एनसेललाई लाभांश विदेश लैजान बाटो खुला


९ पुष २०७४, आईतवार
ncll

काठमाडौँ: सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ ।ncll

न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले आज एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो । अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान नमिल्ने उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले २०७४ असार २६ मा रोक लगाएको थियो ।

नेपाल राष्ट्र बैंकले लगाएको रोक आइतबार सर्वोच्च अदालतले खुल्ला गरिदिएको हो । ‘नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरी मिति २०७४ असार २६ को परिपत्रअनुसार लाभांश फिर्ता लैजाने कार्यमा अवरोध खडा नगर्नू÷नगराउनू भनी विपक्षीहरुको नाममा यस अदालतको एकल इजलाशबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ’–आदेशमा उल्लेख छ । एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले एक्जियटालाई रु एक खर्ब ४० अर्बमा बिक्री गरेकोे थियो । त्यसबाट लाभकर असुल भए राज्यकोषमा करिब रु ३३ अर्ब उपलब्ध हुने थियो ।

अदालतको आदेशबाट रकम बाहिर लैजान बाटो खुल्ला भयो तर राज्यकोषमा कर कस्ले तिर्ने भन्ने एकिन चाहीँ हुन सकेको थिएन । सरकारले पाउनुपर्ने कर टेलियासोनेराबाट प्राप्त नभएको भनी ठूला करदाता कार्यालयले २०७४ असार १८ मा राष्ट्र बैंकलाई पत्र लेखेको थियो । राष्ट्र बैंकले सरकारले पाउनुपर्ने कर असुल नभएसम्म एनसेलका शेयर सदस्य कम्पनीहरुको रकम विदेश लैजान रोक लगाउन २०७४ असार २६ मा पत्र लेखेको थियो । सो पत्रका कारण एक्जियटाले एनसेलबाट आर्जन गरेको मुनाफा विदेश लैजान पाएको थिएन । आज सर्वोच्च अदालतले विदेश रकम लैजान बाटो खोलिदिएको छ ।

अदालतले नेपाली र विदेशी संस्थाहरुबीचको शेयर कारोबार हस्तान्तरणको विषय समावेश भई लाभकर निर्धारणमा कानुनी जटिलता उठेको भन्दै सो विषयमा पूर्ण इजलासमा सुनुवाइका लागि तय गरेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७