रोल्पामा गाउँपालिकोको नाम र केन्द्र परिवर्तनमा किचलो


१० पुष २०७४, सोमबार
rolpa

रोल्पा । गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णयसँगै रोल्पाका तीन स्थानीय तहमा किचलो शुरु भएको छ । रोल्पाको सुवर्णावती र सुकिदह गाउँपालिकाको नाम परिवर्तन तथा त्रिवेणी गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने विषयसँगै विरोध चर्किएको हो ।

rolpaसुवर्णावती गाउँपालिकाको नाम परिवर्तन गरी शहीद सुनिल स्मृति गाउँपालिका नामाकरण गर्ने भन्दै गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले प्रस्ताव पेश गरेपछि सोही गाउँपालिकाका विभिन्न चार वडाका वडाध्यक्षले निर्णयपुस्तिकामै असहमतिको बंँुदा लेखेपछि विवाद चुलिएको हो । गाउँ कार्यपालिकाको बैठकमा गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले साविक नाम परिवर्तन गर्दै नयाँ नाम राख्ने प्रस्ताव गरेपछि सुवर्णवती गाउँपालिका–४ का वडाध्यक्ष गञ्जबहादुर क्षेत्री, वडा नम्बर–३ का वडाध्यक्ष जेदबहादुर विष्ट, वडा नम्बर–२ का वडाध्यक्ष नेत्रबहादुर गिरी र

वडा नम्बर–१ का वडाध्यक्ष केशवलाल कुँवरले निर्णयपुस्तिकामा असहमति लेख्दै विज्ञप्ति समेत प्रकाशित गरेका छन् ।
ऐतिहासिक र पौराणिक नाम रहेको सुवर्णाती परिवर्तन गरी व्यक्ति विशेषको नाममा सिङ्गो गाउँपालिकाको नाम राख्ने प्रयास भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यता गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले भने सुवर्णावती गाउँपालिका पौराणिक, साहित्यिक नाम भएकाले जनताले उच्चारण गर्न गाह«ो मान्नुको साथै नामाकरण समेत अर्थपूर्ण नरहेकाले नाम परिर्वतन गर्नुपरेको बताए । गाउँपालिकाभित्रका चर्चित नेता सुनिलको नाम निकै चर्चित रहेकाले जनताले सहजै उच्चारण गर्न सक्ने र परिवर्तनमा समेत महत्वपूर्ण भूमिका खेलेका शहीदको नाममा गाउँपालिकाको नाम परिर्वतन गर्ने प्रस्ताव आएको बताए । ‘अहिले प्रस्तावका रुपमा मात्रै आएको छ पुस १२ गते बृहत् छलफल गरी टुङ्गो लाग्छ’– घर्तीले भने ।

अध्यक्ष घर्तीले गाउँपालिकाको पहिलो सभामा नाम परिवर्तन गर्ने विषयमा सहमति भइसकेको दाबी समेत गरे । ऐतिहासिक तथा पौराणिक नाम परिवर्तन गर्दै गाउँपालिकाका उपाध्यक्ष वाग्मती थापाको मृतक श्रीमान् किमबहादुर थापा सुनिलको नामबाट गाउँपालिकाको नाम राखेको भन्दै विपक्षीले विरोध गरेको बताइएको छ । उता करीब एक साताअघि पश्चिम रोल्पाको सुकिदह गाउँपालिकाले समेत नाम र केन्द्र परिवर्तनको निर्णय गरेपछि विवाद सिर्जना भएको थियो । मंसिर २९ गते बसेको गाउँपालिका बैठकले माओवादी जनयुद्धमा मारिएका गंगा वली र देवराज वलीको नामबाट ‘गंगादेव’ गाउँपालिका राख्ने गरी निर्णय भएको बताइएको छ ।

गाउँपालिकाको नाम परिवर्तनप्रति नेपाली कांग्रेस, नेकपा एमालेलगायतका दलले असहमति जनाउँदै आएका छन् । एमालेका स्थानीय नेता रोशनकुमार वलीको संयोजकत्वमा संघर्ष समिति समेत तयार गरी दबाबमूलक कामको थालनी गरिएको स्थानीयले जानकारी दिए । गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले आफ्नो मृतक श्रीमती गंगा वलीको नामबाट गाउँपालिकाको नाम परिवर्तन गर्नुका साथै आफ्नो घरपायक पर्ने गरी केन्द्र समेत परिवर्तन गरेको स्थानीयले आरोप लगाएका छन् । सो गाउँपालिकामा देखिएको विवाद अहिलेसम्म मिल्न सकेको छैन ।

यसैगरी रोल्पाको त्रिवेणी गाउँपालिकामा समेत केन्द्र परिवर्तनको विषयमा विवाद देखिएको छ । स्थानीय तहको पुनर्संरचना सिफारिस गर्न गठित जिल्ला प्राविधिक समितिले समेत केन्द्रकाबारे सर्वसम्मत निर्णय गर्न नसक्दा विवाद कायमै रहे पनि जुगार सिफारिस गरेको थियो । लामो समयसम्म विवाद रहेको सो स्थानमा पुनः विवाद चुलिएको छ । ‘गाउँपालिकाको केन्द्र त्रिवेणी कि जुगार भन्ने विषयलाई निकास दिन सर्वसम्मत निर्णयको प्रयासमा लागेका छा’ै गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीले भने । ‘सर्वसम्मत निर्णय हुन नसके अल्पमत र बहुमतबाट भए पनि टुङ्गो लाग्छ’–ओलीले भने ।

स्थानीय तह निर्वाचन सम्पन्न भएको छ महिनाभित्र केन्द्र र नाम परिवर्तन गर्न सकिने कानूनी व्यवस्था अनुसार तोकिएको समय आउन थोरै समय रहँदा जिल्लामा नाम र केन्द्र परिवर्तनको विषय उठेको बताइन्छ । हाल जिल्लाका दुई वटा स्थानीय तहको नाम परिवर्तन गरी सशस्त्र युद्धमा मारिएका नेता कार्यकर्ताको नाममा गाउँपालिकाको नामाकरण गर्ने तयारी गरेको माओवादी केन्द्रले आफ्नो पार्टीले जितेको सबै स्थानीय तहको नाम परिवर्तन गर्ने रणनीतिमा लागेको कांग्रेस, एमालेले आरोप लगाएका छन् ।

जिल्लामा थवाङ, दुईखोली, माडी, सुकिदह, सुवर्णाती, सुनछहरी गाउँपालिका र रोल्पा नगरपालिका गरी सात वटा स्थानीय तह नेकपा माओवादी केन्द्रले जितेको थियो । यसैगरी एमालेले त्रिवेणी र रुन्टी गढी गाउँपालिका गरी दुई स्थानीय तह र कांग्रेसले लुंग्री गाउँपालिकामा मात्र विजयी हासिल गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७