नेपाली जनताले केरुङ-लुम्बिनी रेलमार्ग हेर्न चाहेका छन् : राष्ट्रपति {मन्तव्यको पूर्णपाठ सहित}


२५ आश्विन २०७६, शनिबार
President bidhya devi bhandari with chinese president
चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर : प्रदीपराज वन्त


काठमाडाैं, २५ असोज :  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेको बताएकी छिन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आज यहाँ आयोजित राजकीय भोजमा उहाँले रेल्वे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा नेपालीको यो चाहना छिट्टै पूरा हुने विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले गरेको सम्बोधनको पूर्ण पाठ :
“महामहिमज्यू,

निकट छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति महामहिम सी चिनफिङ तथा चिनियाँ प्रतिनिधिमण्डलका विशिष्ट सदस्यहरुलाई यस राजकीय भोजमा न्यानो स्वागत गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ ।

यो एउटा सुखद संयोग नै हो, महामहिम राष्ट्रपतिज्यूको राजकीय भ्रमण जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वर्षगाँठको शुभअवसरमा भइरहेको छ । यस अवसरमा म महामहिम राष्ट्रपतिज्यू र चिनियाँ प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यहरु एवं सबै चिनियाँ मित्रहरुलाई हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु ।

साथै शताब्दीका दुई महान् लक्ष्य प्राप्त गर्न मित्रराष्ट्र चीनलाई पूर्ण सफलता मिलोस् भन्ने हाम्रो शुभकामना छ ।

महामहिमको सक्षम नेतृत्वमा चीनले युगान्तकारी पहलहरु अघि सारेको छ । प्रगतिशील सुधार योजना, भ्रष्टाचारविरोधी अभियान तथा सुशासनको प्रभावकारी कार्यान्वयन महामहिमको राष्ट्रिय पुनर्जागरणसहितको चिनियाँ सपनाका महत्वपूर्ण आयामहरु हुन् । विश्वका १५० भन्दा बढी राष्ट्रहरु तथा दर्जनौँ सङ्घसंस्थाहरु बेल्ट एण्ड रोड इनिसिएटिभको पक्ष बनेका छन् । नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादमा सी चिनफिङ विचारधारा जनता केन्द्रित विकासको एक महत्वपूर्ण दर्शन बनेको छ । चीनको विकासमा चिनियाँ नेताको सक्षम र दूरदर्शी नेतृत्व एवं परिश्रमी चिनियाँ जनताको साथ महत्वपूर्ण रहेको छ भन्ने मलाई लागेको छ ।

महामहिमज्यू,

गत अप्रिलमा मैले गरेको चीनको राजकीय भ्रमणको सम्झना मलाई ताजै छ । महामहिमको सुन्दर गृहनगर तथा रेशममार्गको उद्गमस्थल सियान शहरबाट शुरु भएको मेरो भ्रमण अवधिभर मप्रति दर्शाइएको न्यानो स्वागत र आतिथ्यताका लागि म कृतज्ञ छु ।

उक्त भ्रमणका अवसरमा महामहिमसँग भएका भेटवार्ताबाट नेपाल–चीन सम्बन्धलाई थप ऊर्जा प्रदान गर्न मद्दत पुगेको मैले विश्वास लिएको छु । भ्रमणका अवसरमा हस्ताक्षर भएका महत्वपूर्ण दस्तावेजमध्ये पारवहन तथा यतायात सम्झौताको प्रोटोकलले चीनका तीन वटा भूबन्दरगाह तथा चार वटा सामुद्रिक बन्दरगाहसम्म नेपालको पहुँच स्थापित गरेको छ ।

अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड फोरममा मेरो सहभागिता तथा सम्बोधनले नेपालको विकासको आकाङ्क्षालाई मुखरित गर्न मद्दत पुगेको मैले ठानेको छु । उक्त फोरमको लिडर्स राउण्ड टेबलको समापनमा जारी भएको संयुक्त विज्ञप्तिमा नेपाल–चीन, हिमालय वारपार बहुपक्षीय कनेक्टिभिटी सञ्जाल तथा नेपाल चीन सीमापार रेलमार्ग समावेश भएका छन् । यसबाट भूपरिवेष्ठित नेपालका लागि चीनसँगको कनेक्टिभिटी सञ्जाल विस्तारमा ठूलो मद्दत पुग्नेछ ।

यस सन्दर्भमा म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सन् २०१६ र २०१८ मा सम्पन्न चीनको भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ दिशा दिन पु¥याएको योगदानको स्मरण गर्दछु ।

महामहिमज्यू,

नेपाल र जनवादी गणतन्त्र चीन हिमाल तथा नदीहरुद्वारा जोडिएका छन् । हामीबीच शदियौँदेखि सामाजिक, सांस्कृतिक सम्पर्क रहिआएको छ । चिनियाँ भिक्षु फा सियान र हु यान साङ तथा नेपाली भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले जनस्तरको सम्बन्ध एवं दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई समृद्ध बनाउन ठूलो योगदान दिएका छन् । पारस्परिक विश्वास, सम्मान र हितमा आधारित हाम्रो सम्बन्ध घनिष्ठ, मजबुत तथा समस्यारहित छ । हाम्रो सम्बन्ध सागर जस्तै गहिरो र सगरमाथा जस्तै उँचो छ । पञ्चशीलमा आधारित हामीबीचको न्यानो सम्बन्धलाई थप उचाइमा लैजाने प्रशस्त सम्भावनाहरु छन् ।

महामहिमज्यू,

नेपालको लुम्बिनी गौतमबुद्धको जन्मस्थल मात्र नभएर बौद्धदर्शनको उद्गमस्थल पनि हो । बुद्धका शाश्वत उपदेशहरुले मानव जातिलाई शान्ति, सहिष्णुता र सह–अस्तित्वको मार्गदर्शन गरेका छन् । तसर्थ लुम्बिनीलाई विश्वशान्तिको केन्द्र बनाउने हाम्रो प्रयासमा मित्रराष्ट्र चीनको महत्वपूर्ण सहयोगको अपेक्षा गरेका छौँ ।

चीनले सदैव नेपालको सार्वभौमसत्ता र राजनीतिक स्वतन्त्रताको सम्मान गर्नाका साथै नेपाली जनताले छनोट गरेको विकासको पथलाई समर्थन गर्दै आएको छ । नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध छ । नेपाली भूमि चीनको हितविरुद्ध हुने कुनै पनि प्रकारका गतिविधिहरुका लागि प्रयोग हुन नदिने हाम्रो प्रतिबद्धतालाई व्यवहारमा उतार्न हामीले सबै प्रकारका ठोस उपायहरु अवलम्बन गर्दै आएका छौँ ।

सीमावारपार कनेक्टिभिटीका लागि पूर्वाधार सुधार गर्नुपर्ने कुरामा हामीले जोड दिँदै आएका छौँ । नेपाली जनताले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेका छन् । रेल्वे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा नेपालीहरुको यो चाहना छिट्टै पूरा हुनेछ भन्ने हाम्रो विश्वास छ ।

महामहिमज्यू,

महामहिमसँग यसअघि भएको छलफलबाट अभिप्रेरित हुँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्नका लागि मित्रराष्ट्र चीनसँगको सहकार्यलाई हामीले उच्च प्राथमिकताका साथ राखेका छाँै । हामीले जतिसक्दो चाँडो अतिकमविकसित मुलुकबाट स्तरोन्नत हुँदै सन् २०३० सम्मका लागि मध्यम आय भएका मुलुकका रुपमा परिणत हुने उद्देश्य राखेका छौँ । यस उद्देश्य प्राप्तिका लागि हाम्रो आन्तरिक स्रोत, साधन पर्याप्त नहुने हुँदा हामीलाई वैदेशिक लगानीको खाँचो छ । हामी चिनियाँ लगानीकर्तालाई उत्पादनशील क्षेत्र, पूर्वाधार तथा जलस्रोत विकासलगायत सामाजिक क्षेत्रमा लगानी गर्न आह्वान गर्दछौँ । सरकारले लगानीको पूर्ण सुरक्षा गर्नेछ ।

भूकम्पपश्चात्को पुनःनिर्माणमा चीनले पु¥याएको उदार सहयोगको हामी उच्च प्रशंसा गर्दछौँ । यसैगरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न चीन सरकारको सहयोगको अपेक्षा गरेका छौँ ।

जलवायु परिवर्तनका कारण हाम्रो पर्वतीय पर्यावरण र अर्थतन्त्र संवेदनशील बनेको छ । तसर्थ पर्वतीय पर्यावरण संरक्षण गर्दै अर्थतन्त्रलाई बलियो बनाउन अन्तर्राष्ट्रिय प्रयास केन्द्रीकृत गर्ने उद्देश्यले आगामी वर्ष अप्रिल महीनामा काठमाडौँमा सगरमाथा संवादको आयोजना गर्ने तयारी गरिरहेका छौँ । सो कार्यक्रममा चीन सरकारका उच्च तहबाट प्रतिनिधित्व हुने अपेक्षा गरिएको छ ।

महामहिमज्यू,

शान्ति, स्थायित्व र विकासका लागि बहुपक्षीय एवं अन्तरराष्ट्रिय मञ्चहरुमा नेपाल र चीनसँगै उभिँदै आएका छन् । साझा चासोका क्षेत्रीय सवालहरुमा हाम्रो सहकार्य जारी छ । विधिमा आधारित विश्व व्यवस्थाले चुनौती बेहोर्नुपरेको वर्तमान अवस्थामा विकासोन्मुख राष्ट्रहरुको ऐक्यबद्धता र सहकार्य अपरिहार्य छ । शान्तिपूर्ण, न्यायोचित तथा समावेशी विश्व व्यवस्था निर्माणका लागि चीनले निर्वाह गर्दै आएको सकारात्मक भूमिकाको हामी प्रशंसा गर्दछाँै ।

महामहिमज्यू,

भूगोलले नेपाल र चीनलाई निकट छिमेकी बनाएको छ । इतिहास, संस्कृति र जनस्तरको सम्बन्धले हामीलाई घनिष्ठ मित्र बनाएको छ । व्यापार, लगानी तथा आर्थिक अन्तरनिर्भरताले हामीलाई साझा भविष्यका लागि सहकार्य गर्ने बलियो साझेदार बनाएको छ । दुवै देश र जनताको हितमा हुने गरी मित्रराष्ट्र चीनसँगको समग्र सम्बन्धलाई नयाँ उचाइमा लैजान र थप गति दिन हामी प्रतिबद्ध छौँ ।

यिनै शब्दहरुका साथ म महामहिमको सुस्वास्थ्य र खुशीका लागि, नेपाल र चीनबीच बलियो मित्रताका लागि, नेपाल तथा जनवादी गणतन्त्र चीनका जनताको अनन्त शान्ति र समृद्धिका लागि टोष्ट प्रस्ताव गर्न चाहन्छु र उपस्थित सम्पूर्ण विशिष्ट अतिथिहरुलाई यसमा सरिक हुन आह्वान गर्दछु ।

नेपाल–चीन मित्रता अमर रहोस् ।
धेरै धेरै धन्यवाद ।”
–––

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७