सीलाई नेपालले दिने कुरा नै सम्मान हो, राष्ट्रपति र म नै विमानस्थल जाँदैछौं : प्रधानमन्त्री

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि सिङ्गो मन्त्रिमण्डल सदस्य विमानस्थल जाने


२५ आश्विन २०७६, शनिबार
pm president1

काठमाडौं, २५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजकीय भ्रमणमा आउँदै गरेका चीनका राष्ट्रपति सी चिनफिङलाई नेपालले दिने विशेष महत्वको कुरा नै सम्मान भएको बताएका छन् ।

चिनियाँ राष्ट्रपतिको सम्मानका लागि विशेष महत्व दिइएको बताउँदै प्रधानमन्त्री ओलीले त्यसका लागि राष्ट्रपति र आफूसहित सिङ्गो मन्त्रीपरिषद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीको स्वागतका लागि जाने बताएका छन् ।

भारतको चेन्नईबाट विशेष विमानमा काठमाडौंका लागि उडेका राष्ट्रपति सी अपरान्ह ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछन् । सीलाई स्वागत गर्न सबै मन्त्रीहरू पौने ४ बजे विमानस्थलमा पुग्ने तयारीमा छन् ।

‘हामी सबै मन्त्री पौने ४ बजे विमानस्थल पुग्नेछौं, राष्ट्रपति र प्रधानमन्त्री सी ओर्लनु केही समयअघि आउनु हुन्छ’, एक मन्त्रीले सीको स्वागत तयारीबारे भने ।

ती मन्त्रीका अनुसार राष्ट्रपति सीको नेपाल भ्रमणका सबै तयारी प्रधानमन्त्रीको सिधा निर्देशन र अनुगमनमा भएको छ । प्रधानमन्त्री ओलीले सुरक्षा तयारीदेखि स्वागतको तयारीसम्म आफैंले अनुगमन गरेका छन् । शनिबार बिहान ओलीले सी हिंड्ने सडक र स्वागतद्वारहरूको अनुगमन गरेका थिए ।

२३ वर्षपछि नेपाल भ्रमणमा आउन लागेका चीनका राष्ट्रपतिलाई स्वागत गर्न विशेष तयारी गरिएको छ । विमानस्थलमा पनि उच्च सम्मान दिने तयारी छ । अर्का एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले बिहिबार मन्त्रीपरिषद बैठकमा नेपालले चीनलाई दिनसक्ने अन्य कुरा नभएकाले उच्च सम्मान दिने बताएका थिए ।

‘चीनका राष्ट्रपतिलाई दिने सम्मान नै हो, त्यो बाहेक हामीले दिनसक्ने केही छैन’, मन्त्रीपरिषदमा प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘त्यसैले राष्ट्रपति र म दुबै स्वागत गर्न विमानस्थल जाँदैछौं ।’

राष्ट्रपति र प्रधानमन्त्री नै स्वागत गर्न जाने भएपछि मन्त्रीहरू जाने नै भए । साथै प्रधानन्यायधीश र सबैधानिक अङ्गका प्रमुखहरु पनि सीलाई स्वागत गर्न विमानस्थल पुग्दैछन् ।

राष्ट्रपति सीको स्वागतका लागि राष्ट्रसेवक कर्मचारी माइतीघर मण्डलादेखि बानेश्वरसम्म लामबद्ध भएर बसेका छन् । सीको स्वागत र विदाइमा माइतीघरदेखि बानेश्वरसम्म बस्न शुक्रबार नै आधिकारिक ट्रेड युनियन मार्फत कर्मचारीलाई आग्रह गरिएको थियो । दुई दिने नेपाल भ्रमणमा शनिबार अपरान्ह काठमाडौं आइपुग्ने राष्ट्रपति सीले आज नै राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

साँझ सवा ७ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीलाई होटल सोल्टीमै पुगेर भेटवार्ता गर्नेछन ्। त्यसपछि राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रोभोजमा सी सहभागी हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७