काठमाडौं ओर्लिए राष्ट्रपति सी, विमानस्थलमै गार्ड अफ अनर अर्पण


२५ आश्विन २०७६, शनिबार
xi 1 1

काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने राजकीय भ्रमणका लागि नेपाल आइपुगेका छन् ।

भर्खरै मात्र चिनियाँ राष्ट्रपति सवार चिनियाँ विशेष विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौं आइपुगेका हुन ।

राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका लागि शनिबार साँझ साढे ४ बजेर १० मिनेट जाँदा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री र सिङ्गो मन्त्रिपरिषद सदस्यले स्वागत गरेका छन् ।

शुक्रबार राष्ट्रपति सी, विदेशमन्त्री वाङ यी र स्टेट काउन्सिलर याङ जिएछीसहितका ९० सदस्यीय टोली भारत भ्रमणमा आएको थियो । शनिबार दिउँसो २ बजे उक्त टोली भारतको चेन्नईबाट नेपाल प्रस्थान गरेको हो ।

नेपाल आउनुअघि राष्ट्रपति सीले भारतको तमिल नाडुस्थित मामल्लपुरममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिब ४० मिनेट छलफल गरेका थिए । चिनियाँ राष्ट्रपति सी विमानस्थलमा उत्रेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै स्वागत गरेकी छन् ।

राष्ट्रपति सी को स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरु, कूटनीतिक नियोगका प्रमुख, संवैधानिक अङ्गका प्रमुखहरु समेत विमानस्थल पुगेका थिए ।

स्वागत लगत्तै राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाबाट विमानस्थलमै सम्मानगारत (गार्ड अफ अनर) अर्पण गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति सीको भ्रमणलाई विशेष स्वागत र सम्मानको सन्देश दिन विमानस्थलमै गार्ड अफ अनरको कार्यक्रम राखेर त्यहीं कार्यकारी प्रधानमन्त्रीसहितको टोली उपस्थित भएको हो ।
चीनका तर्फबाट यो २३ वर्षपछि भएको शीर्ष नेतृत्वको भ्रमण हो । यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७