बल्ल बाहिरियो मनसुन : अब तापक्रम घट्ने, पानी नपर्ने


२५ आश्विन २०७६, शनिबार
366737757sun

काठमाडौं, २५ असोज । गत वर्षभन्दा ढिलो गरी शुरु भएको मनसुन ढिलै गरी बाहिरिएको छ ।
आज (शनिबार) देखि नेपालबाट मनसुन बाहिरिएको छ । मनसुन बाहिरिएसँग अब आकाश खुल्न थालेको र दिन घमाइलो हुन थालेको छ ।

सामान्य समयभन्दा १० दिन ढिलो गरी असार ५ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन आजदेखि औपचारिक रुपमा बाहिरिएको मौसम पूर्वानुमान महाशााखाले जानकारी दिएको छ ।
यो वर्ष मनसुनको आगमन औसतभन्दा १० दिन ढिलो भएको थियो भने बहिर्गमन औसतभन्दा १९ दिन ढिलो भयो । औसतमा पूर्वी नेपालमा १० जूनमा र काठमाडौमा १२ जुनमा मनसुनी वायुवर्षा आइपुग्ने गर्दछ ।

मनसुन बाहिरिएसँगै अब तापक्रम घट्दै जाने र पानी नपर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । सामान्यतया सेप्टेम्बर २३ अर्थात असोज ६ गतेतिर नै मनसुन बाहिरिनुपर्ने भए पनि यो वर्ष झण्डै ३ हप्ता ढिलो गरी मनसुन नेपालबाट बाहिरिएको हो ।

उपलब्ध तथ्यांक अनुसार नेपालमा सन् १९७९ को ७३ दिनको मनसुन सबैभन्दा छोटो र सन् २००८ को १३० दिनको मनसुन सबैभन्दा लामो मनसुन रहेको छ ।

मनसुन आगमन सन् १९९६ मे ३१ मा अहिलेसम्मको सबै भन्दा छिटो र १९८२ जून २७ मा अहिलेसम्मको सबैभन्दा ढिला भएको थियो भने मनसुन बहिर्गमन सबैभन्दा छिटो सन् १९९५ सेप्टेम्बर २ र सबैभन्दा ढिला सन् २०१३ अक्टुबर १९ मा रहेको छ ।

यस्तै आज काठमाडौं उपत्यकालगायत मध्य र तराई भू–भागको मौसम सफा रहने पनि महाशाखाले जनाएको छ । पहाडका एक–दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको भए पनि अरु ठाउँको मौसम सामान्य रहने मौसमविद्को भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७