर्घटना मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

भोटसिपाबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट झण्डै ६० फिट तल खसेको हो । ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य पाँच जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएका अन्य २५ जनाको उपचार भइरहेको काभ्रेका जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिएका छन् ।

दुर्घटनामा ५० बढी घाइते भएको अनुमान गरिएको छ । बस भोटसिपाको तिखुमोडबाट करिब दुई सय मिटर तल खसेको डीएसपी माधव काफ्लेले जानकारी दिएका छन् । मृतकमध्ये पाँच जनाको सनाखत भएको छ ।

इन्द्रावती–९ का हिरा श्रेष्ठ, सोही स्थानका विनोद लम्साल, इन्द्रवती १० ऋदेश आचार्य, चालक काभ्रे बनेपाका केदार महाजु पाँचखालकी संगीता फुर्कोटीको सनाखत भएको काफ्लेले बताएका छन् । उनका अनुसार अन्य एक जनाको भने सनाखत हुन सकेको छैन ।

दशैं मनाएर घर फर्किने र घर पुगेर काममा फर्किने यात्रुको खचाखभ भएकाले मृतकको संख्या अझ बढ्न सक्ने स्थानीय राजु आचार्यले जानकारी दिएका छन् ।

घाइतेको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिरहेका छन् । घाइतेको एम्बुलेन्स र हेलिकप्टरबाट उद्धार भइरहेको इन्द्रावती गाउँपालिका–१० का वडाअध्यक्ष जीवन थापामगरले जानकारी दिएका छन् ।

हेलिकप्टरसहित दुर्घटनास्थलमा मन्त्री
प्रदेश–३ सरकारका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिकामा भएको बस दुर्घटना स्थलमा पुगेका छन् ।

हेलिकप्टर लिएर घटनास्थल पुगेका मन्त्री दुलाले घाइतेको उद्धारमा कुनै कमी नराख्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । उनले अस्पतालमा पुगेर घाइतेको अवस्था समेत बुझेका छन् ।
नेपाली सेनाको एमआई १७ हेलिकप्टर लिएर उनी दुर्घटनास्थल पुगेका हुन् । दुलाल त्यसै क्षेत्रबाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७