भद्रगोल एनआरएनए सम्मेलन, रिपोर्टिङ्गमा गएका पत्रकारलाई आयोजकको अबरोध


२८ आश्विन २०७६, मंगलवार
NRN

काठमाडौं, २८ असोज :  मंगलबारदेखि काठमाडौंमा सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनको रिपोर्टिङ्ग गर्न गएका पत्रकारहरुलाई आयोजक र सुरक्षाकर्मीले अबरोध गरेका छन् ।

काठमाडौंको बौद्ध स्थित हायात रिजेन्सीमा सुरु भएको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम थियो । कार्यक्रमको समाचार संकलन गर्न गएका पत्रकारहरुलाई होटलको गेटमा नै रोकिएको थियो । विभिन्न मिडियाका रिपोर्टरहरुलाई ‘विशेष पास’ नभएको भन्दै सुरक्षाकर्मी र आयोजकहरुले अबरोध गरेका थिए ।

पत्रकारहरुले नेपाल सरकार सूचना विभागले जारी गरेको प्रेस पास देखाउदा समेत आयोजकले अबरोध गरेको सञ्चारकर्मीहरुले बताएका छन् । आयोजकले पत्रकारहरु माथि अभद्र व्यवाहार समेत गरेको उनीहरुको गुनासो छ ।


के हो ‘विशेष पास’ ?
आयोजकका अनुसार एनआरएनए नवौं विश्व सम्मेलनमा पत्रकारहरुका लागि ‘विशेष पास’को व्यबस्था गरिएको छ । तर, कुनै पनि सञ्चार माध्यमका पत्रकारहरुलाई त्यो ‘विशेष पास’ दिइएको छैन । आयोजकले आफू खुसी ‘विशेष पास’ बाढेको आयोजकहरुले नै बताएका छन् ।

एनआरएनएका महासचिव डा. केसीले पत्रकारहरुलाई अबरोध गर्ने आयोजकको कुनै नियत नभएको बताए । महासचिव केसीले पत्रकारहरुका लागि ‘विशेष पास’को व्यबस्था गरिएका भने स्वीकार गरे ।

प्रवत्ता भुषण घिमिरले बिहान राष्ट्रपतिको कार्यक्रममा पत्रकारहरु रिपोर्टिङ्गमा समस्या भएको स्वीकार गरे । उनले भने, ‘बिहान सुरक्षाको कारण केही समस्या भएको छ । अब समस्या हुँदैन ।’ पत्रकारहरुको लागि थप ‘विशेष पास’ तयार हुदै गरेको बताए ।

भद्रगोल कार्यक्रम
एनआरएनए सम्मेलन निकै भद्रगोल देखिएको छ । आयोजकहरुबीच नै समन्वय अभाव देखिएको छ । यसको झल्को सम्मेलनको पूर्वसन्ध्यामा सोमबार आयोजित पत्रकार सम्मेलनमा देखियो । सोमबार बालुवाटारस्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । तर, आयोजकहरुले छताछुल्ल हुने गरी झगडा गरे ।

सुरुमा पहिले उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसीसहितका पदाधिकारी सहभागी भएर पत्रकार सम्मेलन गरेका थिए । उक्त पत्रकार सम्मेलन सकिएपछि अध्यक्ष भवन भट्ट आइपुगे । आफू नआउँदै पत्रकार सम्मेलन गरेको भन्दै अध्यक्ष भट्ट रिसाएपछि एनआरएनएले सोमबार नै दोस्रो पटक पत्रकार सम्मेलन गरेको छ ।

आफूलाई नकुरी पत्रकार सम्मेलन गरिएको भन्दै आक्रोशित अध्यक्ष भट्टले दोस्रो पत्रकार सम्मेलन सुरू गरे ।जतिबेला औपचारिक पत्रकार सम्मेलन सकिएर पत्रकारहरु धेरैजसो बाहिरिसकेका थिए भने केही खाजा खाँदै थिए ।

‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित हुने सम्मेलनमा विभिन्न देशबाट १५ सय प्रतिनिधिहरु सहभागी छन् । २९ गते हुने निर्वाचनमा बिभिन्न १४ पदका लागि ४२ जना चुनिने छन् । सम्मेलनमा प्रतिनिधिसहित नेपाल र ८१ राष्ट्रबाट २५ सय जनाको सहभागिता छ ।


सिसा फुटाउने थापालाई रिहा गर्न दबाव
सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका प्रतिनिधि रमेश थापाले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा तोडफोड गरे । आइतबार रमेश थापासहित पाँच जना अष्ट्रेलियाबाट नेपाल आएका थिए ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा पूरा गर्नुपर्ने प्रक्रियाका लागि उनीहरु लाइनमा बसेका थिए । लामो समयसम्म लाइनमा बस्नु परेको भन्दै थापाले डेस्कको सिसा फुटाए ।

पिए ७१०२५६६ नम्बरको अस्ट्रेलियन राहदानीवाहक थापाले मुड्कीले हानेर अध्यागमनको सिसा फुटाएर कर्मचारीमाथि पनि अभद्र व्यवहार गरेका थिए । उनीसहित पाँचजनाको समूहले कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए ।

तोडफोड गर्ने थापालाई पक्राउ गरिएको र उनका अन्य चार साथीको कागजपत्र लिइएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । थापालाई आइतबार राति महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको थियो भने सोमबार बेलुका अध्यागमन विभागको हिरासतमा सारिएको थियो । उनलाई छाड्न एनआरएका नेताहरूले अध्यागमन अधिकारीहरूलाई दबाब दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७