२८२ कोठे सोल्टी होटल सिङ्गै सीका लागि मात्र


२५ आश्विन २०७६, शनिबार
Soaltee hotel 5a654d395df668.70947218

काठमाडौं, २५ असोज । दुई सय ८२ कोठा रहेको काठमाडौंको पाँचतारे होटल सोल्टी क्राउन प्लाजा चिनियाँ राष्ट्रपति सी चिनफिङका लागि सिङ्गै बुक भएको छ ।

सीका लागि बस्ने व्यवस्था मिलाइएको उक्त होटल पूरै रिजर्भ भएको होटलका एक उच्च व्यवस्थापकले जानकारी दिएका छन् । २८२ वटा कोठा भएको होटलमा चिनियाँ राष्ट्रपतिसँग आउने प्रतिनिधिमण्डल मात्र बस्ने जनाइएको छ । उनीहरूको सुरक्षालाई ध्यानमा राख्दै होटलमा रहेका उपहार पसलहरू पनि बन्द हुने भएको छ ।

होटलले उच्च पदस्थका लागि पहिल्यै बुक भएकाले केही समय अघिदेखि नै निर्धारित मितिका लागि बुकिङ लिन छाडेको थियो । आइतबार ११ बजेसम्मका लागि चिनियाँ राष्ट्रपति सी सोल्टीमा हुने भएकाले उक्त दिनका लागि पनि होटलले बाहिरी अरू बुकिङ लिएको छैन ।

यद्यपी घोषणा हुनुभन्दा पहिल्यै लिइएका बुकिङ र अहिले निरन्तर बसिरहेका पाहुनालाई अरु होटलमा सारिएको होटलका एक व्यवस्थापकले जानकारी दिएका छन् । उनका अनुसार उच्च पदस्थको सुरक्षा संवेदनशीलताअनुसार यस्तो रिजर्भ हुनु सामान्य हो ।

सी पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । उनको भम्रण तालिकाअनुसार उनी आज (शनिबार) साढे चार बजे विमानस्थल अवतरण गर्नेछन् । साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्तापछि सोल्टीमै रात्रिभोज कार्यक्रम राखिएको छ ।

आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता र द्विपक्षीय सम्झौता गरी सी चीन फर्कने छन् । उनको चीन फर्किने उडान १ बजेको छ ।

सी ओहोरदोहोर गर्न समयमा उक्त रूट पूर्ण रूपमा बन्द गरिने र उडानका समयमा पनि विमानस्थलमा अरू कुनै उडान नगरिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७