नेपाल–चीन ७० वर्ष पुरानो सम्बन्ध : गुरिल्ला तालिमदेखि ६ बुँदे समझदारीसम्म


२५ आश्विन २०७६, शनिबार
oli n xi2019 10 12 06 38 33

काठमाडौं, २५ असोज । सन् १९२१ मा स्थापित चिनियाँ कम्युनिस्ट पार्टी र सन् १९४९ (२००६) सालमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीबीच करिब सात दशक पुरानो सम्बन्ध छ । चिनियाँ

कम्युनिस्ट पार्टीका महासचिव तथा सैन्य आयोगका प्रमुख समेत रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई पार्टीबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित आज नेपाल भ्रमणमा आउँदै छन् ।

गत ७ असोजमा काठमाडौंमा सम्पन्न नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) बीचको वैचारिक अन्तरक्रियालाई सी भ्रमणकै गृहकार्यको एउटा कडिका रूपमा हेरिएको थियो । ६ बुँदे सम्झौतामार्फत नेताहरूले दुई पार्टीबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको उद्घोष गरेका थिए ।

माओ त्सेतुङको नेतृत्वमा क्रान्ति सम्पन्न भएपछि चिनियाँ अनुभवको नक्कल गर्दै नेपालमा पनि जनवादी क्रान्ति गर्ने उद्देश्यले नेकपाका तत्कालीन महासचिव पुष्पलालले नेता गौरीभक्त प्रधानलाई गुरिल्ला तालिमका लागि चीन पठाएका थिए ।

मुस्ताङको बाटो हुँदै चीन पुगेका प्रधान तीन वर्ष गुरिल्ला युद्धको तालिम लिएर स्वदेश फर्किए । चीनमा रहँदा विभिन्न तालिम र प्रशिक्षण लिएका उनले ‘मेरा सम्झनाहरू’ नामक पुस्तकमा त्यसको अनुभव उल्लेख गरेका छन् ।

त्यस्तै, नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्य ०१४ मा मजदुर दिवसमा भाग लिन चीन पुगेका थिए । तत्कालीन मालेको चौथो महाधिवेशनसम्म हिंसात्मक बाटोबाट राज्यसत्ता कब्जा गर्ने कि नगर्ने, जनवादी अधिनायकत्वजस्ता विषय बहसमा थिए । तर, भारतको नक्सलाइट आन्दोलनबाट प्रेरित वर्गशत्रु खत्तम अभियानअन्तर्गत ०२८ मा झापा विद्रोहमाबाहेक माले धारले हिंसाको बाटो अख्तियार गरेन ।

दोस्रो महाधिवेशनबाट महासचिवमा निर्वाचित तत्कालीन महासचिव मनमोहन अधिकारी करिब साढे तीन वर्ष चीन बसेर फर्किएका थिए । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उनी करिब साढे तीन वर्ष छाला रोगको उपचार सकेर ०१६ मा स्वदेश फर्किएका थिए ।

उनको सम्पूर्ण उपचार खर्च समेत चिनियाँ कम्युनिस्ट पार्टीले नै व्यहोरेको स्कुल विभागका उपप्रमुख वेदुराम भुसाल स्मरण गर्छन् । उनी चीनमै रहेका वेला तत्कालीन महासचिव केशरजंग रायमाझीको नेतृत्वमा पुष्पलाल ०१५ मा चीन भ्रमणमा गएका थिए ।

महासचिव माओत्सेतुङले मनमोहनलाई विमानस्थलमै लिन गएर नेकपासँगको सम्बन्धलाई उच्च महत्व दिएको केन्द्रीय सदस्य सूर्य थापा स्मरण गर्छन् । ‘साढे ६ दशकअघि मनमोहनलाई माओले विमानस्थलमै पुगेर स्वागत गर्नुले दुई कम्युनिस्ट पार्टीबीच लामो समयदेखि प्रगाढ सम्बन्ध रहेको पुष्टि हुन्छ,’ थापाले भने ।

भूमिगत कालमा तीन साता पैदल हिंडेर चीन भ्रमण
३० को दशकमा भूमिगत कालमा माले (०३५) गठन भएपछि महासचिव सिपी मैनाली, जीवराज आश्रित, माधव नेपाल, ईश्वर पोखरेल, अमृत बोहराले राज्यको आँखा छल्दै हिमाली बाटो छिचोलेर तिब्बत हुँदै दुई पटक चीन भ्रमण गरेका थिए ।

दोलखाको बिगु हुँदै तीन सातामा मैनाली र पोखरेल (०३८) तथा नेपाल, आश्रित र बोहरा (०३९) मा दुई चरणमा चीन पुगेर फर्किएका थिए । त्यतिवेला उनीहरूले विचार, अनुभव आदान–प्रदान गर्नुका साथै कार्यनीतिमा केन्द्रित रहेर छलफल चलाएका थिए । ‘घाँस विशेषज्ञ बनेर लेक चहारेँ, उपयुक्त छोटो बाटो फेला परेपछि नेताहरूको भ्रमण गराउने कामको अगुवाइ गरेको थिएँ,’ बोहोरा स्मरण गर्छन् ।

मदन भण्डारीदेखि केपीसम्मको भ्रमण
खुला राजनीतिमा आएपछि तत्कालीन एमालेका तर्फबाट पार्टी प्रमुखका रूपमा मदन भण्डारीदेखि हालका अध्यक्ष केपी ओलीसहित चार प्रमुख नेताले चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निमन्त्रणामा भ्रमण गरेका छन् । भण्डारी बाहेकका नेताहरू त धेरै पटक चीन गएका छन् ।

त्यस्तै, चीनबाट चाउ एन लाई, देङ साओ पिङ, झु रोङ जी, लि पिङ, जियाङ जमिन र बेन जियाबाओसहित दोस्रो तहका चिनियाँ नेताहरू पनि नेपाल आएका छन् । महासचिवमा निर्वा्चित भएलगत्तै भण्डारी चीन गएका थिए । त्यस्तै, नेपाल, झलनाथ खनाल र ओलीले पनि पार्टी प्रमुखकै रूपमा चीन भ्रमण गरेका छन् ।

अझ १५ वर्ष महासचिव रहेका नेपालले त तीनपटक महासचिवकै हैसियतमा चीन भ्रमण गरेका छन् । साबिक एमालेका तर्फबाट हरेक वर्ष अनुभव आदान–प्रदानको सिलसिलामा भ्रमण हुँदै आएको विदेश विभागका उपप्रमुख विष्णु रिजाल बताउँछन् ।

साबिक माओवादीसँग खुला राजनीतिपछि सम्बन्ध
तत्कालीन नेकपा (माओवादी) ०६३ को शान्तिसम्झौतामार्फत खुला राजनीतिमा आएपछि चिनियाँ कम्युनिस्ट पार्टीसँग औपचारिक सम्बन्ध स्थापित भएको थियो । सिपिसीको निमन्त्रणामा अध्यक्ष प्रचण्डको नेतृत्वमा माओवादीको टोली चीन भ्रमणमा गएपछि औपचारिक सम्बन्ध स्थापित भएको नेकपा केन्द्रीय सदस्य युवराज चौलागाईं बताउँछन् ।

‘त्यसपछि तत्कालीन माओवादीबाट हरेक वर्ष सिपिसीको निमन्त्रणामा १२ देखि १५ जनाको टोली अनुभव आदान–प्रदानको सिलसिलामा चीन भ्रमणमा जाँदै आएको छ, यसले पार्टी एकतापछि पनि निरन्तरता पाउँदै आएको छ,’ चौलागाईंले भने ।

०६५ मा प्रधानमन्त्री भएपछि प्रचण्डले चीनमा आयोजित ओलम्पिकमा सहभागी भएर चीनबाटै विदेश भ्रमण सुरु गरेका थिए । प्रचण्ड पटक–पटक चीन भ्रमणमा गएका छन् भने डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठसहित दोस्रो तहका नेताहरूले पनि चीन भ्रमण गरे ।

माओवादीको निमन्त्रणामा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री सन् २०१२ मा नेपाल भ्रमणमा आएका थिए । सन् २०१६ मा प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री भएकै वेला चीनले अघि सारेको बिआरआई प्रोजेक्टमा सहभागी हुन गए । सो प्रोजेक्टमा नेपालले हस्ताक्षर गरेको थियो ।

नेकपा र सिपिसीबीच थप प्रगाढ सम्बन्ध विस्तारका लागि ७ असोजमा ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । नेकपा विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सिपिसीका विदेश विभाग प्रमुख सङ ताओबीच दुई पार्टीबीचको सम्बन्ध थप प्रगाढ र बलियो बनाउने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

होटेल म्यारियट दरबारमार्गमा आयोजित हस्ताक्षर कार्यक्रममा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा चिनियाँ कम्युनिस्ट पार्टीका अन्य नेताहरू पनि सहभागी थिए ।

यस्ता छन् ६ बुँदे समझदारी

उच्चस्तरीय भ्रमण
कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि
पार्टी–पार्टी अनुभवमा आधारित सहयोग आदानप्रदान
युवा र स्थानीय नेताहरूबीच भ्रमण आदानप्रदान
जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि
विचार सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन
टाइमलाइन– नेकपा नेताहरूको चीन भ्रमण

मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ र कमर शाह (०१३ भदौै)
नरबहादुर कर्माचार्य (सन्२०१४ मे दिवस)
पुष्पलाल, केशरजंग रायमाझी, पिबी मल्ल (०१६)
सिपी मैनाली र ईश्वर पोखरेल (०३८)
माधवकुमार नेपाल, जीवराज आश्रित, अमृत बोहरा (०३९)
मदन भण्डारीको भ्रमण (०४९)
माधव नेपालको भ्रमण (०५० पछि तीनपटक)
प्रचण्ड प्रधानमन्त्रीका रुपमा दुईपटक (०६५ र ०७३)
झलनाथ खनाल (०७१)
केपी ओली (०७६)

(नयाँ पत्रिका दैनिकबाट)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७