पर्यटक लोभ्याउँदै पर्सा


प्रकाशित मिति : December 25, 2017

वीरगञ्ज: केही वर्षअघिसम्म घुम्न र रमाइलो गर्न चितवन राष्ट्रिय निकुञ्ज बाहेक नजिकमा पर्यटकीय गन्तव्यस्थल नरहेको प्रदेश नम्बर–२ मा विस्तारै आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्सा राष्ट्रिय निकुञ्ज आकर्षक गन्तव्यस्थलका रुपमा विकसित हँुदै गएको छ । निकुञ्ज वरिपरी आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी रिसोर्ट खुल्ल थालेपछि यो क्षेत्रमा पर्यटक गतिविधि बढ्न थालेको हो ।

निकुञ्जभित्र रहेका ऐतिहासिक तथा प्राचीन हलखोरियादह, कामिनी दह, माया मन्दिर, टुटेश्वर महादेव मन्दिरका साथै निकुञ्जभित्र रहेको हात्ती, बारहसिंगे, मृग, नीलगाई, पाटेबाघ, भालु, विश्वमा लोप हुन लागेको काँडेभ्याकुर, सारस, अजिंगर, ३ सय प्रकारका चरा पर्यटकको आकर्षणको माध्यम बनेको छ । जङ्गली जनावरलाई खानेपानीको सुविधाका लागि निकुञ्जभित्र निर्माण गरिएको ११ वटा पोखरी, पर्यटकलाई निकुञ्ज भ्रमण गराउन १० वटा हात्ती राखिएको छ भने ठूलो संख्यामा एकसिंगे गैंडा, एक सय २० वटा जङ्गली हात्ती, एक हजार ८४३ वटा बाह«सिंगे, १० वटाभन्दा बढी पाटेबाघ थप आकर्षणको केन्द्र रहेको छ ।

आरक्षबाट निकुञ्जमा स्तरोन्नति भएपछि आकर्षक तथा मनमोहक प्राकृतिक दृष्य, जैविक विविधताले भरिएको वन जङ्गल, जनावर हेर्न प्रत्येक वर्ष एक हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताए । यस क्षेत्रमा परिवारसहित घुम्न निस्कने ठाउँको अभाव भइरहेका बेला निर्माण भएका रिसोर्टले त्यसको आवश्यकतापूर्ति गर्ने गरेको छ भने करोडौं रुपैयाँको लगानीमा नयाँ रिसोर्ट तथा होटल निर्माण हुने क्रममा रहेको छ । पर्सा तथा बारा जिल्लाको सीमा पर्ने निकुञ्जमा पर्याप्त मात्रामा पूर्वाधार रहेकाले अब यसको दिनचर्या बदलिंदो अवस्थामा रहेको छ ।

छ सय २७ वर्ग किमीमा फैलिएको यो निकुञ्जको पूर्वमा धार्मिक रतनपुरी जङ्गल, पश्चिम चितवन राष्ट्रिय निकुञ्जको शिकारीबास, उत्तरमा बफरजुन र दक्षिणमा पूरानो निर्मलबस्ती, सुवर्णपुर रहेको छ । निकुञ्जभित्र ऐतिहासिकस्थल, दुर्लभ वन्यजन्तु, रमणीय तथा प्राकृतिक दृष्य हेर्न आउने विदेशी पर्यटकका लागि प्रतिव्यक्ति भ्याटसहित एक हजार, हात्ती चढेको ६५० तथा नेपाली पर्यटकका लागि प्रतिव्यक्ति प्रवेश शुल्क ५० र हात्ती चढेमा ६५० तोकिएको छ । सार्क राष्ट्र तथा आन्तरिक पर्यटकसँग हात्ती सखारी गरेबापत निकुञ्जले विगत पाँच महिनमा २५ लाख २६ हजार राजश्व संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्