राजनीतिलाई अपराधीकरण र अपराधलाई राजनीतीकरण गर्ने प्रवृत्ति रोक्न निर्देशन


२४ आश्विन २०७६, शुक्रबार
PRO KTM Policeday 20191011 E 1

काठमाडौं, २४ असोज । सरकारले समाजमा शान्तिसुरक्षा कायम गर्न तथा अपराध नियन्त्रणका सिलसिलामा कुनै दबाब र प्रभावमा नपर्न प्रहरीलाई आग्रह गरेको छ ।

कुन पार्टीको सरकार छ, कसले अपराध गर्‍यो भनेर नहेरी स्वतन्त्र ढङ्गले निष्पक्ष भएर अनुसन्धानमा लाग्न समेत प्रहरीलाई सरकारले भनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई अपराधीकरण र अपराधलाई राजनीतीकरण गर्ने अवस्थाले शान्ति सुरक्षामा असर पार्ने उल्लेख गर्दै त्यस्ता प्रवृत्ति निस्तेज पार्न प्रहरीलाई निर्देशन समेत दिए ।

यहाँ आज आयोजित ६४ औं प्रहरी दिवसलाई सम्बोधन गर्दै उनले निष्पक्ष छानबिन गर्न खोज्यो भने प्रहरीलाई अर्कातिर मोड्ने प्रवृत्ति कायम रहेकामा चिन्ता प्रकट गरे । राजनीतिक दलबल देखाउने र छानबिनलाई व्यवधान गरी सत्यसम्म पुग्न प्रहरीलाई व्यवधान गर्ने अनि फेरि सत्य स्थापित हुन सकेन भने त्यही प्रहरीलाई गाली गर्ने काम हुने गरेको छ भन्दै प्रधानमन्त्री ओलीले यस्तो अनुचित काम कसैबाट हुन नहुनेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले भने, ‘म सरकारका तर्फबाट भन्न चाहन्छु, कुन पार्टीको सरकारमा छ, त्यो प्रहरीले वास्ता गर्नुपर्ने विषय होइन, कसले अपराध गर्‍यो त्यो अनुहार हेर्नुपर्ने विषय पनि होइन, को पक्षमा छ, को विपक्षमा छ त्यो प्रहरीले मतलब राख्नु हुँदैन, को कुन पदमा छ प्रहरीले सरोकार राख्नु हुँदैन, कानूनको कार्यान्वयन, निष्पक्ष अनुसन्धान र शान्ति सुरक्षामा प्रहरीले ध्यान दिनुपर्छ ।’

कसैको दबाबमा नपरी कानूनअनुसार अगाडि बढ्न प्रहरीलाई सुझाव दिँदै प्रधानमन्त्री ओलीले प्रहरीलाई दबाब दिने दुष्प्रयास नगर्न समेत आग्रह गरे । विश्वमै मर्यादित, सभ्य र सौहार्दपूर्ण भाषा नेपालको भए पनि हाम्रो समाज उन्मुक्त मनोवृत्तितर्फ उन्मुख हुँदै गएर असभ्य भाषाको प्रयोग बढ्दै गएकामा प्रधानमन्त्रीले चिन्ता प्रकट गरे ।

‘सामाजिक सञ्जालमा हेर्‍यौं भने असभ्य भाषाको प्रयोगमा तँछाडमछाड छ, यसले अरू कुरामा भन्दा गम्भीर सांस्कृतिक अधोपतनलाई देखाउँदछ, सांस्कृतिक अधोपतन भएपछि समाजलाई सच्याउन गाह्रो हुन्छ, बालबालिका र युवा पङ्क्तिलाई त्यस्ता असभ्य भाषा सिकाउने प्रवृत्ति देखापरेको छ’, प्रधानमन्त्री ओलीले भने । समाजलाई आन्तरिक शान्ति सुरक्षाबाट भड्काउने आधारको काम त्यसले गरिरहेको छ भन्दै उनले योे प्रहरीका लागि थप चुनौतीको विषय भएको उल्लेख गरे ।

उनले समृद्धितिर अघि बढेको मुलुकलाई फेरि विकासको महाभियानबाट अल्मल्याएर विकास हुन नदिने र शान्ति सुरक्षा खल्बल्याउने प्रयास भइरहेकामा दुःख व्यक्त गरे । कोही संविधान मान्दिन भन्ने, कोही शान्ति मान्दिन र कोही व्यवस्था मान्दिन भनी देशद्रोही र अराजक प्रवृत्तिप्रति सरकार र प्रहरीले चुप लागेर बस्न नहुनेमा उनले जोड दिए ।

अहिलेसम्म सरकार धेरै उदार भएर प्रस्तुत भएको जानकारी दिंदै प्रधानमन्त्री ओलीले अनावश्यक हिंसा र त्रासको वातावारण कायम गरिरहनु मौलिक हक, स्वतन्त्रताको हक र नागरिकको हकभित्र नपर्ने हुँदा यस्ता अवाञ्छित क्रियाकलाप रोक्न प्रहरीको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री ओलीले अमर प्रहरी र प्रहरी दिवस एकै दिन मनाउँदा बधाई र समवेदना दिन अप्ठेरो छ भन्दै अलग अलग रुपमा कार्यक्रम गर्न सुझाव दिए । उनले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै अमर प्रहरी परिवारमा समवेदना प्रकट गरेका थिए ।

समारोहमा गृहमन्त्री रामबहादुर थापाले प्रहरीको एउटा कामलाई मात्रै नभई समग्रतामा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिँदै प्रहरीको कर्तव्यपरायण र व्यावसायिकताको प्रशंसा गरे । प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम विगतका कार्यक्रमभन्दा सफल रहेको उल्लेख गर्दै उनले थप प्रभावकारी बनाउन गृह मन्त्रालयले अभिभावकत्व ग्रहण गर्ने प्रतिबद्धता जनाए ।

‘प्रहरी सेवालाई अझै प्रभावकारी बनाउन फौजदारी अपराधसंहितासँग सामाञ्जस्य हुने गरी भौतिक संरचना, प्रविधिको विकास, क्षमता विकास, सुविधा वृद्धिमा मन्त्रालय प्रयत्नशील छ’, गृहमन्त्रीले भने ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सामाजिक रुपान्तरण र दिगो शान्ति कायम राख्न नेपाल प्रहरी सदैव तत्पर रहेको उल्लेख गर्दै गैरकानूनी क्रियाकलाप पूर्ण निस्तेज गरी कानूनी राज्य निर्माण गर्न नेपाल प्रहरी दृढ सङ्कल्पित रहेको बताए ।

उक्त समारोहमा अमर प्रहरीका परिवारलाई आर्थिक सहयोगसँगै कदरपत्रले सम्मान गरिएको थियो । अन्तर जिल्ला कार्यदक्षता मूल्याङ्कनमा उत्कृष्ट मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीलाई सम्मान गरिएको थियो भने पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक यादव अधिकारीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा प्रहरीको मुखपत्र ‘प्रहरी दर्पण’ लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७