साउदी विकास कोषद्वारा तीन अर्ब ३३ करोड ऋण


२४ आश्विन २०७६, शुक्रबार
soudi

काठमाडौं, २४ असोज । भूकम्पबाट प्रभावित क्षेत्रमा आवासीय भवन, शैक्षिक प्रतिष्ठान र स्वास्थ्य केन्द्रहरुको पुनर्निर्माणका लागि साउदी विकास कोषले रु तीन अर्ब ३३ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ ।

आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा साउदी विकास कोषका उपाध्यक्ष खालिद बिन सुलेमान अलखुदारी र अर्थसचिव राजन खनालले हस्ताक्षर गरेका छन् ।

त्यस अवसरमा उपाध्यक्ष अलखुदारीले साउदी अरेबियाको परममित्र नेपाललाई दुःख परेका बेला सघाउनु आफ्नो कर्तव्य भएको बताउँदै नेपाल सरकारको पुनर्निर्माणको प्रयासमा थोरै भए पनि सघाउन पाएकामा खुशी व्यक्त गरे ।

उनले विश्व बैंक तथा तेल उत्पादक तथा निर्यातक मुलुकहरुको सदस्यका रुपमा पनि साउदी अधिराज्यले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सचिव खनालले सन् १९७७ मा नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता उक्त राष्ट्रले जलविद्युत् र सिंचाइका क्षेत्रमा लगानी गर्दै आएको चर्चा गर्दै नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकामा हार्दिक आभार व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७