दशैं अवधिमा ११३ सवारी साधन कारवाहीमा


२६ आश्विन २०७६, आईतवार
trafic

नेपालगञ्ज, २६ असोज । नेपालगञ्जमा दशैंको बेला नियम विपरीत सञ्चालन भएका ११३ सवारी साधन कारवाहीमा परेका छन् । नियम विपरीत सञ्चालित ११३ सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका प्रमुख प्रहरी नायब निरीक्षक भीमराज वलीले बताए ।

उनका अनुसार, ट्राफिक नियम पालना नगर्ने, कागजपत्र साथमा नराखेका र क्षमताभन्दा बढी सामान ढुवानी गर्ने ११३ सवारी साधन कारवाहीमा परेका हुन् । नियमविपरीत सञ्चालित सवारी साधनलाई कारवाही गरी रु ६७ हजार ५०० राजश्व सङ्कलन गरिएको प्रहरी नायब निरीक्षक वलीले जानकारी दिए ।

असोज ११ गतेदेखि असोज २५ गतेसम्म नेपालगञ्जमा मात्रै ४५० सवारी साधनका नम्बरप्लेट पुनः लेख्न लगाइएको छ । जिल्लाभर भने ७५० बढी सवारी साधनको नम्बरप्लेट पुनः लेख्न लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिए ।

उनको अनुसार, नम्बरप्लेट नराखी सञ्चालनमा ल्याइएका नयाँ सवारी साधन र नम्बरप्लेट मेटिने अवस्थामा रहेका सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरिएको हो । नियन्त्रणमा लिएका सवारी साधनलाई कोहलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमै नयाँ नम्बर प्लेट लेखाइएको हो । नियन्त्रणमा लिएर सम्झाउँदा पनि नम्बरप्लेट नलेखेको पाइएकाले तुरुन्तै नम्बरप्लेट लेख्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक बमले दशैंको अवसरमा सामान्य दुर्घटना भए पनि बाँकेमा सडक दुर्घटनाबाट कसैको ज्यान नगएको जानकारी दिए । उनका अनुसार, दशैंमा सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरूस्त कारवाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित चाडपर्व विशेष सुरक्षा रणनीति अगाडि सारिएको थियो ।

भीडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी तथा आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोशाक समेत प्रहरी परिचालन गरी निगरानी गरिएका कारण सर्वसाधारण ठगिने क्रम कमी भएको प्रहरी निरीक्षक बमको दाबी छ ।

बाँकेमा नेपाल–भारत सीमा क्षेत्र जमुनाह, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्कमा स्थायी तथा चप्परगौडी, पुष्पलालचौक र कोहलपुर चौराहमा अस्थायी यात्रु सहायता केन्द्र सञ्चालन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७