चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपाललाई धेरै लाभ : सांसद बस्नेत


प्रकाशित मिति : October 12, 2019

भक्तपुर, २५ असोज । सांसद महेश बस्नेतले चिनियाँ राष्ट्रपति सी चीनफिङको आजदेखि हुने दुई दिवसीय नेपाल भ्रमणले नेपाल र चीनको सदियौंदेखिको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।

सूर्यविनायक नगरपालिका–७ कार्यालयले आज गुण्डु चोकमा निर्माण गरेको सामुदायिक भवनको उद्घाटन कार्यक्रममा उनले विश्वमै चीनले गरेको चामत्कारिक विकासबाट नेपालले पनि सिक्नुपर्ने औंल्याउँदै यो भ्रमणबाट नेपालले धेरै लाभ लिनसक्ने बताए ।

उनले तीन वर्षअघिसम्म भिर र पहिरोबाट जकडिएको गुण्डुको अहिले विकासले मुहार फेरेको बताउँदै अबको तीन–चार वर्षमा विकासले भक्तपुरको मुहार फेरिने जिकिर गरे । उनले उक्त सामुदायिक भवनमा आजै कार्यालय स्थापना भएको गुण्डु खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समिति र महानगरीय प्रहरी प्रभाग गुण्डुको कार्यालय भवन समेत एकैसाथ हस्तान्तरण गरे ।

गुण्डुकै सार्वजनिक जग्गामा सवारी अनुमति पत्र वितरण गर्ने यातायातको कार्यालय निर्माण हुने गरी कार्ययोजना अगाडि बढेको र यसै वर्ष त्यसका लागि रु दुई करोड बजेट विनियोजन हुन लागेको सांसद बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्