मोहरेडाँडामा पाहुना घर


२५ आश्विन २०७६, शनिबार
pahuna ghar

म्याग्दी, २५ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मोहरेडाँडामा पाहुना घर सञ्चालन गरिएको छ ।

सूर्योदय र हिमश्रृङ्खलाको अवलोकनका लागि मोहरेडाँडा पुग्ने पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्ड र गाउँपालिकाको सहयोगमा पाहुना घर सञ्चालन भएको हो । रु २७ लाखको लगानीमा ७० जना क्षमताको दुई वटा पाहुना घरको भवन निर्माण भएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गका कोषाध्यक्ष रमन पुनले बताए ।

पर्यटन बोर्डले रु २० लाख र गाउँपालिकाले रु दुई लाख अनुदान उपलब्ध गराएको पाहुनाघर बनाउन सामुदायिक लजको आम्दानीबाट रु पाँच लाख परिचालन गरिएको छ । नागीका १५० घरधुरीले तीन–तीन दिन र हिमाञ्चल माविको ९ देखि १२ कक्षाका विद्यार्थी तथा शिक्षकले एक–एक दिन श्रमदान गरेका थिए ।

पाहुनाघरमा ४० जना पर्यटक र ३० जना गाइड, पोर्टर, भरिया बास बस्न सक्ने क्षमता छ । यसअघि मोहरेडाँडाको सामुदायिक लजमा २० जना क्षमताको दश कोठे एउटा भवन थियो ।

‘पाहुनाको चापसँगै नयाँ भवन बनाएर क्षमता बढाएका हौं’, पुनले भने, ‘नयाँ पाहुनाघर बनाएपछि पर्यटकलाई भान्छा र डाइनिङ हलमा सुताउनुपर्ने समस्या हटेको छ ।’ समुद्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा अवस्थित मोहरेडाँडाको नजिकै बस्ति छैन ।

नागी, घोडेपानी, उल्लेरी हुँदै मोहरेडाँडा भ्रमणमा आउने पर्यटकको संख्या वर्षेनी बढ्दै गएको मोहरेडाँडा सामुदायिक लजका कर्मचारी ललित खोरजाले बताए । पुनहिलदेखि मोहरे जोड्ने पदमार्ग निर्माण भएको उनले बताए । रु तीन लाखमा अप्ठ्यारो ठाउँमा सिँढी चिन्ने र झाडी हटाएर सहजरुपमा आवतजावत गर्नसक्ने बनाइएको छ ।

बस्ती नभएकाले यहाँ समुदायको पहलमा आठ वर्षअघि सामुदायिक लज शुरु गरिएको थियो । लजको आम्दानी गाउँका सामुदायिक विद्यालय सञ्चालन, पदमार्गमा पूर्वाधार निर्माण र स्वास्थ्य तथा विपन्न बालबालिकाको शिक्षामा परिचालन गरिएको छ ।

मोहरेडाँडाबाट हिमश्रृङ्खला, सूर्योदय र पहाडी भूगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । सिस्ने, गुर्जा, धौलागिरी, नीलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु श्रृङ्खलाका २० भन्दा बढी हिमाल देखिन्छ ।

फेवाताल, मिर्मीमा कालीगण्डकी थुनेको बाँध, पोखरा बजारसँगै म्याग्दी, पर्वत, बागलुङ, तनहुँ, गोरखा, कास्की, गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुमलगायत जिल्लाका अग्ला पहाडका टाकुरा पनि देख्न पाउनु मोहरेडाँडाको अर्को विशेषता हो ।

घना गुराँसे जङ्गलको बीचमा रहेको मोहरेडाँडा आसपासका क्षेत्रमा पशुगोठ, जडीबुटी, बोट बिरुवाको अवलोकनसँगै चराचुरुङ्गीका चिरवीर आवाज सुन्दै यात्रा गर्न सकिन्छ । पर्वतको बाँसखर्क, डाँडाकटेरी, म्याग्दीको नांगी, टिकोट र खिवाङ गाविसका बासिन्दाले सञ्चालन गरेको अन्नपूर्ण धौलागिरी सामुदायिक पदमार्गको मुख्य गन्तव्य मोहरेडाँडा हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७