दुर्घटनामा चालकसहित ११ को मृत्यु, १०१ घाइते (अपडेट)


२५ आश्विन २०७६, शनिबार
accident sindhu2019 10 12 06 20 33

सिन्धुपाल्चोक, २५ असोज । भारवहन क्षमताभन्दा बढी यात्रु बोकेको बस सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपामा ब्रेकफेल भएर भिरबाट खस्दा ११ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा.२ख २७१५ नम्बरको बस दुर्घटनामा एक सय एक यात्रु घाइते भएका छन् ।

पाँच जनाको घटनास्थलमै, पाँच जनाको धुलिखेल अस्पतालमा र एकको धुलिखेल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो । मृत्यु हुनेमा बसचालक बनेपा–३ का केदारनाथ महाजू, इन्द्रावती गाउँपालिका–९ का हीरा श्रेष्ठ, विनोद लम्साल, जुनादेवी लम्साल छन् ।

त्यस्तै, सोही गाउँपालिका–१० का रितेश आचार्य, सुभाष अधिकारी, विना मगर, सुमिता पुर्कोटी, मेलम्ची नगरपालिका–१३ का गणेश तामाङ, काभ्रे पाँचखाल–३ की संगीता मिजार र ललितपुरकी सविता श्रेष्ठको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चौताराका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

बस ओभरलोडकै कारण टायर पन्चरपछि ब्रेकफेल भएर कच्ची सडकको मोडबाट दुई सय मिटर तल खसेको हो । टायर पन्चरपछि पनि चालकले बस गुडाएको र मोडमा पुगेपछि ब्रेकफेल भएर भिरमा खसेको प्रत्यक्षदर्शी कुवेर भट्टराईले बताए । बसमा दशैं मनाएर काठमाडौं फर्किएकाहरू धेरै थिए । सिट बाहेक उभिने यात्रु खचाखच थिए ।

शुक्रबार बिहान साढे ९ बजे दुर्घटनापछि प्रहरी र स्थानीय उद्धारमा जुटेका थिए । चौतारा, मेलम्ची, नवलपुर र भीमटारबाट प्रहरी घटनास्थल पुगेका थिए । धेरै घाइतेलाई उद्धार गरी धुलिखेल अस्पताल ल्याइएको छ । १३ घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं लगेर ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल नेपाली सेनाकोे एमआई १७ हेलिकोप्टर लिएर घटनास्थल पुगेका थिए । मन्त्री दुलाल र इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङसहित राजनीतिक दलका स्थानीय नेता उद्धारमा खटेका थिए ।

दुलालका अनुसार ७२ घाइतेको धुलिखेल, १६ को शिर मेमोरियल बनेपा र १३ को ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चौताराका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले बसभित्र अड्केका शव र घाइते निकाल्न दिनभर लागेको बताए ।

काभ्रेमा मिनिट्रक दुर्घटनामा दुईको मृत्यु
काभ्रेको रोसी गाउँपालिका–३ खरेपाँगु साचाकोमा मिनिट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । महाभारत गाउँपालिकाबाट बनेपातर्फ आउँदै गरेको बा.३ ख ३५९५ नम्बरको मिनिट्रक पल्टिँदा महाभारत–२ का अक्कल बम्जन र ठेगाना नखुलेका प्रकाश मोक्तानको मृत्यु भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।

ट्रकमा दसैँ मनाएर फर्किँदै गरेका ३५ भन्दा बढी यात्रु थिए । घाइतेलाई बनेपास्थित शिर मेमोरियल अस्पताल ल्याइएको छ । तीव्र गतिका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दीपक गिरीले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७